२० मंसिर २०७९, मंगलवार

ललितपुर महानगरवासी हाम्रो पक्षमा

प्रकाशित मिति :  ४ बैशाख २०७९, आईतवार ०५:३८


हरिकृष्ण ब्यन्जनकार, ललितपुरमा एउटा असल राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्छ । २०४६ सालको जनआन्दोलनदेखिका हरेक आन्दोलनमा सक्रिय सहभागिता र नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका एउटा अथक योद्धा हुनुहुन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरको प्रमुखमा जित्दा जित्दै मतगणनाबाट हराइनुभएका ब्यन्जनकारलाई नेकपा (एमाले) ले यसपाली पार्टीबाट सर्वसम्मत उम्मेदवारका रुपमा अगाडि सारेको छ । प्रस्तुत छ, ब्यन्जनकारको राजनीतिक जीवन र निर्वाचनबारे उहाँसँगको संक्षिप्त कुराकानी :


स्थानीय तहको निर्वाचन आउन २६ दिन बाँकी छ । यो निर्वाचन २०७४ मा निर्वाचित जनप्रतिनिधिहरूको अग्निपरीक्षाको घडि हो । राम्रो काम गरेकाहरू दोहोरिने र नराम्रो काम गरेकालाई मूल्याङ्कन गरी बहिर्गमन गर्ने काम पनि यसै निर्वाचनले गर्नेछ । हाल ललितपुर महानगरपालिकाको मेयरको जिम्मेवारी रहनुभएका नेपाली काँग्रेसका चिरिबाबु महर्जनले जनताको इच्छा र चाहना अनुसार काम गर्न नसकेको ललितपुर महानगरवासीको गुनासो छ ।

आफ्ना सीमित व्यक्ति र संस्थाको लागिमात्र काम गरेको कारण उनको आलोचना हुंदै गएको छ । नेपाली काँग्रेसले नेतृत्व लिएपछि महानगर अस्तब्यस्त हँुदै गएको छ । नेपाली कांग्रेसको लोकप्रियता घट्दो क्रममा छ । त्यसैले अबको निर्वाचनमा आम नगरवासीको आशा र भरोसा एमालेले उठाउने उम्मेदवारमा छ । एकलाख २२ हजार मतदाता रहेको ऐतिहासिक नगरी ललितपुर महानगरपालिकामा नेमपा (एमाले) बाट सर्वसम्मत मेयरको उम्मेदवार सिफारिश हुनुुभएका हरिकृष्ण व्यञ्जनकारले निर्वाचनमा बाजी मार्ने निश्चित छ ।

गएको निर्वाचनमा मतगणनामा नेपाली काँग्रेसले धाँधली गरेका कारण ३२६ मतले हार बेहोर्नुपरेका ब्यञ्जनकारले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताउनुहुन्छ । २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले मत गणना गर्दा धाँधली गरेको भन्दै जिल्ला अदालतमा मुद्दा पर्दा अदालतले जिल्ला निर्वाचन कार्यालय ललितपुरसँंग मत गणनाको फाइल झिकाएको थियो । त्यसबेला अदातलले ढिलो रिट दायर गरेको, प्रमाण पनि नपुगेको भन्दै नेपाली काँग्रेसका उम्मेदवार चिरिवावु महर्जनलाई जिताएको थियो ।

त्यसबेला टेक्निकल इररका कारण हार बेहोर्नुपर्यो, यो निर्वाचनमा करिब छहजार मत अन्तरले विजय हासिल गर्नेछौं– मेयरका उम्मेदवार ब्यञ्जनकारको भनाइ छ । महानगरका अधिकांश वडामा हाम्रो अवस्था बलियो छ । चोइटिएर गएको नेकपा एसको कुनै प्रभाव छैन । एसपार्टीका केही वडा अध्यक्षहरू एमालेले उठाइदिए यतै फर्किने सुरमा छन् । त्यसैले अहिलेको मूल्याङ्कन गर्दा ललितपुर महानगरवासी हाम्रो पक्षमा उत्रिएका छन् । जनतालाई हामीले व्यालेटमा मत चाहन्छौं भनेका छांै । पार्टीले जित्ने, टिक्ने र काम गर्नेलाई उम्मेदवार छनौट गरेको छ । त्यो आधार ललितपुर महानगरपालिकामा मेरो सर्वसम्मत निर्णय हुनु हो ।

