२ भाद्र २०७९, बिहीबार

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत, अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केही पदमा निर्वाचन हुँदै

प्रकाशित मिति :  १३ मंसिर २०७८, सोमबार १३:४९



सौराहा । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्तासँगै अब निर्वाचनको चरणतर्फ प्रवेश गर्ने भएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र केही स्थानमा केन्द्रीय सदस्यका लागि समेत मतदान हुने देखिएको छ । सकेसम्म पदाधिकारी बाहेकका अन्य पदमा सर्वसम्मत गर्ने प्रयास भैरहेको पनि एमालेले जानकारी दिएको छ । महाधिवेशनमा चुनावी माहोलसँगै उम्मेदवारहरु मत माग्न थालेका छन् । मत माग्ने शैलीले पनि महाधिवेशनस्थलमा रौनक थपेको छ ।

शनिबारदेखि सौराहामा जारी बन्दसत्रको पहिलो दिन यही मंसिर ११ गते हलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको नामावली प्रस्ताव गर्ने जिम्मा दिएको थियो । त्यसका लागि आइतबार दिनभर अध्यक्ष ओलीले पार्टी नेताहरुसँग परामर्श र छलफल गरी मंसिर १२ गते ढिला गरी सुरु भएको बन्दसत्रमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली प्रस्तुत गरेपछि हलले समर्थन गरेको थियो ।

देशभरबाट सहभागी प्रतिनिधि र कार्यकर्ताको दबाब पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्नेमा थियो । उनीहरुले बन्दसत्र स्थलबाहिर नाराबाजी गरेर समेत सहमतिका लागि दबाब दिएका थिए । अध्यक्षओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदा अध्यक्षका उम्मेद्वार डा.भीम रावलले असहमति जनाउँदै निर्वाचनमा जानु नै उत्तम हुने भनेपछि सर्वसम्मत भएका बाहेक अन्य पदका लागि सोही अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।

पदाधिकारीमा हलमा प्रस्ताव गरिएको सूचीअनुसार उम्मेद्वारी दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ र विष्णु पौडेलले हलको सहमतिअनुसार उम्मेद्वारी दिनुभएको छ भने त्यसका अतिरिक्त नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि सो पदमा निर्वाचन हुने भएको छ ।

महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचितहुनुभएको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमाअर्यालहलमा प्रस्तावित उम्मेदवार हुनुहुन्छ भने भीमआचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको हो । केन्द्रीय सदस्यमा पनि कतिपय सर्वसम्मत भइसकेको छ । बाँकीमा मतदान हुनेछ ।

एमाले प्रचार कमिटी सह–संयोजक सुर्य थापाले सहमतीको अधिकतम प्रयास गरी मतदानको पनिअभ्यास गरिएको बताउनुभयो । उहाँले अध्यक्षले हलले दिएको जिम्मेवारी पुरा गरेको भन्दै भीम रावलहरु विग्रहको तहमा आउन नहुने धारणा राख्नुभयो ।

उपमहासचिवमा निर्वाचित विष्णु रिमालले मन मिलेर एकै प्यानल बनाउने कोसिस गरेको भन्दै प्रतिस्पर्धा गर्ने गुट बनाइए मान्य नहुने बताउनुभयो । उहाँले समूहगत रुपमा लाग्नेहरु पार्टीमा टिक्न नसक्ने धारणा राख्नुभयो । उम्मेदवारी मनोनय दर्ता भइसकेकाले अव कसैलाई पनि मनाउने कोसिस नगरिने उहाँको भनाई छ ।

उपमहासचिवमा निर्वाचित पृथ्वी सुब्बा गुरुङले विगतमा पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतीका पक्षधर पूर्व माओवादीबाट आएका नेताहरु सवैको व्यवस्था गरी समाबेसी र एकताबद्ध नेतृत्व चयन गर्नुपर्ने भएकाले हलले सहमतीको म्यण्डेड दिएको बताउनुभयो । उहाँले सोही बमोजिम उम्मेदवारी दिइएको जानकारी दिनुभयो ।

एमाले प्रचार कमिटी सह–संयोजक सुर्य थापाले सहमतीको अधिकतम प्रयास गरी मतदानको पनिअभ्यास गरिएको बताउनुभयो । उहाँले अध्यक्षले हलले दिएको जिम्मेवारी पुरा गरेको भन्दै भीम रावलहरु विग्रहको तहमा आउन नहुने धारणा राख्नुभयो ।

निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाका अनुसार दर्ता भएका मनोनय सूचिहरुलाई छानविन र दाबी विरोधको प्रकृया पुरा गरी अन्तिम उम्मेद्वारको नामावली प्रकाशन भैसकेपछि कम्तिमा १२ घण्टापछि विद्युतिय मेसिनमा तथ्याङक अपडेट हुने भएकाले सम्भव भए राती नै र नभए विहान मतदानको काम सुरु हुने जानकारी दिनुभयो । मतदान भएको तीन घण्टाभित्र परिणाम आइसक्ने उहाँले बताउनुभयो । मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुनेछ ।

मतदानको जिम्मा लिएको रामलक्ष्मण इनोभेसन्सका विद्युतीय मेसिनका प्राविधिक सल्लाहकार डा. नन्दविक्रम अधिकारीले मतदानका लागि विद्युतिय मेसिन तयारी अवस्थामा रहेको बताउनुभयो । कतिपय पदमा सर्वसम्मत भइसकेकाले ७२ वटा मेसिन मात्र प्रयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अधिकारीले मतदानका लागि १ सय मेसिन ल्याएको बताउनुभयो ।

सबै मेसिनहरु तयारी अवस्थामा राखिएको छ । भोट खसाल्नका लागि मेसिनहरुको बुथ राखिएको छ । केही मेसिनहरु बाहिर प्रतिनिधिहरुलाई सिकाउनका लागि राखिएको छ । एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि रहेका छन । निर्वाचन कार्यतालिका अनुसार आज राति ९ बजेदेखि विहान ३ बजेसम्म मतदान हुनेछ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..