१५ मंसिर २०७९, बिहीबार

नेपालगञ्जमा अध्यक्ष ओलीले रोजेका बेदाग नेता पशुपतिदयाल मिश्र

प्रकाशित मिति :  ४ बैशाख २०७९, आईतवार ०५:५५


नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएर नेकपा एमालेले चुनावी शक्ति आर्जन गरेको छ । त्यसो त एमालेसँग मिश्रको नाता पाँच बर्ष अघिकै हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रले सूर्य चुनाव लिएर बाँके क्षेत्र नं. २ मा चुनाव लड्नुभएको थियो । मधेसमा प्रतिकुल अवस्था ठानिएको त्यो बेला समेत मिश्रले १६ हजार मत ल्याएर दोस्रो हुनुभएको थियो ।
त्यतिबेला सूर्य चुनाव चिन्ह मात्र लिएर चुनाव लडेका मिश्र अहिले भने सोही पार्टीको केन्द्रीय सदस्य हुनुभएको छ । जनताको बहुदलीय जनवाद स्वीकार गर्ने एमालेलाई हृदयबाट नै स्वीकार गरी नेताको काँधमा मधेसमा आफ्नो पार्टीलाई सशक्त बनाउनु छ । मिश्रले नेपालगन्जमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चार हजार मानिस एमाले प्रवेश गराउनुभएको थियो । त्यहीँबाट शुरु भएको एमालेको मधेसमा वाहवाही अहिलेसम्म उस्तै छ । मधेसमा अध्यक्ष ओली र एमालेको पुनरउदयको जस मिश्रलाई जान्छन् । मधेसमा ओलीका विश्वासिला पात्र हुनुभएको छ मिश्र । नेपालगन्ज हुँदै पश्चिममा हुने अध्यक्ष ओलीका हरेक सभामा उहाँको सहभागिता रहन्छ । ओली आफैले मिश्रलाई संगै लैजानुहुन्छ । सम्भवतः मिश्र अब नेपालगन्जको मात्र होइन देशको नेता बन्ने दौडमा हुनुहुन्छ ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा अरू पार्टीमा आकांक्षीको भीड छ । तर, मिश्र भने एमालेबाट नेपालगन्जको मेयर उम्मेदवार हुनेमा ढुक्कजस्तै देखिनुहुन्छ । एमाले स्रोतका अनुसार, पार्टी प्रवेश हुँदै नेतृत्वले उहाँलाई नेपालगञ्ज उपमहानगरको मेयर बनाउने आश्वासन दिइसकेको छ । ‘पार्टीमा प्रवेश गर्नुअघि नै मैले आफ्नो आकांक्षा नेतृत्वलाई भनेको छु’ मिश्रले भन्नुभयो, ‘अब पार्टीले जे निर्णय गर्छ मान्न तयार छु ।’ नेपालगञ्ज उपमहानगरको मेयर उम्मेदवार वनाउन मिश्रको नाम एकल रूपमा सिफारिस भएको छ ।
गत स्थानीय निर्वाचनमा एमालेबाट सम्शुद्धिन सिद्धिकी मेयरका उम्मेदवार थिए । सिद्धिकी यतिवेला एकीकृत समाजवादीमा लागेका छन् । नेपालगन्जमा संगठनात्मक मत नघटेको र आफूहरूसमेत जोडिँदा एमाले बलियो रहेको मिश्रको दाबी छ । ‘एक्ला एक्लै त अब हामीलाई कसैले हराउन सक्दैन । गठबन्धन एक भएर आए केही मिहिनेत गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘सत्तारुढ गठबन्धनलाई हराउन हामीले पनि साना दलसँग तालमेल गर्नुपर्ने हुन सक्छ । तर, अहिलेसम्म एक्लाएक्लै लड्ने स्थिति छ ।’
मधेस केन्द्रित राजनीतिक पृष्ठभूमिबाट आएका र व्यक्तिगत लोकप्रियतासमेत रहेका नेता पशुपति दयाल मिश्र एमाले प्रवेश गरेकाले यसपटक नेपालगञ्ज उपमहानगरमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच हुने आकलन छ ।

