१० असार २०७९, शुक्रबार

महाधिवेशनपछि के गर्दैछ एमाले ? पार्टीलाई झन् शक्तिशाली बनाउन केन्द्रितः उप–महासचिव ज्ञवाली

प्रकाशित मिति :  २३ मंसिर २०७८, बिहीबार १०:३८


उहाँले १०औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको बताउदै अबको तीन महिनाभित्र एमाले सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चितवनमा ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर फर्किएको नेकपा (एमाले) को नेतृत्व पार्टीलाई झन् शक्तिशाली र गतिशिल बनाउन केन्द्रित भएको छ ।
महाधिवेशनपछि दोश्रो बैठकको तयारीमा रहेको एमाले भावी कार्यक्रम तय गर्नेदेखि सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुँदैछ ।
महाधिवेशनपछि काठमाण्डौंमा प्रेस चौतारी नेपालद्धारा आयोजित पहिलो औपचारिक पत्रकार भेटघाटमा एमाले उप–महासचिव प्रदीप ज्ञवालीले उक्त जानकारी गराउनुभयो । उहाँले १०औं महाधिवेशनबाट एमालेभित्र गुट र उपगुट सकिएको बताउदै अबको तीन महिनाभित्र एमाले सरकारका नराम्रा कामको भण्डाफोर र पार्टी सदस्यता विस्तारमा केन्द्रित हुने बताउनुभयो ।
चितवनमा दशौं राष्ट्रिय महाधिवेशनपछि एमालेले मंसिर २५ र २६ गते भक्तपुरस्थित जर्मन हाउस हस्पिटालिटी गट्ठाघरमा केन्द्रिय कमिटीको दोश्रो बैठक आव्हान गरेको छ । उक्त बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुँदैछ ।
उप–महासचिव ज्ञवालीले उक्त बैठकले पार्टीलाई अझ गतिशिल र शक्तिशाली बनाउन विभिन्न ऐतिहासिक निर्णयहरु गर्ने जानकारी गराउनुभयो । बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको सपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन लगायत कार्यसूचिमा छन् ।
त्यस्तै जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान लगायतबारे पनि छलफल हुनेछ ।
सो अवसरमा उप–महासचिव ज्ञवालीले पार्टीले कारबाही गरेका सांसदहरु संसद भवनमा रहेसम्म आगामी २८ मंसिरबाट सुरु हुने संसद् अधिवेशनमा एमालेको अवरोध कायम रहने जानकारी गराउनुभयो । आफहरूले उठाएका एजेन्डाको सम्बोधन नभएसम्म संसद् चल्नै नसक्ने उहाँको भनाई छ ।
अर्को एक प्रसंङ्गमा उप–महासचिव ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताउनुभयो । उहाँले न्यायालयमा नेतृत्व परिवर्तनले मात्र समस्याको समाधान नहुने बताउँदै न्यायपालिकामा आमूल परिर्वतन जरुरी रहेको उल्लेख गर्नुभयो ।
सर्वोच्च अदालतबाट एमाले सबैभन्दा पीडित भएको चर्चा गर्दै उहाँले एमाले सधै स्वतन्त्र र सक्षम न्यायपालिकाको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..