४ जेष्ठ २०७९, बुधबार

मतगणनामा चनाखो रहन अध्यक्ष ओलीको अपिल (फोटो फिचर)

प्रकाशित मिति :  २७ बैशाख २०७९, मंगलवार २३:१९


काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले धाँधली नगर्ने बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमालेले निर्वाचन आँधली नगर्ने भन्दै निर्वाचन आयोगसहित प्रहरीलाई आ–आफ्नो कर्तव्य पूरा गर्न आग्रह गर्नुभयो । अरु पार्टीले धाँधली गर्न सक्ने आशंका गर्दै ओलीले मतदान सकिएपछि मतपत्रलाई आँखाबाट ओझेल पर्न नदिन कार्यकर्तालाई निर्देशन दिनुभयो । आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भइरहेको भन्दै उहाँले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनेमा सत्तारुढ गठबन्धनसहित सरकारी संयन्त्रमाथि आशंका उब्जाउनुभयो ।

अध्यक्ष ओलीले स्थानीय निर्वाचनले नै देश कतातिर लैजाने भन्ने निर्धारण गर्ने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनले  केन्द्रीय र प्रादेशिक सरकार हेरफेर नगरे पनि देशको दिशा तय गर्ने उल्लेख गर्नुभयो । एमालेले देशलाई चौतर्फी ढंगबाट विकास गर्ने हुँदा सबैतिर रुचाइएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सबै पेसा र व्यवसायका हित अघि बढाउन एमाले नै चाहिन्छ भन्ने सबैको बुझाइ छ।’

एमाले नेतृत्वको सरकारले के के गर्‍यो र विकासको अभियान कसरी अघि बढाएको जनतालाई थाहा भएको पनि ओलीले बताउनुभयो। ऐतिहासिक र पुरातात्विक महत्वका धरोहर, धार्मिक आस्था, परम्परा, संस्कृति र संस्कारसँग जोडिएका कुराको रक्षा एमालेले नै गरेको उहाँको भनाइ थियो। एमालेले इतिहासको छापका रूपमा रहेको धरहरा उठाएको, रानीपोखरी र काष्ठमण्डप पुनःनिर्माण गरेको बताउँदै उहाँले भन्नुभयो, ‘इतिहासको संरक्षण र सम्पदाको संरक्षण गरेका छौं।’

आफू नेतृत्वको सरकारले नै ६० वर्षअघि गुमाएको भूभाग समेटेर नक्सा छापेको र सर्वसम्मतिले संविधान संशोधन गरेको ओलीले बताउनुभयो। त्यसैका आधारमा अब कसैले पनि गुमाएको भूभाग सधैंका पचाउन नसक्ने उहाँले बताउनुभयो ।

हुलाकी राजमार्ग, पुष्पलाल रजमार्ग, मदन भण्डारी राजमार्ग, काठमाडौं तराई द्रुतमार्ग र विभिन्न नदीमा करिडोर अघि बढाइएको, पोखरामा विमानस्थल निर्माण, भैरहवाको विमानस्थल स्तरोन्नति गरिएको उहाँले उल्लेख गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..