१५ मंसिर २०७९, बिहीबार

‘मज्जासँग जित्छौँ, चिन्तै लिनुपर्दैन’

प्रकाशित मिति :  २ बैशाख २०७९, शुक्रबार १९:२६


शुरुमा यहाँलाई एउटा घटनाको स्मरण गराऔं । झापाको काँकडभिट्टामा एमालेका डिल्ली घिमिरेले रुँदै पार्टी छाडेको भिडियो भाइरल भएको छ । चुनावअघि नै माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरिसकेको अवस्थामा चुनावमा एमाले एक ढिक्का भएर अगाडि जान्छ भन्ने लागेको थियो । तर, यस्ता विवाद किन आइरहेका छन् रु के एमाले टिकटको अन्तरविरोधमा फसेको हो ?

प्रश्नका लागि धन्यवाद । पहिलो कुरा त एमालेको सैद्धान्तिक मान्यता, संगठनात्मक सिद्धान्तअन्तरगत हामी पदलकदमी, प्रतिस्पर्धा र श्रेष्ठताका आधारमा नेतृत्व भन्छौँ । जबज मानिसकेपछि हामीले नीतिमा पनि यही कुरा लागू गर्छौँ र व्यक्तिहरूको व्यवस्थापनमा पनि यही नै गर्छौँ । एमालेभित्र आन्तरिक प्रतिस्पर्धा हुनुपर्छ । हामी आन्तरिक प्रतिस्पर्धालाई मज्जासँग ठाउँ दिन्छौँ, अरूसित हामी बाह्य प्रतिस्पर्धा गर्छौँ ।

हाम्रो पार्टीले महाधिवेशनमा पहिचान गरेको एउटा समस्याचाहिँ के हो भने हामीभित्र संगठनात्मक अराजकता भयो । पहिले स्कुलिङ एक ढंगको थियो । पार्टी एकतापछि तीन वर्ष पार्टी निस्क्रिय रह्यो । किनभने, नेकपा कालमा हामीले कमिटी नै चलाएनौँ, जसले गर्दाखेरि फुटेर गएको माओवादी पार्टीमा पनि असर भएको होला । छ, छैन उहाँहरूले जान्ने कुरा हो, हाम्रोभित्र चाहिँ गतिशीलता अन्त्य भयो र पार्टी कमिटी निस्क्रिय भयो, त्यसले एउटा समस्या सिर्जना गरेको हो ।

प्रतिस्पर्धा हामीकहाँ हुन्छ । एकभन्दा बढी नै आकांक्षीहरू हुनुहुन्छ । तर, हामीले सबै साथीहरूलाई के भनेका छौँ भने आकांक्षा राख्नोस् तर चुनावमा टिकट प्राप्त गर्ने भनेको चाहिँ तपाईंको क्षमताका आधारमा हो । र, चुनाव भनेको जित्ने कुरा पनि हो । जो मान्छे चुनाव जित्छु भन्ने ढुक्क छ, व्यक्ति ढुक्क भएर भएन, जनता र कार्यकर्ताले के भन्छन् भन्ने कुरा पनि हुन्छ । त्यसैले स्थानीय कमिटीले जे निर्णय गर्छ र जे सुझाव दिन्छ, त्यसका आधारमा केन्द्रीय नेतृत्वले अगाडि बढाउने हो ।

झापाको यहाँले उठाउनुभएको विषय धेरै डिटेलमा मलाई थाहा छैन । त्यो खास केसका बारेमा मैले फलो गरेको छैन । तर, सामान्यता सिफारिसमा परेँ या परिनँ भनेर क्वाँ क्वाँ रुँदै छोडेर हिँड्ने चाहिँ त्यो कम्युनिस्ट पार्टीलाई सुहाउने कुरो होइन ।

गठबन्धनतिर चाहिँ निकै गाह्रो भइरहेको छ, बरु एमालेमा चाहिँ सर्वसम्मत बन्दै आयो भन्ने चाहिँ मैले बुझिराखेको छु । मूल प्रवृत्ति हाम्रो सर्वसम्मत नै छ । धेरै ठाउँमा प्रतिस्पर्धा पनि छ । प्रतिस्पर्धा होस् भन्ने चाहन्छौँ हामी ।

केही साथीहरू पदका लागि आकांक्षी हुनुहुन्छ, तर सबैले टिकट पाउनुहुन्न यो सत्य कुरा हो । टिकट पाउने साथीहरू खुशी हुनुहोला, हार्नुभयो भने उहाँहरू पनि दुःखी हुनुहोला । टिकट नपाउने साथीहरूले मेरो सारा संसार गयो भनेर सोचिरहन जरुरी नै छैन । धेरै ठाउँहरू छन् । अहिले राजकीय मामिलामा धेरै ठाउँ छन् । धेरै ठाउँ भएपछि पाइहाल्नुहुन्छ । यसमा चिन्ता लिनुपर्दैन भन्न चाहन्छु । अब एमालेभित्र टिकटको मारामार छ कि छैन त भन्ने कुरालाई मेरो यही भनाइले पुष्टि गर्छ होला । आन्तरिक प्रतिस्पर्धा हुन्छ, हामी प्रतिस्पर्धा गर्न दिन्छौँ । तर, गुट बनाउने र पाइएन भने छोडेर जाने तहको छैन । त्यस्तो भएको भए एमालेतिर मानिसहरूको यत्रो ठूलो आकर्षण हुँदै हुँदैनथ्यो । अहिले धेरै पार्टीका मानिसहरू आइरहनुभएको छ ।

धेरै ठाउँमा वडाध्यक्षका उम्मेदवारहरू चयन गर्ने सिलसिलामा सर्वसम्मत हुन नसकेको र प्रतिस्पर्धा भएका खबरहरू आइराखेका छन् । यसले चुनावका बेला आपसमै असन्तुष्टि विकास गर्छ कि गर्दैन ?

हामीले कम्तिमा एकजना महिलासहित तीनजनाको नाम पठाऊ भनेका छौँ । एकजना मात्रै पठाऊ भनेकै छैनौँ । कतिपय ठाउँमा साथीहरूले एकजना मात्रै गर्नुभो । त्यसमा हामीले जिस्काइरहेका छौँ, निर्णय गर्ने ठाउँ अन्तै छ, तपाईंँहरूले नै सर्वसम्मत भयो भनेर डिक्लियर गर्दिने रु हामीले के भनेका छौँ भने कम्तिमा एकजना महिलासहित तीनजनाको नाम पठाउनोस् । त्यसो हुँदाखेरि विवेक पुगेको रहेनछ भने, स्थानीय मूल्यांकनमा तलमाथि परेको रहेछ भने त्योभन्दा माथिल्लो कमिटीले त्यसमा ध्यान दिन्छ भन्ने नै कुरा हो ।

फेरि, टिकटको फाइनल गर्ने पनि हामीले तह निर्धारण गरेका छौँ । यहाँहरूले न्युज पनि दिनुभएको छ, हामीले महानगरको मेयर र उपमेयर केन्द्रीय नेतृत्वबाट गर्छौँ । त्यसका वडाध्यक्ष र सदस्यहरू प्रदेश तहले गर्छ । त्योभन्दा तल त जिल्ला र पालिकाहरूबाटै टुंगिइहाल्छ । अहिले त हामी सिफारिस मात्रै तलबाट गर्दैर्छौँ ।

आजसम्मलाई सिफारिसको चरण भनेका छौँ । त्यसपछि आएका नाममा हामी निर्णयमा जान्छौँ । निर्णयमा जाँदाखेरि एकभन्दा बढी आएका छन् भने साथीहरूसँग परामर्श गरेर टुङ्ग्याउँछौँ । यसमा खासै समस्या पर्छजस्तो लाग्दैन मलाई । यहाँहरूले हेर्नुभयो भने बरु गठबन्धनतिर चाहिँ निकै गाह्रो भइरहेको छ, बरु एमालेमा चाहिँ सर्वसम्मत बन्दै आयो भन्ने चाहिँ मैले बुझिराखेको छु । मूल प्रवृत्ति हाम्रो सर्वसम्मत नै छ । धेरै ठाउँमा प्रतिस्पर्धा पनि छ । प्रतिस्पर्धा होस् भन्ने चाहन्छौँ हामी ।

नेता र म्यानेजरका बीचमा भिन्नता छ भन्ने विषयमा कलेजमा पढाइ हुने गर्छ । नेतामा व्यवस्थापकीय क्षमता नहोला, तर उसले अपील गर्ने क्षमता बोकेको हुन्छ । जस्तो– एमाले अध्यक्ष केपी शर्मा ओली अहिले एकैदिन धेरैवटा कार्यक्रम भ्याइराख्नुभएको छ, जिल्ला–जिल्लामा गइराख्नुभएको छ । मानिसहरू पार्टी प्रवेश पनि गरिराखेको पनि देखिन्छ । तर, ओलीजीको जुनखालको ‘अपिलिङ’ छ, पार्टीभित्रको व्यवस्थापकीय काममा चाहिँ अरु नेताहरू सुतेजस्तो देखिराखेको छ । पार्टीभित्र व्यवस्थापकीय क्षमता भएको नेताका रुपमा परिचित तपाईं यसबारेमा के भन्नुहुन्छ रु एमालेमा खाली ओलीजीको ‘अपिलिङ’ मात्रै छ कि पार्टीका अरु अंग पनि चलेका छन् ?