एमालेले छ महानगरमध्ये सर्बसम्मत रूपमा ब्यञ्जनकारलाई पहिलो मेयरको उम्मेदवार घोषणा गरेको छ । २०१२ साल भदौ १३ गते जन्मिनुभएका ब्यञ्जनकारले सानैदेखि वामपन्थी विचारधारा बोक्नुभएको र अहिले नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट २०३८ सालमा व्यवस्थापन संकायबाट स्नातकोत्तर ( एमए) तहको अध्ययन पूरा गरेका ब्यञ्जनकारले कुशल राजनीतिज्ञको परिचय बनाउनुभएको छ ।

उहाँको राजनीतिक जीवन २०३५ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट शुरु भएको हो । २०३६ सालमा तत्कालीन नेकपा मालेसँग आबद्धता भएको थियो । नेपाल बैकमा कार्यरत रहँदा पार्टीसँग सम्पर्क, नियमित प्रशिक्षणमा सहभागी भएको इतिहास छ । वामपन्थी राजनीतिमा झण्डै साढे चार दशक पूरा गरिसकेका ब्यञ्जनकारले २०४६ सालको जन आन्दोलनमा ललितपुरबाट सक्रिय सहभागिता जनाउनुभएको थियो ।

त्यसबेला उहाँले ललितपुर जिल्लामा आन्दोलनको कमाण्डर नै भएर काम गर्नुभएको थियो । २०४६ को जनआन्दोलनमा ललितपुरमा अबाञ्छित तत्वको घुसपैठ हुन थालेपछि उहाँले नेतृत्व लिनुभएको थियो । त्यसपछि बनेको नगर सुरक्षा समितिको अध्यक्षको जिम्मेवारी पनि ब्यन्जनकारले पाउनुभएको थियो । २०४६ सालमा अखिल नेपाल किसान संघ ललितपुरको अध्यक्ष, ०४८ सालको संसदीय र ०४९ सालको स्थानीय निर्वाचनमा नेतृत्वदायी भूमिकामा काम गरेको उहाँको अनुभव छ ।

पार्टीमा निरन्तर सक्रिय रहेपछि उहाँले ललितपुर जिल्ला पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउन थाल्नुभयो । २०४९ सालदेखि उहाँले पार्टी नगर कमिटीको सचिव र जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाउनुभयो । उहाँसँग टनकपुर सन्धिको विरोधमा नेतृत्वदायी भूमिका खेलेको अनुभव छ । २०५० सालमा दासढुङ्गामा जननेता मदन भण्डारी र जिवराज आश्रितको षडयन्त्रपूर्ण हत्याभएपछिको आन्दोलनमा ललितपुर जिल्लाबाट ब्यन्जनकारले नेतृत्व गर्नुभएको थियो ।

उहाँले २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको संसदीय निर्वाचनमा पार्टीलाई जिताउन मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । ती निर्वाचनमा ललितपुर जिल्ला लाल किल्ला बनेको थियो । ललितपुरका तीनै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारको सानदार विजय हासिल भएको थियो ।

त्यसबेला निर्वाचनमा ब्यञ्जनकारले निर्वाह गर्नुुभएको भूमिकाबाट उहाँको राजनीतिक यात्रामा सफलता प्राप्त हुँदै गयो । ०५४ सालको स्थानीय निर्वाचनमा जिल्लाको कमाण्डरको भूमिकामा रहेका ब्यन्जनकारसँग २२ वडा रहेको ललितपुर उपमहानगरमा उपमेयरसहित १५ वडा अध्यक्षलाई विजयी गराउन सफल भएको अनुभव छ ।

पार्टीमा निरन्तर लागेर महत्वपूर्ण जिम्मेवारी पाएका ब्यञ्जनकार २०५४ सालमा पार्टी विभाजन हुँदा विभाजनबाट कम क्षति गराउन सफल भएको वताउनुहुन्छ ।

०६२/०६३ सालको जनआन्दोलनमा जिल्ला सचिव रहेका ब्यन्जनकारले सो आन्दोलनमा ललितपुरबाट सक्रिय सहभागिता जनाउनुभयो । त्यस आन्दोलनमा उहाँले ४८ दिन जेल जीवन बिताउनुभयो । त्यसबेलाको अनुभवले उहाँको राजनीतिलाई झन् तिर्खादै लग्यो ।