पुरानो राजनीतिक विरासत बोकेका मिश्रको मेयर पदमा हुने सम्भावित उम्मेदवारीले यहाँको राजनीतिमा तरङ्ग नै ल्याइदिएको छ । चुनावी हारजित बैशाख ३० गते पछि नै थाहा हुने भए पनि मिश्र मुख्य प्रतिस्पर्धीका रूपमा देखिनुभएको छ ।
उद्यम, राजनीति र समाजसेवा समाजका सबैभन्दा ठूला क्षेत्र हुन् । सबै व्यक्ति तीन वटै क्षेत्रमा सफल हुन सक्दैनन् । तर नेपालगन्जका मिश्र उद्यम, राजनीति र समाजसेवामा अब्बल हुनुहुन्छ । तीनवटै क्षेत्रमा उहाँको नाम अगाडि नै आउँछ । हरेक नेताले समृद्धिको यात्रा आफैबाट सुरु गर्नुपर्छ भन्ने निष्कर्ष छ उहाँको । त्यही कारणले उद्योग क्षेत्रलाई उहाँले छाड्न सक्नुभएको छैन । चन्दाका लागि अरूको टाउको दुखाई दिनुपर्ने राजनीति कति दिनसम्म चल्छ ? पक्कै चल्दैन । त्यसकारण सकेसम्म आर्थिक रूपमा परिपक्क बन्नका लागि कुनै न कुनै उद्यममा लाग्नुुपर्ने तर्क छ मिश्रको ।
‘बुवा पनि गाविस अध्यक्ष हुनुहुन्थ्यो । गाउँमा हाम्रो राम्रै सम्पत्ति भएकाले आर्थिक समस्या झेल्नुपरेन् ।’ मिश्रले भन्नुभयो–‘तर पुख्र्यौली सम्पत्तिको घमण्ड मलाई कहिल्यै भएन ।’ पशुपतिदयालले सानैदेखि केही गर्नुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । त्यही सोचकै कारण उहाँ अहिले हरेक क्षेत्रमा सफल बन्नुभएको छ । त्यो चाहे राजनैतिक होस् चाहे समाजसेवा, हरेक दृष्टिकोणबाट जिल्लामा औंलामा गनिनेमा उहाँको नाम पनि अगाडि नै आउँछ ।
अधिकांश नेताहरू राजनीतिलाई पैसा कमाउने माध्यम बनाइरहेका छन् ।’ मिश्रले भन्नुभयो–‘ त्यसबाट टाढा रहनका लागि म व्यापार व्यवसायमा संलग्न भएको हुँ ।’
मिश्रले राजनीतिक जीवनको आरोह अवरोह देख्नुभएको छ । तर सफलताबाट मात्तिने र असफलताबाट आत्तिने उहाँको स्वभाव छैन । पराजित भए पनि आफू जनता माझ नै रहेको मिश्रले बताउनुभयो । आजसम्म आईपुग्दा उहाँले परिवारको अभिभावकदेखि राजनीतिक अगुवासम्मको भूमिका निर्वाह गरिरहनुभएको छ । जिल्ला विकास समिति बाँकेको सभापति भइसकेका मिश्र नेपालगन्जको प्रतिष्ठित कर्णाली विकास बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँ ओम प्लाईको प्रबन्ध निर्देशक हुनुहुन्छ ।
मिश्र मुख्य गरी राजनैतिक, आर्थिक र समाज सेवामा सक्रिय हुनुहुन्छ । युवा अवस्थामा उहाँ सरकारी जागिरे पनि हुनुभयो । जिल्ला विकास समितिको प्राविधिक पदमा जागिर खानुभयो । गाउँमा खानदानी घरपरिवारका मिश्रलाई आर्थिक समस्यासँग कहिल्यै जुझ्नु परेन ।
राजनीतिक र आर्थिक क्षेत्रसँगै विकास निर्माणका काममा पनि सक्रिय हुनुहुन्छ मिश्र । नेपालगन्जमा हुने विकास निर्माण सम्बन्धी योजनाहरू कार्यान्वयन गराउन उहाँ सधै लागिपर्नु हुन्छ । नेपालगन्ज विश्वविद्यालय बनाउनुपर्छ भन्ने अभियानमा महत्वपूर्ण भुमिका रह्यो मिश्रको ।
नेपालगन्जको विकासका लागि मिश्रले ठूलो सपना देख्नुभएको छ । नेपालगन्जलाई विकासले दृष्टिले अत्याधुनिक शहर बनाउन चाहनुहुन्छ मिश्र । त्यसका लागि मिश्रले जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताउनुहुन्छ । ती सपना राजनैतिक इच्छा शक्तिबिना पूरा नहुने उहाँको ठम्याई छ । ‘नेपालगन्जका नेताहरूले काठमाडौंसँग पहुँच विस्तार गर्न सकेका छैनन् । जसको पहुँच छ उसले यहाँको विकासका लागि ध्यान नै दिएका छैनन् ।’–मिश्रको गुनासो छ ।

राजनीतिक यात्रासँगै आर्थिक क्षेत्रमा पनि मिश्र उत्तिकै सक्रिय हुनुहुन्छ । सरकारी जागिरे हुँदै मिश्रले काठको ब्यापार थाल्नुभयो । मध्यपश्चिमकै पहिलो सहकारी वित्तीय संस्था स्थापना गर्नुभयोे । त्यसैगरी यस क्षेत्रकै पहिलो विकास बैंक कर्णाली विकास बैंक खोल्नुभयो । कुनै बेला मिश्रकै लगानीमा सञ्चालन भएको ‘गुड मर्निङ्ग दूध’ पनि नेपालगन्जमा चलेको थियो । सञ्चार क्षेत्रमा पनि मिश्रको लगानी छ । रेडियो बागेश्वरी एफएमका सञ्चालक हुनुहुन्छ मिश्र ।
राजनीति, आर्थिक र समाजसेवालाई सँगसँगै लिएर अघि बढेका मिश्र आफूले जीवनमा पाएका सफलतादेखि धेरै खुसी हुनुहुन्छ । केही गर्नका लागि रिस्क मोल्न तयार मिश्र भन्नुहुन्छ–‘सम्पत्तिसंगै ऋण पनि त होला । केही गर्न र कमाउनका लागि रिस्क त मोल्नै प¥यो ।’ राजनीतिमा लागेकाको आर्थिक पक्ष सवल नहुँदा धेरै समस्या भोगिरहेको देख्नुभएको छ कमिश्रले । ‘जबसम्म नेता आर्थिक, राजनैतिक र सामाजिक दृष्टिकोणबाट सवल हुँदैन तबसम्म देश र जनताको विकास हँुदैन ।’ मिश्रको सुझाव छ–‘ नत्र राजनीतिमा लागेपछि नेताहरू पैसा कमाउने बाटो रोज्छन् ।’



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..