त्यसो होइन । जिम्मेवारी अन्तरगत नै दौडिनुभएको छ । एउटा सत्य कुराचाहिँ के हो भने एमालेमा कमरेड केपी ओली र अरु साथीहरूबीचमा ग्यापचाहिँ छ । अध्यक्ष र अध्यक्षभन्दा तल रहनुभएका साथीहरूका बीचमा व्यक्तित्व र ‘कल्ट’ को पनि ग्याप छ । यसले गर्दा पनि मिडिया र बाहिरबाट हेर्दाखेरि खाडल देखिन्छ, यो स्वाभाविक हो ।

हिजो प्रचण्डजीसँग एउटै पार्टीमा रहँदा पनि दुईजनाका बीचमा त्यत्तिकै ग्याप देखिएको थियो । यद्यपि प्रचण्डजी कुनै समय हिंसात्मक द्वन्द्वबाट आएको ‘मिथिकल हिरो’ जस्तो हुनुहुन्थ्यो । त्यति हुँदा पनि केपी ओली र उहाँको बीचमा ग्याप देखिन्थ्यो । त्यसकारण केपी ओली टावरिङ फिगर भएकाले अरु नेताहरू तल ओझेलमा पर्नु एकदम स्वाभाविक हो । तर, अरु नेताहरूका सन्दर्भमा पनि दिइएको जिम्मेवारीमा काम भएको छ ।

जस्तो– हामीले अहिले घोषणापत्र तयार गरिराखेको छौँ, त्यसमा ११ जना संलग्न छौँ । त्यसको अर्थ साथीहरू चुप लागेर बस्नु भएको त होइन । ७५३ वटै पालिकामा टिमले काम गरिराखेको छ । केन्द्रीय सदस्यहरू जो जिल्ला र पालिकाको इञ्चार्ज हुनुहुन्छ, उहाँहरू सबै केन्द्रित हुनुहुन्छ । त्यतिले मात्रै नपुगेर हामीले बुद्धिजीवीहरूको डेढ सय जनाको टिमलाई तल परिचालन गरेका छौँ ।

यहाँले सोधिहाल्नुभो, जानकारी पनि दिइहालौँ, हामीले एउटा फरम्याट तयार गरेका छौँ । घोषणापत्र भनेर हामीले तल घोषणापत्र बनाउँदैनौँ । तल के–के काम राम्रा गर्यौँ, हामीले कामका विवरणहरू संकलन गरेका छौँ । सँगसँगै हामीले के पनि गरिरहेका छौँ भने अब पालिकामा गएर के काम गर्ने रु त्यसको प्रतिबद्धता बनाउँदैछौँ ।

प्रतिबद्धता त्यत्तिकै नबनाउ भनेर हामीले साथीहरूलाई एउटा फर्म्याट दिएका छौँ । किनभने पहिले पो हामीले पालिकाले के काम गर्छ, थाहा पाएनौँ होला । अहिले त पालिकाले गर्ने सबै काम थाहा छ । घरको छेउको सिंहदरबार हो त्यो । विगतको खाल्डो छ भने त्यसलाई पुर्ने गरी हामीले काम गर्नुपर्‍यो । विगतमा राम्रै भएको छ भने त्यो भन्दा बढी प्रभावकारी ढंगले काम गर्नुपर्‍यो । प्रत्येक २२–२३ वटा शीर्षकमा हामीले काम गरेका छौँ । प्रत्येक शीर्षकमा के गर्ने रु हामीले प्रश्न राखेका छौँ । त्यसपछि हाम्रो सोचको पूरै चक्र बताइदिएका छौँ । त्यो चक्रभित्र सम्बन्धित पालिकामा जाने नेतृत्वले जनताका लागि के काम गर्ने रु र, कुन तरिकाबाट हामीले समाजवादको आधार तयार पार्न मद्दत पुर्याउने रु त्यो गर्नोस् भनेका छौँ । यो हिसाबले हेर्ने हो भने त अहिले कम्तिमा तीन हजार साथीहरू घोषणापत्र र प्रतिबद्धतापत्र तयार गर्न सक्रिय हुनुहुन्छ ।

त्यसो भएको हुनाले बाहिर देखिनका लागि अध्यक्ष ओली कार्यक्रमहरूमा देखिनु स्वाभाविकै हो । उहाँ सबैभन्दा बढी सक्रिय हुनुहुन्छ । तर, भित्र हेर्नुहुन्छ भने हाम्रा कमिटीहरू एकदमै दौडिइरहेका छन् । अहिले एमालेमा ऊर्जाको पाटो पनि त्यही नै हो भन्ने लाग्छ ।

पार्टीको प्रतिबद्धतापत्र कहिले आउँछ ?

बैशाख ९ गते । पार्टी स्थापना दिवसका दिन ७५३ वटै पालिकाहरूमा स्थानीय प्रतिबद्धतापत्र र केन्द्रमा घोषणापत्र जारी गर्छौँ ।

उम्मेदवारहरूको टुंगोचाहिँ कहिलेसम्म लगाइसक्नुहुन्छ ?

सामान्यतया त्योबेला ९९ गतेसम्म त टुङ्गिएला । तर, हामी के गर्छौँ होला जस्तो लाग्छ भने ११ वा १२ गते छान्छौँ हामी । उम्मेदवारी दर्ता गर्ने दिनचाहिँ हामी घोषणा गर्छौँ । यद्यपि त्यसअघि घोषणा भएका नामहरू मिडियामा आइ नै हाल्छन् । औपचारिकरुपमा चाहिँ हामी नोमिनेसनकै बेला गर्छौँ होला ।

अहिलेको स्थानीय चुनाव मुद्दामा भन्दा व्यक्तिमा बढी केन्द्रित जस्तो देखिँदैछ । एजेण्डाचाहिँ छायामा परिराखेको छ । यहाँले घोषणापत्रको तयारी गरिराखेका छौँ भन्नुभयो, खासमा यसपालि एमालेको चुनावी एजेण्डा के हो ?

म यसलाई शृङ्खलामा भन्न चाहन्छु । सबैभन्दा पहिला हामीले संविधानलाई मानेका छौँ । संविधानले समाजवादउन्मुख राज्य व्यवस्था बनाउने भनेको छ । हामीले जनताको बहुदलीय जनवाद मार्फत् त्यसको पूर्ताल गर्न सक्छौँ भनेका छौँ । यसलाई हामीले बुझिने भाषामा के भनेर व्याख्या गर्न थालेका छौँ भने हामीले सोचेको समाजवाद भनेको समृद्ध नेपाल र सुखी नेपालीहरूको समाज व्यवस्था हो भनेका छौँ । त्यसपछि हामीले के भनेका छौँ भने हाम्रो लोकतन्त्र भनेको परिपूर्ण लोकतन्त्र हो । यसमा पाँचवटा ग्यारेन्टी जनताले पाउँछन् भनेका छौँ । योचाहिँ हाम्रो राजनीतिक मूल ‘थिम’ हो ।

यही ‘थिम’सँग जोडेर कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, जम्मै विषयमा शृङ्खला​ बनाएका छौँ । स्वास्थ्यको कुरा गर्दा हामी निरोगी नेपाल भन्छौँ । त्यसका लागि जनस्वास्थ्यको अभियान गर्नुपर्‍यो । बिरामीको उपचारका लागि स्वास्थ्य वीमा गर्ने भनेका छौँ । ठूला अस्पतालमा उपचार गर्न वीमाको रकमले पुग्दैन, त्यसका लागि देशभरि नै आधारभूत अस्पतालहरू हुनुपर्छ भनेका छौँ । ३९६ वटा आधारभूत अस्पतालहरू एकैपटक शिलान्यास गर्नुको कारण त्यही थियो । यो स्वास्थ्य आवश्यकतालाई हाम्रो प्रत्येक पालिकाले ख्याल गर्नुपर्‍यो । जहाँ अस्पताल छ, त्यहाँ डाक्टर र विशेषज्ञहरू लैजानुपर्‍यो । यो हिसाबले कार्यक्रमहरू अगाडि लिएर जाऊ भनेर हामीले निर्देशन गरेका छौँ । यही हिसाबले हाम्रा प्रत्येक विषयमा एजेण्डाहरू छन् । कृषिमा हामीले कृषिको आधुनिकीकरण भनेका छौँ ।

हामीले दुई साता नेपालगञ्जदेखि विराटनगरसम्म तराई–मधेसको यात्रा गरेका थियौँ । त्यस क्रममा के देखियो भने स्थानीय तहमा राष्ट्रिय एजेण्डा भन्दा पनि उनीहरूका आफ्नै चुनावी एजेण्डा हुँदा रहेछन् । जस्तो– कोहलपुर नगरपालिकामा एमालेले तीन कार्यकाल स्थानीय तहको नेतृत्व गरेको रहेछ, त्यहाँ कमैया, सुकुम्बासी वा अव्यवस्थित बसोबासी भर्सेस एमाले नेतृत्वबीच विवाद रहेछ । तुल्सीपुर उपमहानगरपालिकामा एमालेका बहालवाला मेयरका छोराले सडक ठेक्का लिएर भ्रष्टाचार गरेको जनगुनासो व्यापक रहेछ । जीतपुर सिमरा उपमहानगरपालिकामा एमालेबाट जितेका पीएचडीवाला मेयरको लोकप्रियता खस्किएको रहेछ । यसरी स्थानीय तहमा बेग्लाबेग्लै अन्तरविरोध र मुद्दाहरू देखिए । त्यस्ता ठाउँमा काठमाडौंबाट भइरहेको ‘होमवर्क’ले कसरी काम गर्ला रु तपाईंले भनेका एजेण्डाहरूले त्यसलाई सम्वोधन गर्छ रु तपाईं पार्टीको उपमहासचिव पनि हुनुहुन्छ, यस्ता विषयहरू तपाईंसमक्ष आइपुगेका छन् कि छैनन् ?