ब्यन्जनकार २०६४ सालको निर्वाचनमा जिल्लाबाट निर्वाचन उप कमाण्डर र २०७० सालमा कमाण्डरको भूमिकामा हुनुहुन्थ्यो । उहाँ २०६५ सालमा आठौं महाअधिवेशन प्रतिनिधि र २०७० सालको जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित हुनुभयो । जिल्लामा हुने पार्टीको राजनीतिक आरोह र अवरोहबाट पाको भैसकेका ब्यञ्जनकारले २०७४ सालको संसदीय निर्वाचनमा जिल्लामा संघ र प्रदेशका नौवटै सिटमा पार्टीलाई सानदार विजय हासिल गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि संयुक्त कार्यदलबाट जिल्ला अध्यक्षमा सिफारिस भई २०७५ देखि २०७७ सम्म ब्यन्जनकारले ललितपुर जिल्ला पार्टी अध्यक्षका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

२०७७ साल फागुनमा एमाले पुनःस्थापनपछि सो पार्टीको ललितपुर जिल्ला अध्यक्ष, २०७८ सालको दशाैं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका ब्यन्जनकार हाल ललितपुर जिल्लाको सह इन्चार्ज हुनुहुन्छ ।

व्यक्तिगत जीवन हेर्दा उहाँ किसानको छोरा । बुबाले छोरालाई उच्च शिक्षाको अवसर दिनुपर्छ भन्ने भावनापछि उहाँ अध्ययनको सिलसिलामा विराटनगर जानुभयो । अध्ययन पूरा गरेपछि आफ्नै घरछेउ ललितपुरको च्यासलमा रहेको श्रमिक शान्ति माबिको प्रधानाध्यापकका रूपमा अध्यापन थाल्नुभयोे । २०४३ देखि २०६८ सम्म सो विद्यालयको व्यवस्थापन समितिको सदस्य हँुदै अध्यक्षको जिम्मेवारीमा रहेर शिक्षा क्षेत्रमा योगदान गर्नुभएको छ ।

०६४ सालमा सो विद्यालयले क्याम्पसको समेत स्वीकृत पायो । उहाँ क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष भएपछि क्याम्पसमा २४ कोठा सहित क्यान्टिन र १४ कोठाको होस्टल निर्माण भयो ।

संस्थागत जीवनमा उहाँ ०३२ सालमा श्रमिक शान्ति पुस्तकालयको अध्यक्ष, ०३९ सालमा च्यासल टोल सुधार समितिको सचिव, ०४१ सालमा उपाध्यक्ष हुँदै २०४३ देखि २०५० सालसम्म र २०५३ देखि २०५५ टोल सुधार समितिको अध्यक्ष हुनुभयो । ब्यन्जनकारसँग २०४७ सालमा गलैंचा उद्यमी संघ ललितपुरको अध्यक्ष भएको लामो अनुभव छ ।

सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका ब्यन्जनकारलाई पार्टीले ललितपुर महानगरको मेयरको उम्मेदवार बनाउने भएपछि उहाँ चुनावी तयारीमा लागिसक्नुभएको छ । क्षेत्रगत भेटघाटलाई तिब्रता दिनुभएको छ । यसैक्रममा उहाँले चुनावी नारा पनि तय गरिसक्नुभएको छ ।

चुनावी योजना र नारा जस्ताको तस्तै
ललितपुर नगरलाई बनाऔं हराभरा, शान्त र सुन्दर
कला, संस्कृति र सम्पदाको अनुपम विकसित शहर ।

सुशासनयुक्त जनसेवी महानगरपालिका
हुनुपर्छ यसको स्पष्ट वार्षिक तालिका ।

जनप्रतिनिधि शासक हैन नगरको सेवक हुनुपर्छ
कर्मचारी नगरको सेवाग्राहीको सहयोगी हुनुपर्छ ।

विकास जनताको लागि हो विकासका लागि योजना
समाजवादको आधार तयार गर्न छानौं प्राथमिकता ।

गरिबको झुप्रो बदली हामीले सुबिधायुक्त घर दिउँ
आर्थिक सहयोगको बानी हैन, अर्थ उपार्जनको बाटो दिउँ ।

जनताको स्वास्थ्यको अगाडि व्ययको महत्व के छ र
स्वास्थ्य, शिक्षा र योग्यता अनुसारको सबैलाई रोजगार ।

आजका बालक भविश्यका कर्णधार
शिक्षा नै सशक्त र योग्य हुने आधार ।

सर्वसुलभ र गुणस्तरीय शिक्षा हाम्रो लक्ष
सबै बालकले पाउनुपर्छ शिक्षाको उच्च तह ।
(पत्रकार ईश्वर ढकालसंगको कुराकानीका आधारमा )



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..