१ माघ २०७८, शनिबार

दोश्रो केन्द्रीय कमिटी बैठक : पहिलो दिन नौ वटा एजेण्डामा छलफल र निर्णय,बैठक आइतबार पनि

प्रकाशित मिति :  २५ मंसिर २०७८, शनिबार १२:२४


पहिलो दिनको बैठकको शुभारम्भ र समापनमा सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएपनि उत्साहकासाथ विजययात्रामा लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो ‘माकुराको जालोमा भैंसी पर्दैन ।’

भक्तपुर । नेकपा (एमाले)कोे दोश्रो केन्द्रीय कमिटी बैठकको पहिलो दिन शनिबार विभिन्न नौ वटा एजेण्डामा छलफल र निर्णय भएका छन् ।
कार्यसूचिमा रहेका १५ वटामध्ये बाँकी छ वटा एजेण्डाहरुमा आइतबारको बैठकमा छलफल र निर्णय हुनेछन् ।

पहिलो दिनको बैठकको शुभारम्भ र समापनमा सम्वोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएपनि उत्साहकासाथ विजययात्रामा लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो ‘माकुराको जालोमा भैंसी पर्दैन ।’
पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा जारी बैठकले पार्टीका प्रदेश र जिल्ला अधिवेशनहरुको मिति तय गरेको छ । जस अनुसार हिमाली जिल्ला बाहेक जिल्लाका अधिवेशन पुष २३ गते र प्रदेश अधिवेशन माघ ८ गते हुने भएका छन् ।
बैठकमा अध्यक्ष ओलीले गर्नुभएको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । सो अवसरमा अध्यक्ष ओलीले सबै जिल्ला र प्रदेशलाई अधिवेशनको तयारीमा जुट्न निर्देशन समेत दिनुभयो ।
बैठकले दशौं महाधिवेशनबाट संशोधन भएको विधानको सम्पादन र नियमावली संशोधनको लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरु खगराज अधिकारी र रमेश बडाल हुनुहुन्छ ।
बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले दशौं महाधिवेशनको समिक्षा प्रस्तुत गर्नुभयो ।

बैठकले जनसंगठनहरुको सुदृढिकरणका लागि पनि बिभिन्न निर्णय गरेको छ ।

पार्टी केन्द्रीय सदस्य सूर्य थापाले सबै जनसंगठनहरुका अधिवेशनहरु फागुन मसान्तभित्र गर्ने,पुस पहिलो हप्ताभित्र बैठक बस्ने,कार्ययोजना बनाउने,सदस्यता विस्तार गर्ने लगायतका निर्णय भएको जानकारी गराउनु भयो ।
बैठकले माघ र फागुन महिनालार्ई स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीत गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी बैठकमा महाधिवेशनस्थल चितवनमा सपथ लिन बाँकी केन्द्रीय सदस्यहरुले सपथ लिनुभयो ।
बैठकले केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा अमृत कुमार बोहोरालाई चयन गरेको छ । उहाँले पनि बैठकमा सपथ लिनुभयो ।

उप-महासचिव प्रदीप ज्ञवालीले बैठकबाट निम्न निर्णयहरु भएको बताउनुभयो ।

१. शपथ ग्रहण गर्न बाँकी केन्द्रीय सदस्यहरूबाट शपथ ग्रहण

२. केन्द्रीय सल्लाहकार परिषद्को गठन र अध्यक्षमा कमरेड अमृत बोहरा चयन

३. महाधिवेशनको संक्षिप्त समिक्षा, अत्यन्त भव्य, सफल र ऐतिहासिक रहेको निष्कर्ष

४. सबै जिल्ला अधिवेशन पुस २३ मा र प्रदेश अधिवेशन माघ ८ मा आयोजना गर्ने

५. सबै जनसंगठनलाई आफ्ना राष्ट्रिय सम्मेलन/ अधिवेशन फागुनभित्र सम्पन्न गर्न निर्देशन

६. पुस-माघ- फागुन तीन महिना महाधिवेशन सन्देश सम्प्रेषण र पार्टी प्रवेश अभियान सन्चालन गर्ने

७. विधान सम्पादन र नियमावली संशोधनका लागि कमरेड विष्णु पौडेलको संयोजकत्वमा खगराज अधिकारी र रमेश बडाल सहितको कार्यदल गठन, एक साताको समयसीमा

८. बैठक सन्चालन कार्यविधि अनुमोदन

९. कार्यालय व्यवस्थापन- दुई महिनाभित्र तुलसीलाल प्रतिष्ठानमा स्थानान्तरण, एमआइएस प्रणाली लागू गर्ने र आफ्नै विधुतीय सन्चार नेटवर्क प्रयोग गर्ने ।बैठक भोलि बिहान ११ बजे बस्ने छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..