म फेरि स्पष्ट पार्न चाहान्छु । स्थानीय तहबाट बन्ने प्रतिबद्धतापत्र हामी केन्द्रबाट लेख्दै लेख्दैनौँ । यहाँबाट लेख्नु ठीक पनि हुँदैन । हामीले फर्म्याट बनाउन जो बुद्धिजीवीहरूलाई खटाएका छौँ, ती बुद्धिजीवी पनि जुन पालिकामा काम गर्नुभएको छ, उहाँहरू उपयुक्त हुनुहुन्न भनेका छौँ । पालिकाले गरेका कामबारे स्पष्ट नभएको व्यक्तिले दिने सुझाव भनेको काठमाडौंमा बसेर तल आदेश दिएजस्तै हुन्छ । सरकार यसरी चल्दैन । त्यसो भएकाले एजेण्डा सम्बोधन गर्दा जनताको भावनासँग जोडिएका कुरा प्रतिबद्धतापत्रमा राख्न स्थानीय तहबाटै बनाउनुस् भनेको हो ।

हाम्रो अध्यक्षले त कतिसम्म भन्नुभएको छ भने, जहाँ हामीले जितेका छौँ, त्यहाँ सरकार चलाउँदा तपाईंले नाम लिएकै ठाउँमा पनि तपाईंहरूले गरेका सबभन्दा राम्रा काम के हुन् रु पालिकाका पाँच काम, वडाका तीनवटा काम, टोलको एउटा भन्नुस्, त्यसपछि अब गर्ने पाँचवटा राम्रा काम भन्नुस् । कुन शीर्षकको काम भएको छ रु किन राम्रो छ रु त्यसको जवाफ पनि जनतालाई दिनुपर्छ र त्यो हिसाबले चल्नुपर्छ एउटा त्यो भनेका छौँ ।

दोस्रो कुरा, पहिला हामीले आफूलाई मन लागेको कुरा घोषणापत्रमा लेख्न पाउँथ्यौँ, अहिले त्यो स्वतन्त्रता छैन । किनभने, हामीलाई संविधान र कानुनले सीमा कोरिदिएको छ । त्यहाँ सरकार चलाउन जाने हो । सरकारको फ्रेमभित्र चल्नुपर्छ । एक हिसावले बजेट नै ल्याउने हो, बजेटको सीमा यति हुन्छ, खर्च नभएपछि यहाँ जम्मा हुन्छ, घाटा बजेट यसरी पूर्ताल गर्नुपर्ने हुन्छ । जेजे सीमा र सेट छन् त्यसैमा बाँधिनुपर्छ । यति गते बजेट माग्ने, यति समयमा फरफारक गर्ने भनेर सवै कुरा हाम्रो विधानले तोकिदिएको छ । त्यसकारण सोहीअनुसार काम गर्नसक्ने गरी काम र योजना बनाउनुस् भनेका छौँ । यस्तो अवस्थामा एजेण्डा कसरी आउलान् र प्रतिविम्बित होलान् भनेर नै त्यही काम गर्ने साथीहरूबाट सहज हुन्छ भनेर जिम्मेवारी दिने निर्णय गरेका हौँ ।

जहाँसम्म अन्तरविरोधको कुरा छ, सरकार र सरकारभन्दा बाहिरका बीचमा स्वाभाविकरुपमा अन्तरविरोध हुन्छ । त्यो केन्द्र, प्रदेश र स्थानीय तह सबैमा लागु हुन्छ । किनभने, सत्तासँग जनताको अन्तरविरोध हुन्छ–हुन्छ । त्यो अन्तरविरोधलाई तरिका पुर्याएर सम्बोधन गर्नसक्नुपर्छ । जनताले जे विषयमा असहमति जनाउनुभएको छ र ठीक छैन भन्नुहुन्छ भने त्यसलाई ठीकसँगले बुझाउनुपर्छ । बुझाउन सकिएन भने कहिले–कहिले लडिन्छ । जनताले भनेको कुरा सही हो भने विनम्रतापूर्वक स्वीकार्नुपर्छ, अरु उपाय नै छैन । सरकार चलाउने भनेको जनताको अभिमतबाट हो । जनताको भावनाविपरीत गएर हामी यसो गर्छौँ, त्यसो गर्छौँ भन्नुको अर्थ हुँदैन ।

त्यस्तो ठाउँमा उम्मेदवार चयन गर्दा पार्टीले सोच्छ होला नि ?

त्यो त पार्टीको निर्णय नै हुन्छ । हामीले उम्मेदवार चयन गर्दा ६ वटा बुँदालाई आधार मान्ने भनेका छौँ । जस्तै– पार्टी आन्दोलनप्रति निष्ठा हुनुपर्‍यो । दोस्रो– पहिले जितेका मान्छे हुनुहुन्छ भने उहाँहरू आफ्नो लोकप्रियता हेर्ने, जनताको गुनासो छ कि छैन त्यो हेर्ने, तेस्रो –जातीय क्षेत्रीय र समावेशिताको सन्तुलन हेर्नुपर्‍यो । चौथो कुरा– उसको क्षमता हेर्नुपर्छ । परफमेन्स देखाउन सक्ने क्षमता राख्छ कि राख्दैन रु मान्छे असल तर परफमेन्स गर्ने क्षमता राख्नुहुन्न भने भएन ।

सबैभन्दा महत्वपूर्ण, निष्ठा हुनुपर्‍यो, भ्रष्ट हुनुभएन । घरघरमा सिंहदरबार भनेका छौँ, सबभन्दा जनतालाई प्रभाव पार्ने त्यही स्थानीय सरकार हो । पहिला पालिकाहरूमा पैसा हुँदैनथ्यो, माथिबाट पठाइएको केन्द्रीय बजेट जान्थ्यो, खर्च भएन भने फर्केर आउँथ्यो । अहिले त अन्तःशुल्क र मूल्य अभिवृद्धिसहित तोकिएकै प्रतिशतमा पैसा पठाउनुपर्छ । एउटा पालिकामा ४२ करोडसम्म प्राकृतिक स्रोतको रोयल्टी प्राप्त हुने पनि छ । कम्तीमा २० करोड चलाउने पालिका पनि छन् । साना ७५३ वटा सरकारहरूलाई त्यही ढंगले चल्नलाई हामीले बल पुर्याउनुपर्छ । हाम्रो पार्टीले अटेरीरुपमा चल्ने, जनताको भावना विपरीत काम गर्ने र जनहितविपरीत अभिव्यक्ति दिने मानिसलाई लगाम लगाउनुपर्छ पनि भनेको छ ।

उम्मेदवार छनोटको मापदण्डकै कुरा गर्दा सबैजसो दलहरूमा अर्को पार्टीबाट माला लगाएर भित्र्याउने अनि टिकट दिने पात्रहरू पनि छन् । हिजोअस्ति महोत्तरीमा काँग्रेसबाट माओवादीमा टिकटकै लागि प्रवेश गरेको खबर आयो । नेपालगञ्ज, वीरगञ्जमा एमालेमा आएकाहरूको पनि त्यही देखिन्छ । यसरी नयाँलाई टिकट दिँदा पुराना कार्यकर्तालाई मर्का पर्दैन ?

६ वटामध्ये एउटा आधार जित्ने पनि हो । त्यसमा नवप्रवेशी र अर्को छुट्याउँदैनौँ । मान्छे लोकप्रिय हुनुपर्‍यो, बद्नाम हुनुभएन । जेसुकै भए पनि पहिला जितेको मान्छे छ भने पालिका प्रमुख उपप्रमुखका लागि दुई पटकभन्दा बढी चुनाव लड्न पाउँदैन, त्यो व्यवस्था छ । त्यस हिसावले, हामी दुवै हिसावले सोचिरहेका छौँ ।

दोस्रो पटक जित्ने मान्छे पार्टीको लगामभन्दा बाहिर गएर अराजक बन्छ कि रु उसलाई दोस्रोचोटि नदिने कि रु त्यो कोणबाट पनि छलफल भएको छ । दोस्रोचोटि जित्नेले त्यो भन्दा माथि जानु छ भनेर मरिहत्ते गरेर काम गर्छ कि रु त्यो पनि सोचिरहेका छौँ ।

अरु–अरु पार्टीबाट आउने मानिस आशा बोकेरै आउँछन् । हामीले उनीहरूलाई प्रवेश गराउँदा उनीहरूको स्थिति र स्तर हेरेरै गरेका छौँ । त्यसकारणले टिकट पाउने सम्भावना छैन भन्ने होइन । तर, दुवैतिर तुलना हुन्छ । हामी पहिला जितेका ठाउँमा छौँ भने त्यही हिसावले जान्छौँ, हारेका छौँ र चुनावी प्रतिस्पर्धामा नम्बर १ मा पुग्ने साथीहरू हुनुहुन्छ भने त्यो हिसाबका साथीहरूले पनि पाउनुहुन्छ । त्यसमा तटस्थ नै छौँ ।

अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्छ भनिरहनुभएको छ । यसो भन्दै गर्दा एमालेसँग नजिक भएका राप्रपा नेपालजस्तै शक्तिहरूसँग तालमेल हुने देखिन्छ । तालमेलको कसरी गरिरहनुभएको छ ?

हामी केन्द्रीतकृत गठबन्धन गर्दैनौँ । यो हाम्रो घोषित नीति हो । गठबन्धनविरुद्ध गठबन्धन हुँदैन । नेपालमा गठबन्धनको संस्कृति ठीक रहेनछ भन्ने निश्कर्ष हो हाम्रो । ०७४ सालमा हामीले ठूलो मिहिनेत गरेर वैचारिक आधारमा गठबन्धन बनायौँ । त्यसबेला बाम– लोकतान्त्रिक भनेर प्रचण्डजीको पार्टी, हृदयेश त्रिपाठीको स्वतन्त्र समूहसहित एमाले मिले । तर, त्यसको परिणाम सुखद रहेन ।

यद्यपि हामीले २०७५ जेठ ३ को पार्टी एकीकरण गलत छ भनेका छैनौँ । एकता टिक्न सकेन त्यसका विभिन्न कारण होलान्, पछि मूल्यांकन होला । वैचारिक हिसावले एक हुन खोजेका थियौँ । अहिले शेरबहादुरजीको नेतृत्वमा बनेको गठबन्धन त वैचारिक हुँदै होइन । त्यो अरु–अरु कारणले बनेको हो, त्यसमा प्रवेश नगरौँ । त्यसकै बराबरीको गैरवैचारिक गठबन्धन हामी गर्दैनौँ । तर, स्थानीय तहमा कुनै शक्ति हामीसँग काम गर्छ भने ढोका बन्द गरेका छैनौँ ।

