नेकपा (एमाले) केन्द्रीय सचिवालयको सातौँ बैठक सम्पन्न, यस्ता छन् आठ निर्णय

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय सचिवालयको सातौँ बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी बैठक सम्पन्न भएको हो । बैठकले महत्वपूर्ण आठ ओटा निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
बैठकले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन वर्तमान सरकारले सार्ने षडयन्त्र गरिरहेको भन्दै त्यसको कडा रुपमा विरोध गर्ने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो । उहाँले बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सबै कमिटीलाई निर्वाचनको तयारीमा जुट्न आग्रह समेत गर्नुभयो ।
‘स्थानीयतह निर्वाचनका लागि तयार गरेको घोषणापत्रको अन्तिम मस्यौदालाई पारित गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा, प्रदेशसभा राष्ट्रियसभाको बन्दसूचिमा नाम रहेका र अहिले विभिन्न कमिटीबाट उम्मेदवार बन्न सिफारिस भै आएका नामलाई बन्दसूचिबाट हटाएको जानकारी निर्वाचन आयोगलाई गराउने निर्णय गरेका छौँ ।’
उपमहासचिव समेत रहनु भएका प्रचार विभाग प्रमुख गुरुङले सचिवालयले थप १२ ओटा विभाग गठन गरेको पनि जानकारी दिनुभयो । ‘बैठकको निर्णय अनुसार अब सल्लाहकार परिषद्मा १ सय ७३ सदस्य रहने व्यवस्था थियो । अब २ सय ७८ जनाको परिषद् बन्ने भएको छ,’ उहाँले भन्नुभयो, ‘५१ जना मनोनयन गर्ने सम्पर्क समन्वय कमिटीको सिफारिसलाई पनि बैठकले अनुमोदन गरेको छ ।’
उहाँले वैशाख ९ गते स्थापना दिवसका दिन १७ जना जेष्ठ कम्युनिष्ट सम्मान कार्यक्रमको आयोजना गरेको पनि बताउनुभयो । त्यसैगरी ९ गतेबाट एमाले मुख्यालय तुलसीलाल अमात्य प्रतिष्ठानको भवन च्यासलमा सर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।