हामीले सबैलाई जसरी हृदेशजी हाम्रो पार्टीको सदस्य नहुँदा पनि सूर्य चिन्ह लिएर लड्नुभयो, ठीक त्यसैगरी कुनै दल हाम्रो पार्टीको चुनाव चिन्ह लिएर सहकार्य गर्न खोज्छन् भने प्रोत्साहित नै गर्छौँ । अरु पार्टीलाई पनि एउटा ट्रेण्ड सेट गर्न मद्दत पुगोस् भन्ने हो ।

कमल थापाको राप्रपा नेपालले हाम्रो पार्टीको चुनाव चिन्ह लिएर सहकार्य गर्छ भने मिल्ने ठाउँका स्थानीय तहमा मिलाए आपत्ति मान्दैनौँ, त्यसलाई प्रमोट नै गर्छौँ । त्यसले हाम्रो शक्ति क्षय हुँदैन । त्यसरी गए पनि कानुनमा भएको व्यवस्था अनुसार नै जाने हो । निर्वाचन आयोगले कुनै दलको चुनाव चिन्ह लिएर कोही दल चुनाव लड्न चाहेमा जान दिने व्यवस्था छ ।

तर, दुई पार्टीको साझा न्यूनतम र कार्यक्रम बनाएर जाँदैनौँ । हामीले जितेका पालिकामा हामीले गर्ने कामको विवरण पनि राख्छौँ । हामीले हारेको पालिकामा र नभएको पालिकामा अर्काले गरेको कामलाई औंल्याउँछौँ । आफूले गर्ने काम देखाएर जान्छौँ ।

महन्थ ठाकुरको लोसपा र सिके राउतको जनमत पार्टीसँग पनि यही मोडेलको गठबन्धनका लागि छलफल भएको छ कि ?

हामीले गठबन्धनको त्यो बाटोमा प्रवेश गरिसकेका छैनौँ। हामीले त्यसैमा इन्गेज गर्छौँ । तर, संस्थागत ढंगले उहाँको केन्द्र र हाम्रो केन्द्रबाट छलफल चलेको छैन । स्थानीय क्षेत्रमा छलफल चलेको भए पनि केन्द्रमा रिर्पोट आइसकेको छैन ।

हृदयेश त्रिपाठीले अहिले नयाँ पार्टी खोल्नुभएको छ, उहाँसँग फेरि एमालेको गठबन्धन बन्छ ?

उहाँले हामीसँग कम्फर्टेबल फिल गर्नुभएको हुन सक्छ । हाम्रै चुनाव चिन्ह लिएर लड्नुभएको हो । हाम्रो चुनाव चिन्ह लिएर लडे पनि स्वतन्त्र रहनुभयो । अहिले पनि उहाँ सूर्य चिन्ह लिएर लडेको एमालेकै सांसद हो । उहाँलाई हामीले छुट्टै पार्टी हुँदा पनि केही भनेका छैनौँ । उहाँ स्वतन्त्र समूह भएर आउनुभएको थियो, उहाँले अर्को पार्टी बनाउनुभयो, त्यसमा केही छैन । त्यसमा अनुशासनको डण्डा लगाउने कुरा भएन । उहाँ सूर्य चिन्हका रुपमा प्रस्तुत हुनुहुन्छ भन्ने लागेको थियो, त्यसमा न्यूनतम समझदारी हुने नै भयो । तर, त्यो बाहेक दल सञ्चालनका मामिलामा किन अर्को दल बनाइस् भनेर प्रश्न गरेनौँ । किनभने, सहमति नै त्यही हो । उहाँहरू गैरएमाले भए पनि सूर्यचिन्ह लिएर लड्नुभएको हो ।

पहिला प्रचण्डजीहरूलाई पनि त्यही भनेको हो, हामी एउटै चुनाव चिन्हमा लडौँ । कम्तिमा एउटै संसदीय दल हुन्छ । पार्टी एउटै हुन्छ । त्यसले गर्दा शक्तिलाई एक गर्न मद्दत पुग्छ भन्ने दृष्टिकोण थियो । यदि प्रचण्डजीले त्यो मानिदिएको भए अहिले पनि त्यो दृष्टिकोण सही हुने थियो । यो तहको विग्रह हुने थिएन । सूर्य चिन्ह लिएर लड्न उहाँले पहिला मान्नुभयो, पछि मान्नुभएन । त्यसको घाटा उहाँलाई भयो ।

एमाले अध्यक्ष ओलीले राप्रपाका महामन्त्री धवलशमशेर जबरालाई भेटेको खबर बाहिर आएको थियो, के कुरा भयो उहाँहरूबीच ? दुईपार्टीबीच गठबन्धनको कुरा चलेको हो ?

मैले अघि नै भनिसकेँ । कुनै पनि दलसँग तालमेल केन्द्रबाट गर्ने भनेका छैनौँ, सबै स्थानीयरुपमा छोड्देका छौँ । धवल शमशेर नेपालगञ्जमा केपी कमरेड बसेको होटेलमा भेट्न आउनुभएको हो । उहाँ पहिला हाम्रै पार्टीमा हुनुहुन्थ्यो कुनै समय । व्यक्तिगत मित्रता पनि हुने भयो । उहाँले नेपालगञ्जमा एमालेबाटै मेयर जित्नुभएको थियो । पहिला एमाले हुनुहुन्नथ्यो, एमाले हुनुभयो । पछि एमाले छोडेर अरु पार्टीमा जानुभयो । अहिले राजेन्द्र लिङ्देनको पार्टीको एउटा नेता हुनुहुन्छ । उहाँले मान्ने नेताका रुपमा केपी कमरेड भएकाले उहाँलाई भेट्न आउनुभएको हो ।

कमल थापाको राप्रपा नेपालसँग त यहाँहरूको सहकार्य हुने नै भयो, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँगको सम्बन्ध चाहिँ टाढिएको हो ? ओलीजीले लिङ्देनलाई ‘बाच्छो’ भनेपछि…

त्यो त त्यस्तै हो नि । नेताहरूले बोल्नुहुन्छ । सबै नेताहरू चोर भनेर राजेन्द्रले पनि बोल्नुभयो । सबै नेताहरू चोर त छैनन् नि । कुनबेला के बोल्ने, त्यो उहाँहरूले सोच्ने कुरा हो । त्यसमा पनि राजेन्द्र लिङ्देनजी तुलानात्मकरुपमा अरु मूलधारका पार्टीका नेताहरू भन्दा कान्छो नेता हो । कान्छो नेताले पनि एउटा सीमामा रहेर बोल्नुपर्ने हो । उहाँले नै बोल्दा सोचेर बोल्नुपर्छ । यद्यपि उहाँ एउटा पार्टीको अध्यक्ष हो । त्यो उहाँहरूको पार्टी हो, आफ्नै तरिकाले चलाउनुभएको छ ।

चुनावी तालमेलकै कुरा गर्दा ‘हामी मिलौँ’ भन्दै एमाले नेताहरूले सम्पर्क गरेको माओवादी नेता वर्षमान पुनले अन्तरवार्तामा भनेको पनि सुनियो । कतिपय स्थानीय तहमा त्यहाँको आवश्यकता र आपसी सम्बन्धका आधारमा एमाले र माओवादीबीच तालमेल हुने सम्भावना छ कि छैन रु कतिपय स्थानीय तहमा काँग्रेससँग भन्दा एमालेसँगै मिलौँ भन्ने गरेका कुराहरू पनि सुनियो…

एमाले र माओवादीका बीचमा केही पनि छलफल चलेको छैन । अहिले हामी तत्काल छलफल गर्नुपर्ने आवश्यक पनि ठान्दैनौँ । हामीले उहाँहरूसँग कुनै प्रस्ताव राखेका पनि छैनौँ । यो त मै क्लियर गर्दिन्छु नि, म त उपमहासचिवै हो नि । वर्षमानजीले हाम्रो पार्टीका बारेमा बोल्नै परेन । उहाँहरूले पनि कुरा गर्नुभएको छैन, हामीले पनि कुरा गरेका छैनौँ, यो त क्लियर कुरा हो । पानीमाथि बतासे फुल पार्नुहुँदैन, यसमा स्पष्ट हुनुपर्छ ।

दोस्रो कुरा, उहाँ ९माओवादी० हरूलाई गठबन्धनको अनुशासन लागेको छ । जहाँ–जहाँ काँग्रेस बलियो छ, काँग्रेसलाई दिने । जहाँ–जहाँ एमालेले जितेको छ, त्यो चाहिँ खसीको मासु बाँडेजसरी बााडेर खाने । माओवादी वा अरु कुनै पार्टीले जितेको ठाउँमा गठबन्धन बाहेक अरु दलसँग तालमेल गर्न नपाइने भनेर उहाँहरूले विधि बनाउनुभएको छ । उहाँहरूले यो विधिभन्दा विपरीत त जानै मिले न नि नभए गठबन्धन टुटिहाल्छ । गठबन्धन टुटाउने हो भने बेग्लै कुरा । उहाँहरू पक्कै गठबन्धन टुटाउनुहुन्न होला ।

भनिन्छ, एमालेका उपमहासचिव विष्णु रिमाल हिसाब राखेर बस्ने नेता हुन् । रिमालको ल्यापटपमा स्थानीय तहको मात्र होइन, आगामी संसदीय निर्वाचनको पनि ग्रिनजोन, वेल्लो जोन र रेड जोन सहितको चुनावी आँकडा छ भन्ने सुनिन्छ । बैशाख ३० मा हुने स्थानीय चुनावमा एमालेको स्थान कस्तो आउला रु ०७४ को भन्दा कति फरक पर्ला ? तपाईंको विश्लेषण के छ ?

म यसमा यत्ति मात्रै भन्न चाहन्छु । ०७४ मा हामीले ४२ प्रतिशत भन्दामाथि जितेका हौँ । योभन्दा अघिको चुनाव र त्योबेलाको स्थितिलाई स्मरण गरौँ । त्यतिबेला पनि प्रचण्डजीहरू र काँग्रेसबीच गठबन्धन थियो । हामी एक्लै चुनाव लडेका थियौँ । भलै त्यतिबेला माधव नेपालजीहरू हामीसँग एउटै पार्टीमा हुनुहुन्थ्यो । त्यो बेला र अहिलेको तुलना गर्दा अवसर र चुनौति हाम्रो सामु उस्तै हो । अहिले अवसर धेरै छ ।

किनभने, हामीसँग सरकार सञ्चालन गरेको अनुभव छ र एजेण्डा सेटिङमा हामीलाई टाउको दुखाइ छैन । त्योबेला हामी अलि व्यवहारिक भएनौँ होला । कतिपय अवस्था बुझ्न बाँकी थियो होला । त्यसमा हामी परिपक्व भइसकेका छौँ । अहिले जुन हिसाबले पार्टी प्रवेश गर्ने लहर बढेको छ । यो लहर हेर्दा र स्वयं माओवादी पार्टीबाट आउनु भएका साथीहरूको संख्या हेर्दा माधव नेपालजीसँग जानुभएका साथीहरूको तुलनामा त्यो संख्या माथि छ । त्यसको मनोवैज्ञानिक प्रभाव पनि बलियो छ । यी दुईवटा कारणले गर्दा कम्तीमा पनि पहिले जितेको भन्दा तल झर्दैनौँ भन्ने हाम्रो निष्कर्ष छ ।

हामी यसअघिको ४२ प्रतिशतभन्दा तल ओर्लिदैनौँ, त्योभन्दा माथि जान्छौँ भन्ने हाम्रो विश्वास हो । त्यो ठ्याक्कै प्रतिशतमा भन्न सकिँदैन । पार्टीमा जति लहर आइरहेको छ । लहर र उम्मेदवार भएपछि प्रतिशत केही–तलमाथि हुन सक्छ । जतिसुकै प्रतिकुल अवस्थामा पनि एमाले पहिलो हुने स्थिति छ । पहिलो दल हुनेमा कुनै शंका छैन । एमाले पहिलो दल बन्नबाट रोकिँदैन । हामी ४० प्रतिशतमै रह्यौँ भने पनि बाँकी रहेको ६० प्रतिशत उहाँहरूले भनेअनुसार बाँड्नुभयो भने पाँच दलभित्र बाँडिने हो ।

उहाँहरूको गठबन्धन कति परसम्म जान्छ भन्न सकिँदैन । जाने नै भए पनि जाओस्, शुभकामना छ । त्यसो हुँदा ६० प्रतिशतमा बाँडिने हो । एउटैले ४० प्रतिशत पाउनेवाला छैन । त्यतिबेला ठूलो भाग पाउने कांग्रेस नै होला । त्यसपछि माओवादी केन्द्र नै होला । त्यसपछि माधव नेपालजीकै पार्टी होला । यस्तै–यस्तै गरेर संख्या जाने होला । मेरो बुझाइमा ६० प्रतिशत विभाजित भएर उहाँहरू बन्ने हो । त्यस हिसावले एमाले पहिलो दल यसै भइहाल्यो ।

हामी पहिलेको स्थितिभन्दा कति माथि जान्छौँ भन्ने हाम्रो प्रयत्न हो । हामी जति दौडिरहेका छौँ । पहिलेको जति यथेष्ट अवस्थामा छौँ । पहिलेको भन्दा बढी अभियानमा लागेका छौँ । त्यसमा तोकिने उम्मेदवार हामीले मात्रै होइन, विपक्षले तोक्ने उम्मेदवारको कुराले तलमाथि पार्छ । स्थानीय चुनाव भनेको स्थानीय लोकप्रियताले पनि असर पार्छ, राष्ट्रिय राजनीति मात्रै हुँदैन । त्यहाँ छिमेकी, इष्टमित्र, दाजुभाइको नाताले पनि अर्थ राख्छ । यी सबै स्थितिले तलमाथि पार्छ ।

यहाँले पार्टीमा लहर आएको, माओवादीहरू समाहित भएको लगायतका तर्कहरू गर्नुभयो । तर, ०७४ सालको जस्तो केपी ओलीको लोकप्रियता अहिले छैन र पार्टी पनि फुटेको छ । यो प्रतिकूलता पनि त छ नि एमालेसँग ?

मलाई त्यस्तो लाग्दैन । तपाईंले सोधेको स्वाभाविक धारणा होला । पहिलोपटक सरकारबाट हट्दा नाकाबन्दीविरुद्ध लडेका थियौँ । त्यतिबेला अस्वभाविक ढंगले सरकारबाट हटाइएको थियो । त्यतिबेला उहाँमा गज्जबको सान्त्वना थियो । त्योभन्दा पर तराई मधेसमा एमाले निषेधित क्षेत्र भनेका थिए । हामीले मेची महाकाली अभियान चलायौँ । त्यसपछि एमालेमा एक किसिमले लहर आएको थियो ।

अहिले ३५ लाख नयाँ मतदाताहरू हुनुहुन्छ । हाम्रो आफ्नो बुझाइमा ती सबै नयाँ युवा छन् । युवाहरू अधिकांश बा भनेर दौडिरहेका देख्छौँ । कतिपयलाई केपी ओलीलाई बा भनेको मन पर्दैन । तर, एउटा यस्तो पंक्ति भएछ । बुढा, तन्नेरी जम्मैले बा भनेर दौडिन थालेका छन् । बिहानदेखि बेलुकासम्म पार्टी प्रवेशको लाइन हुन्छ ।

अहिले हामी सरकारबाट हट्दा पहिला केपी ओलीविरुद्ध एउटा आक्रोश पोखियो । तर, मलाई के लाग्छ भने, मानिसहरूमा के परेको छ भने अनावश्यक ढंगले केपी ओलीलाई लखटेका रहेछन् भन्ने बुझाइ बढेको छ । हामी जति जनतामा गएका छौँ, त्यति बुझ्दै गएका छौँ ।

प्रचण्ड र माधवजीले भन्नुभएका कुराहरू मेरो विचारमा उहाँहरूलाई प्रत्युपादक हुने र एमालेलाई फाइदा हुने स्थित देखा परेको छ । पहिला वाम एकताको कुरा गर्यौँ । उहाँहरूले हामीलाई प्रतिगामी भनिरहरहनुभयो । हामीलाई दक्षिणपन्थी भनिरहनुभएको छ । उहाँहरूले आफूलाई अग्रगामी र वामपन्थी भनिरहनुभएको छ । वास्तविकता के छ भने जुन शक्तिका विरुद्ध चुनाव लड्नुभयो, त्यही शक्तिसँग मिलेर चुनाव लड्न जानु थाल्नुभएको छ । त्यसैलाई प्रधानमन्त्री बनाएर चुनावमा अगाडि लाग्नुभएको छ । त्यही शक्तिलाई काँधमा बोकेर हिँड्नुभएको छ ।

हिजो चुनाव लड्दा उहाँहरूले प्रतिगामी प्रक्रियावादी दक्षिणपन्थी भन्नुभएको थियो । रातारात केपी ओलीलाई लखेट्न कसरी त्यो शक्ति अग्रगामी भयो रु यो प्रश्न जनताले सोध्ने भए । त्यति लाटा जनता छैनन् । त्यो हिसावले उहाँहरूले भनिरहेको कुरा त्यति धेरै नबिक्ने हुँदा पहिलेको र अहिलेकोमा एमालेको स्थितिमा धेरै भिन्नता हुँदैन । जो शान्त्वना भोट छ, त्यो अहिले बढोत्तरी हुने देखेको छु । अहिले सिँजा, मान्मा लगायत जति पनि ठाउँमा आमसभाहरू भएका छन्, ती मदन भण्डारी जाँदा जति मान्छे ओर्लेका थिए, अहिले केपी ओली जाँदा त्यही तरिकाले मान्छे ओर्लेको देख्छु । यो संकेत हो, उहाँको लोकप्रियतामा ह्रास आएको छैन ।

अर्को, अहिले ३५ लाख नयाँ मतदाताहरू हुनुहुन्छ । हाम्रो आफ्नो बुझाइमा ती सबै नयाँ युवा छन् । युवाहरू अधिकांश बा भनेर दौडिरहेका देख्छौँ । कतिपयलाई केपी ओलीलाई बा भनेको मन पर्दैन । तर, एउटा यस्तो पंक्ति भएछ । बुढा, तन्नेरी जम्मैले बा भनेर दौडिन थालेका छन् । बिहानदेखि बेलुकासम्म पार्टी प्रवेशको लाइन हुन्छ ।

पार्टी प्रवेशको कुरा गर्दा पहिलाको प्रवेश र अहिलेको प्रवेशमा आधारभुत भिन्नता छ । पहिला आमसभामा मान्छेहरू लाइन लागेर टीका थाप्थे । हामीले कहिँलेकाहीँ प्रोफेसनल प्रवेशी हुन् कि क्या हो भन्थ्यौँ । अहिले हाम्रो बैठक भएको ठाउँमा प्रवेशी आउँछन् । बिहान सबेरै घरमा पुगेका हुन्छन् । ओली कमरेडकोमा मात्रै होइन, महासचिव र वरिष्ठ उपाध्यक्षको घरमा पनि त्यत्तिकै पार्टी प्रवेशको लाइन छ । यो हिसावले हेर्दा जम्मै फ्याक्टरहरू पहिलेको तुलनामा माथि नै रहेका फ्याक्टरहरू हुन्।

अर्को कुरा, माधव नेपालजीले कति लैजानुभयो होला रु माधव नेपालजीले लैजानुभएका जननिर्वाचित प्रतिनिधिहरू १० प्रतिशतभन्दा मुनि हो । त्यसमा पनि केही साथीहरू फर्किनुभएको छ । जनमतका हिसावले हेर्दा तीन प्रतिशत भन्दा कम हो । त्योभन्दा बढी हुँदै होइन । उहाँहरूलाई के लागेको छ भने जित्न नसके पनि हराउन सक्छु । उहाँहरूको भोट हराउन नै काफी छैन ।

अहिले आइरहेको तथ्यांकमा २०७४ सालमा कसले कति भोट ल्याएर आए, त्यसका आधारमा तुलना गरेको देखिन्छ । त्यो ३५ लाख भोटरमा चेञ्ज भएको मुडलाई ख्याल गरिएको छैन । त्यसले धेरै तलमाथि पार्छ ।

हामीले पालिका विकास गरेकै छैनौँ भने पनि हामीलाई भोट आउने छैन । हाम्रो प्रचारले केही गर्ने छैन । यदि विकास नै भएको मान्छेले फिल गरेको छ भने जतिसुकै दुष्प्रचार गरे पनि हामीले हार्नेवाला छैनौँ । त्यो हाम्रो बल हो ।

हामीलाई के विश्वास छ भने हाम्रा मान्छेहरूले आधारभूत रुपमा प्रभावकारी काम गर्नुभएको छ । बाहिर प्रचार गरेको जस्तो भ्रष्ट भयो स्थानीय तह भन्ने होइन । बरु हामीले प्रदेश तहमा त्यो देखेका छौँ । स्थानीयतहमा कामकाजी र प्रभावकारी ढंगले काम भएका छन् । अरु दलहरूको पनि त्यस्तै–त्यस्तै स्थिति होला जस्तो लाग्छ ।

तर, सरकार चलाउन दुई तिहाइ बहुमत दिएर पठाएको, केपी ओलीले चलाउनै सकेनन् भन्ने आरोप पनि सुनिन्छ नि तल ?

त्यसमा हामीले ब्याख्या गरिहाल्छौँ । दुई तिहाई एमालेलाई दिइएको थिएन, गठबन्धनलाई दिइएको थियो । हाम्रो आरोप नै छ, हाम्रो जनमतलाई विक्री गरेर सडकमा फालियो । यो हामी जनतालाई बुझाउँछौँ ।

त्यो आरोपमा दम छ । दुई तिहाई टिकाउन नदिएर कांग्रेसलाई दिइयो । वामपन्थीको स्थिरता दिन्छु भन्ने पवित्र ईच्छा नै थियो । हामीले आफूलाई टिकायौँ, नटिकाउने हामीसंँग नजोडिनुभएका साथीहरू हो । हामीले घोषणापत्र देखाएर जनमत पाएका थियौँ, त्यो घोषणापत्र लगेर बेचियो । हाम्रो आरोप प्रचण्डजीहरूलाई त्यही नै हो । हामी त्यही भन्छौँ । जनतालाई बुझाउँछाँै । यसमा समस्या छैन ।

अब अलिकति महानगर र उपमहानगरहरूको चर्चा गरौँ । देशभरिका ६ वटा उपमहानगरपालिका मध्ये यसअघि एमालेले दुईवटा अर्थात् काठमाडौँ र पोखरामा जितेको थियो । यसपालि पनि काठमाडौंको उपमेयर राप्रपाले नै पाउने चर्चा पनि सुनिन्छ नि ?

पहिला राप्रपासित तालमेल गरेको भएर त्यो आएको होला । अहिले हामी काठमाडौंको सन्दर्भमा त्यो किसिमको बहसमा गएका छैनौँ । हामीलाई सिफारिस आउँदा सबै पदहरूमा आउँछ । काठमाडौंमा मेयर–उपमेयर दुबै एमालेले जित्छ र दुबैमा एमालेकै उम्मेदवार हुनेछन् भन्ने विश्वासमा छौँ ।

ललितपुरमा नि ?

ललितपुरमा पनि हामीले यही नै सोचिराखेका छौँ । ललितपुरमा पनि पहिला हामीले उपमेयर अरुलाई लिएका थियौँ, हामी हार्यौँ । काठमाडौंमा पनि हामी उपमेयर हार्यौँ । त्यसो हुँदा अहिले हामीले काठमाडौं र ललितपुर दुबैमा मेयर उपमेयर दुबै जित्छौँ र लिनुपर्छ भन्नेमै छौँ । ललितपुरमा त हामीले मेयर हारेको पनि होइन, टेक्निकल्ली हराइएको मात्रै हो । अदालतमा मुद्दा विचाराधीन छ । ट्याली गरेर हेर्दा हाम्रो मान्छेले जित्नुभएको छ, घोषणा गर्दा गलत घोषणा गरियो । अब कार्यकाल सिद्धिने बेलासम्म फैसला भएन । हाम्रो न्यायालय त यस्तै छ ।

एमालेले पहिला जितेका महानगरपालिका माधव नेपालको पार्टीले पाउनुपर्ने सत्ता गठबन्धनमा छलफल भइरहेको सुनिन्छ । यसअघि जितेका दुबै महानगर एमालेले जोगाउला त रु गठबन्धन बनेर आयो भने पोखरा र काठमाडौं जोगिएलान् जस्तो लाग्छ ?

काठमाडौं र पोखरा दुबै गुम्दैनन् । एकीकृत समाजवादी भन्ने पार्टी होस्, नेकपा माओवादी केन्द्र होस्, एमालेले जितेका कुनै पनि पालिकाहरू गुम्दैनन् । पहिले पनि गठबन्धनसित प्रतिस्पर्धा भएको हो, अहिले पनि त्यहीसित हुने हो । कसैलाई भ्रम छ र अहिले रु गठबन्धन तोकिन्छ कि भनेर कल्पना नगरौंँ । किनभने शेरबहादुर दाइ लाग्नुभएको छ । जेजे गरेर भए पनि गठबन्धन जोगाउनुपर्छ र प्रतिनिधिसभाको चुनावमा आफूले जितेर सरकारमा आउनुपर्छ भन्ने उहाँको लक्ष छ । त्यसो भएको हुनाले माधव नेपालजी, प्रचण्डजीहरू त्यसमा सहायक बनि नै हाल्नुहुन्छ । त्यसकारण गठन्धन जोगिएला ।

बिराटनगर महानगरपालिकामा विनोद ढकालले अन्तरवार्तामा म मेयर लड्दिनँ भनिसक्नुभयो । लालबाबु पण्डितको नाम पनि चर्चामा आएको थियो । स्थानीय नेताहरूको मात्रै नाम सिफारिस भएको सुनियो । बिराटनगर हामीले जित्न सकिन्न भनेर लत्तो छोडेको हो एमालेले रु महानगरमा ठूला नेतालाई पनि उठाउन सकिने चर्चा थियो नि ?

अहिले पनि त्यो अन्त्य भइसकेको छैन । पहिला सिफारिस आउनुपर्‍यो । अहिले हामीले के भनेका छौँ भने सामान्यतयाः प्रदेशसभामा रहनुभएका वा संघीय संसदमा रहेका साथीहरू राजीनामा नगरे हुन्थ्यो । तर, स्थानीय पार्टीले सिनियर नेताहरू तल चाहिन्छ भन्यो भने त्यसलाई स्वीकार्नुपर्छ र जित्नुपर्छ ।

अहिले के पनि देखियो भन्दा प्रदेशको सांसद बन्ने योग्यता पुगेको मान्छे खास गरी ठूला पालिकामा जाँदा लाभ हुँदोरहेछ भन्ने देखियो । सरकार सञ्चालनको हिसाबले त्यो महत्वपूर्ण रहेछ । धेरै साथीहरूले पहिला पालिकामा बस्दा प्रधानपञ्च बसेजस्तो ठान्नुभो । अहिले आएर पालिका ठूलो रहेछ, त्यहीँबाट जनताको सेवा गर्न सकिनेरहेछ भन्नेमा पुग्नुभएको छ । यो ठीक पनि हो । जो मानिस विकाससँग जोडिन्छु भन्छ, ऊ पालिकामै जानु राम्रो हुन्छ । तर, अहिले बहालवाला सांसदहरूलाई सकेसम्म नछाड्नोस् राजीनामा नदिनोस् भनेका छौँ हामीले । तर, स्थानीय तहबाट हामीलाई ठूलो नेता चाहिन्छ भन्ने भयो भने यसमा पार्टीले पुनर्विचार गर्छ होला भन्ने मलाई लाग्छ ।

मज्जासँग जित्छौँ, त्यसमा चिन्तै लिनुपर्दैन । त्यहाँ सबै मिल्छन्, त्यो पनि हामीलाई थाहा छ । अहिलेको गठबन्धनको टार्गेट भनेको केपी ओली, त्यसपछि एमाले हो । केपी ओली रहेसम्म एमाले हार्दैन भन्ने उहाँहरूको विश्वास हो । यी चिजहरूमा हाम्रो यथेस्ट ध्यान जान्छ र जितेर पनि देखाउछौँ ।

वीरगञ्ज महानगरपालिकामा बहालवाला मेयर विजय सरावगी र लोसपामा राजेशमान सिंहबीच एमालेमा प्रवेश गर्ने होडबाजी नै चल्यो । अन्ततः सिंहचाहिँ जसपामा जानुभयो । बीरगञ्ज महानगरपालिकामा जितिन्छ जस्तो लाग्छ ?

त्यहाँ पहिला पनि एमालेको पोजिसन राम्रै थियो । अहिले खास गरी तराईमा एमालेप्रति आकर्षण छ । तपाईं आफैँ तराई घुमेर आउनुभएको छ । तराईमा दुई–तीनवटा कारणले गर्दा हाम्रो अध्यक्षप्रति धेरै आकर्षण छ । एउटा हुलाकी राजमार्गको कुरा । अर्को चाहिँ स्थानीय विकासका लागि ५० करोड दिइएको कुरा । शहरी विकास कार्यक्रम अन्तरगत गरिएका कामहरू । र, सबैभन्दा ठूला रिभोल्युसन त त्यहाँ के भएको छ भने हामीले हाम्रो कार्यकालमा झण्डै ५–६ सय किलोमिटरजति ढल बनाएका छौँ । खुला ठाउँमा शौच गर्ने मानिसहरू आफ्नै घरको शौचालयमा जाने स्थिति बन्यो ।

यी जम्मै कारणले गर्दा केपी ओलीप्रति क्रेज नै छ । त्यो क्रेज र आकर्षणले पनि धेरै मात्रामा भोट बढाउनेवाला छ । हिजो धेरै भोट भएका माओवादी केन्द्र र जसपामा भएका साथीहरू अहिले यतै आइरहनुभएको छ । यो हेर्दा तराईका मुख्य पालिकाहरूमा पहिलाको जस्तो कमजोर स्थिति हुँदैन । अहिले धेरै सुध्रन्छ ।

देशभरिका ११ उपमहानगरपालिका मध्ये ०७४ मा एमालेले तुल्सीपुर, घोराही, बुटवल, जितपुर सिमरा, हेटौंडा, इटहरी र धरानसमेत गरी ७ वटामा जितेको थियो । धनगढी, नेपालगञ्ज, जनकपुर र कलैया अरु दलले जितेका थिए । पछि उपचुनावमा धरान काँग्रेसले खोस्यो । यसपालि ११ उपमहानगरमध्ये कति जित्ने एमालेको लक्ष छ ?

यसमा भन्न सक्ने भनेको पहिला हामीले जितेको कायमै राख्छौँ । नयाँमा वीरगञ्ज महानगर थपिनेवाला छ । नेपालगञ्ज पनि थपिन्छ भन्ने मलाई विश्वास छ । धनगढीमा प्रतिस्पर्धा होला, तर जित्ने सम्भावना त्यहाँ पनि छ ।

तपाईंहरू धनगढीमा तेस्रो हुनुहुन्थ्यो, कसरी जित्नुहुन्छ ?

परिस्थिति फेरिएको छ । पहिलेको भन्दा त धेरै प्रगति हुन्छ । तपाईंले भनेजस्तै वीरगञ्ज हामीलाई नाफा हुनेवाला छ । धरान उपनिर्वाचनमा गुमे पनि फर्किन्छ, त्यसमा चिन्ता छैन । अरु जितेका ठाउँमा हामी कायमै राख्छौँ ।

तर, धरानमा त एमाले र माओवादी एउटै हुँदा काँग्रेसले हराएको हो नि ?

त्यो टेक्निकल झमेला हो । हामी चरम विवादमा भएका बेला हारेको हो त्यो । एमाले र माओवादी एकै ठाउँमा थिए, नेकपा नै भए पनि लगभग दुईतिर फर्केको अवस्था थियो । त्योबेला हामीलाई धेरै घाटा भएको हो । भक्तपुरमै उपनिर्वाचनमा प्रदेश सभा सदस्य हार्यौँ । कारण के थियो भने जसलाई टिकट दिँदा हारिन्छ भनिएको हो, त्यसैलाई दिइयो । हार्नलाई दिने भनेर प्रचण्ड कमरेडले दाबी गर्नुभयो त्यसबेला । ल हारौँ भनेर दिएको । किनभने, पहिले नै परिणाम थाहा थियो हामीलाई । त्योबेला अन्तरविरोधका कारणले हारेको कुरालाई टेक्निकल रुपमा लिनुपर्छ । अरु जनमतको हिसावले जहाँको त्यहीँ छौँ, ओरालो लागेका छैनौँ ।

देशभरका ६ वटा महानगर र ११ उपमहानगरजस्तै केही हटसिट पालिकाहरू पनि छन् । तीमध्ये केपी ओलीको गृहनगर दमक एउटा हो । गठबन्धन मिलेर आएको अवस्थामा दमक नगरपालिका एमालेले जोगाउला ?

मज्जासँग जित्छौँ, त्यसमा चिन्तै लिनुपर्दैन । त्यहाँ सबै मिल्छन्, त्यो पनि हामीलाई थाहा छ । अहिलेको गठबन्धनको टार्गेट भनेको केपी ओली, त्यसपछि एमाले हो । केपी ओली रहेसम्म एमाले हार्दैन भन्ने उहाँहरूको विश्वास हो । यी चिजहरूमा हाम्रो यथेस्ट ध्यान जान्छ र जितेर पनि देखाउछौँ ।

चुनावमा बाहिर जे भने पनि भित्र–भित्रचाहिँ नेकपा एमाले दबावमा छ जस्तो लाग्दैन तपाईंलाई ?

हामी जित्नुपर्ने दबावमा छौँ । हार्न नहुने दबावमा छौँ, यो सत्य कुरा हो । यसलाई हामीले स्वाभाविक ढंगले लिएका पनि छौँ । मैले त प्रशिक्षणहरूमा बोल्ने गरेको छु, अहिले एमाले जित्ने दबावमा छ, हार्ने छुट छैन, त्यहीअनुसार तयारी गर्नुस् । अरु दलहरूलाई पनि दबाव छ । अरुले एक्लै जित्न सकिन्न भनेर गठबन्धन बनाएका छन् एमाले राष्ट्रिय शक्ति हो, यो एक्लै जित्छ भनेर ढुक्कसँग लागिरहेका छौँ ।

अब अलिकति निर्वाचन आयोगसँग एमालेको विवादबारे कुराकानी गरौँ । हिजोसम्म निर्वाचन आयोग एमालेबाटै परिचालित हो कि भन्ने टाइपको चर्चा हुन्थ्यो । अहिले आयोगसँग एमालेको सम्बन्ध चिसिएजस्तो देखिन्छ । हरियो रंङको मतपत्रमा पनि प्रश्न उठाउनुभयो । आचार संहितामा पनि असहमति जनाएको देखियो । आयोगसँग एमालेको खास गुनासो चाहिँ के हो ?

हामीले जे भन्यौँ त्यो लागु भयो नि अहिले । विधिअनुसार चल्नुपर्यो भन्ने हाम्रो कुरा हो । हाम्रो पालामा नियुक्त भएका मान्छे हाम्रै हली गोठाला त होइनन् । सम्बन्धित निकायका जिम्मेवार भएकाले त्यही तहको व्यवहार र हैसियत हुनुपर्छ भनेको हो ।

निर्वाचन आयोग स्वतन्त्र, स्वच्छ, निष्पक्ष देखिनुपर्छ । निष्पक्ष भएर डण्डा हान्दा हामीले ऐया भन्न मिल्दैन । हरियो रङको सन्दर्भमा त्यो रङ राखे राखौँ तर त्यसका लागि बहस र छलफल गर्नुपथ्र्यो । किनभने निर्वाचन आयोग, संसदीय व्यवस्था भनेको त्यो परम्परागत व्यवस्था पनि हो । कुनै परम्परा फेर्न पर्‍यो भने त्यसमा लामै समय कुरा गर्नुपर्छ । जस्तो– राजाका पालमा संसदभित्र मर्यादापालक आएर श्री ५ महाराजाधिराज भनेर कराउँथे । अहिले सभामुख भनेर कराउँछन् । हामीले त्यो परम्परा छोडेकै छैनौँ ।

हरियो रङ राख्ने नराख्ने वा रातो, पहेँलो रङ राख्ने नराख्ने भनेर छलफल गरिदिएको भए धेरै राम्रो हुन्थ्यो भन्ने जिज्ञासा थियो । तर आयोगले अन्डरमाइन्ड गर्यो भन्ने हिसावले क्रिया–प्रतिक्रिया आएको हो ।

त्यसपछि केही केही हामीलाई अस्वाभाविक लागेका कुराहरू पनि थिए । ती सबै कुरा हामीले निर्वाचन आयुक्तहरूका सामु पनि भन्यौँ । महासचिवको नेतृत्वमा आयोग गएर हामीले मनोनयनको कुरा दुई दिन किन भनेर प्रश्न गर्यौँ । हामीलाई आशंका के थियो भने पहिला टेक्नोलोजी नभएका बेलामा मान्छे दौडनुपर्ने र हेलिकोप्टर पनि कम उड्ने बेलामा एकै दिनमा गर्न सक्थ्यौँ । भ्याइएको पनि थियो । अहिलेचाहिँ दुई दिन किन राखेको रु एकातिर गठबन्धन छ, त्यहाँ लफडा परिरहेको छ । आज झगडा पर्‍यो भने भोलि उम्मेदवारी दर्ता गर्नलाई हो कि भन्ने आशंकाको ग्राउन्ड छ । त्यसमा स्पस्ट पार्नुस् भनेको हो ।

त्यसपछि जनप्रतिनिधिहरूको राजीनामाको कुरो । निर्वाचन आयोग आफैँले सरकारलाई कन्भिन्स गर्दा के भनेको हो भने हाम्रो संविधानले एक दिन पनि स्थानीय तह खाली रहँदैन भनेर परिकल्पना गरेको छ । त्यसकारण दुई महिनाअघि चुनाव गर्ने र पदवहाल पछि गर्ने भनेर निर्णय गरेको हो । वैशाखभित्र चुनाव र जेठ ४ भित्र तयार भएर ५ गतेबाट नयाँ मान्छे आउनुपर्छ भनेर उहाँहरू आफैँले भन्नुभयो । तर, राजीनामा गर्नुपर्छ भनेर लेख्नुभयो, त्यो किन रु भनेर प्रश्न गर्दा जवाफ सुनिसकेपछि ठिकै छ भन्यौँ ।

त्यसपछि केहीकेही कुरा गलत तरिकाले बाहिर आए । जस्तो– प्रचार प्रसारका सन्दर्भमा सामाजिक सञ्जाल र अनलाइनको प्रयोग गर्न पाउने कि नपाउने रु हाम्रो भनाइ के हो भने सामाजिक सञ्जालको चाहिँ दुरुपयोग भइरहेको छ । फेसबुक, ट्विटरहरूमा बढी दुरुपयोग भएको छ, त्यसलाई नियमन गर्न राज्यले सकिरहेको छैन । तर, पर्सनल वेबसाइटहरू भनेका आधिकारिक हुन्, त्यो म्यासेजमात्रै हो । त्यसलाई पनि प्रतिबन्ध लगाएको हिसाबले आचारसंहिता आयो । पछि उहाँहरूले जम्मै कुराहरूको जवाफ पनि दिनुभयो । हामीले निर्वाचनलाई प्रतिकुल प्रभाव पार्ने कुराहरूलाई रोकौँ भनेको हो, त्यो भाषा मिलेनछm यसलाई स्पष्ट पार्छौँ भन्नु भो ।

जनप्रतिनिधिले राजीनामा गर्ने कुरामा चाहिँ लाभको पदसम्बन्धी व्याख्या संविधानको धारा ३०६ मा गरिएको छ । त्यस्तै व्यवस्था प्रतिनिधिसभामा पनि छ । प्रतिनिधिसभामा चाहिँ उन्मुक्ति दिने गरी हामीले ऐनमा ट्रान्फर गरेछौँ, स्थानीय चुनावको सन्दर्भमा ट्रान्सफर भएनछ । यदि हामीले राजीनामा गर्नोस् नभन्ने हो भने एकैचोटि ५–६ हजार मान्छेको मुद्दा पर्‍यो र अदालतले खारेज गर्यो भने त निर्वाचन बर्बाद हुन्छ, त्यसैले सतर्क भएको हो, अहिले यो विषय अदालतमा विचाराधीन छ, तर पछि कसैले मुद्दा हाल्दियो भने के गर्ने भनेर आयोग प्रो–एक्टिभ भएको हो भन्नुभएको छ उहाँहरूले ।

दुई दिन मनोनयन दर्ता गर्न दिने प्रश्नमा उहाँहरूको खासै जवाफ थिएन । रंगको सन्दर्भमा उहाँहरूले दिएको जवाफ के थियो भने हरियो रंग राख्दा स्वस्तिक चिन्हको रंगमा प्रष्ट देखिँदोरहेछ, यसमा हाम्रो कुनै नियत छैन भन्नुभयो । हामीले प्रश्न पनि गर्यौँ, उहाँहरूले जवाफ पनि दिनुभयो । यो कुरालाई निर्वाचन आयोगले स्वाभाविकरुपमा लिनुपर्छ । निर्वाचन आयोगले आचार संहिता पालना गराउने कुरामा सबै दललाई एउटै रुपमा हेर्नुपर्‍यो ।

हामीले एउटा कुरा नउठाएको भए पनि हुन्थ्यो, तर उठायौं । जस्तो– मन्त्री र कार्यकारी प्रमुखले आफ्नो निर्वाचन क्षेत्रमा बाहेक अन्त प्रचार गर्न जान पाइन्न भन्ने अहिलेको आचार संहितामा छ । यसमा हामीलाई त केही आपत्ति छैन, हामी कहीँ पनि मन्त्री छैनौँ । शेरबहादुरजी त अहिले कहीँ चुनाव लडिरहनुभएको छैन, मन्त्रीज्यूहरू पनि स्थानीय चुनाव लड्नुहुन्न । उहाँहरूको निर्वाचन क्षेत्रै हुँदैन । के अब मन्त्रीहरू सिंहदरबार र बालुवाटारमै बन्द हुन्छन् त रु ल भन्नोस् भनेर हामीले आयोगलाई प्रश्न गर्यौँ ।

प्रधानमन्त्री र मन्त्रीहरू पनि त पार्टीकै नेता हो । मुख्यमन्त्रीको दायित्व भनेको आफ्नो दललाई जिताउने दौडने हो । प्रधानमन्त्रीको दायित्व आफ्नो दललाई जिताउने हुन्छ र उनी दौडन्छन् । यही नै त हो संसदीय व्यवस्था । विचारको प्रतिस्पर्धा गर्न पाएन भने कसरी जनतालाई प्रभावित पार्छ त रु चाहे हामी प्रधानमन्त्री हौँ या अर्को प्रधानमन्त्री होस्, यो त सिस्टमलाई कसरी बलियो बनाउने भन्ने कुरा हो भनेर हामीले प्रश्न गर्यौँ उहाँहरूलाई । यद्यपि हामीले यो ठीक भयो भन्दिएको भए सरकारलाई बाँध्न सकिन्थ्यो । तर, हामीले त्यो भनेनौँ ।

निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउँछ भन्ने कुरामा चाहिँ नेकपा एमाले विश्वस्त छ हैन ?

त्यो त गर्नुपर्छ । उसको दायित्व हो त्यो । निष्पक्ष निर्वाचन गर्न सकिँदैन भने त्यहाँ बस्न हुँदैन । मुलुकको भविष्य र डेमोक्रेसीप्रति कसैले पनि खेलबाड गर्न हुँदैन ।

कतिपय प्रश्न उठाउँदा उठाउँदै पनि तपाईंहरू आयोगको भूमिकाप्रति त विश्वस्त हुनुहुन्छ होला नि ?

लोकतन्त्रमा के हुन्छ भने चेक एण्ड ब्यालेन्स गर्ने निकायहरूले गरेका काम गलत भए हामी गलत भयो भन्छौँ, भएका निर्णयहरू मान्छौँ । जस्तो– अदालतले पक्षपातपूर्ण निर्णय गरेको छ नि त अहिले । यति त हामी भन्न सक्छौँ । तैपनि अदालतबाट आएको फैसला हामी झगडियाले हाम्रो पक्षमा फैसला आएन भनेर नमान्न पाउँदैन नि । फैसला मान्न बाध्य तर गरेका कुराहरूको विरोध हामी गर्छौँ । निर्वाचन आयोगलाई पनि हामीले त्यही नै भन्यौँ । तपाईंहरू निष्पक्ष बन्नोस्, सधैँ प्रशंसा गर्छौँ । तपाईंहरूले पक्षपातपूर्ण काम गर्नुभयो भने हामी विरोध गर्छौँ । यो तपाईंहरूको कुरा हो कि तपाईंहरू कति खरो निक्लिएर जानुहुन्छ ।

आयोगका अधिकारीहरू के भन्छन् भने निर्वाचन आचारसंहितामा जति नै असहमति जनाए पनि, प्रतिबद्धतापत्रमा सही नगरे पनि यो अनिवार्य लागू हुन्छ र यसलाई मान्नैपर्छ । तपाईंहरू आयोगबाट जारी आचारसंहितालाई त मान्नुहुन्छ होला नि ?

हामीले सही गरिसकेका छौँ । हामी गयौँ नि त । हामीले त्यसैबेला पनि भनेका थियौँ, वक्तव्य नै आएको थियो त । हाम्रा केही जिज्ञासाहरू थिए, ती जिज्ञासा स्पष्ट नपारिकन हामी सही गर्दैनौँ भनेका थियौँ । सर्वदलीय मिटिङमा त्यहाँ बहस गर्ने स्थिति नै भएन, कुर्सी हानाहानको स्थिति भयो । नेपाली काँग्रेस लगायत केही दलका मान्छे हतार–हतार सही गरेर हिँड्नुभो ।

आचार संहिता जारी गर्नुअघि हामी डेलिगेसन नै गएका थियौँ, झण्डै सवा घण्टा कुरा राख्यौँ । उहाँहरूले स्पष्ट पार्नुभो, हाम्रा प्रतिनिधिहरूले सही गरेर आउनुभो, सिद्धियो ।

अन्त्यमा, शीर्ष नेताहरूले भाषणका क्रममा असाध्यै तीतो बोलेको सुनिन्छ । मुसाको जुगाँदेखि बाख्रा र भैँसीसम्म विम्बहरू प्रयोग हुने गरेका छन् । तपाईं दोस्रो पुस्ताको नेता हुनुहुन्छ, के भन्नुहुन्छ यस्ता अभिव्यक्ति र विम्बहरूमा ?

दुईटा कुरा छन् । एउटा त यसमा ‘पर्सेप्सन’ छ । मान्छेमा एउटा अवधारणा बनेको हुन्छ, जतिसुकै नरम बोले पनि कडा नै बन्न पुग्छ । जुन मान्यता बनेको हुन्छ, त्यसैका आधारमा बोल्छन् । त्यो हिसावले पनि अरु नसोची फलानाले बोलेको चाहिँ छुच्याइँ हो भन्ने ठान्छन् । एउटा त्यो स्थिति छ ।

दोस्रो– एमाले, माओवादी केन्द्र र माधव नेपालको पार्टीबीचमा हुने तिक्तता भर्खर पार्टी फुटेकाले स्वाभाविक लिनुपर्छ । कुनै एउटा नेताले एक ढंगको भाषा बोल्ने हो भने अर्को नेताले ब्यालेन्स गरिहाल्छ । केपी ओलीलाई यस्तो गर्छु, उस्तो गर्छु भनेपछि उहाँले नमस्कार गर्छु त भन्नुहुन्न, प्रतिवाद त गर्नैपर्यो नि ।

म त साइन्स पढेको मान्छे, गतिको नियममा हरेक क्रियाको बराबर तर, विपरीत प्रतिक्रिया हुन्छ । जसरी तपाईंले हान्नुहुन्छ त्यसरी नै जवाफ फर्कने हो । त्यसैले यो स्वभाविक ढंगले लिनुपर्छ ।

राजनीतिमा सैद्धान्तिक नै हो बहस गर्नुपर्ने । हाम्रो अध्यक्षको कुरा गर्नुभएको हो भने उहाँ दर्शन, सिद्धान्त जम्मै विषयलाई स्थानीय भाषामा रुपान्तरण गरेर बोल्नुहुन्छ । धेरै नेताले दर्शनको कुरा गर्दा अररा शब्द प्रयोग गर्नुहुन्छ, मान्छेलाई निद्रा लाग्छ । तर, केपी ओलीले दर्शनको कुरा गर्दा जीवन दर्शन जोडेर बोलिरहनुभएको हुन्छ र मान्छेले घण्टौँ सुन्दा पनि पट्यार मान्दैनन्, रमाइलो मान्छन् । त्यसलाई सकारात्मक रुपमा लिने हो भने ल है जनबोलीमा बोल्या भन्ने लाग्छ । नेगेटिभ लिए उखान टुक्का हाल्यो, उडायो भन्ने भैहाल्छ ।

(एमाले उपमहासचिव रिमालसँग स्थानीय चुनावको जोड–घटाऊमा केन्द्रित रहेर रातोपाटीका प्रधानसम्पादक अरुण बरालले गरेको विस्तृत कुराकानी राताेपाटीमा प्रकाशित छ । )



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..