४ भाद्र २०७९, शनिबार

तुलसीपुरले सूत्रपात गरेको स्थानीय विकासको नमुना

प्रकाशित मिति :  ६ बैशाख २०७९, मंगलवार ०८:०४


वसन्त आचार्य
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि आएको पाँच वर्षमा कैयाैं नमुना काम गरेको छ । पालिकाले गरेका कामले यहाँका जनताको अनुहारमा खुसी छाएको त छ नै देशैभरका पालिकाहरूले पनि हिड्ने गोरेटो भेटाएका छन् । पाँच वर्षमा तुलसीपुरले देशैभरका पालिकाहरूलाई नीति निर्माणमा सहजता थपेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको विकास मोडललाई व्याख्या गर्दा स्थानीय तहका रूपमा यसले खेलेको भूमिकालाई महत्वका साथमा हेर्ने गरिएको छ । संघीयताले गाउँमा सिंहदरवार ल्याएको बलियो अनुभूति जनतालाई दिलाउनका लागि जनप्रतिनिधिहरू सक्षम भएका छन् । स्थानीय विकासको नमुनाका रूपमा तुलसीपुरले गरेको अनेकानेक मोडलहरू रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे भन्नुहुन्छ– हाम्रो यस कार्यकालमा तुलसीपुरलाई विकासमा एउटा नमूना पालिका बनाउन पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र लगायत धेरै क्षेत्रमा काम गरिएको छ र ती काममा सफलतासमेत प्राप्त भएको छ ।
शिक्षामा नमुना मोडल
जनप्रतिनिधि आउँदा तुलसीपुरको शिक्षाको अवस्था सुधारोन्मुख थियो । तर त्यसको सम्पूर्ण जस संस्थागत विद्यालयहरूले मात्रै लिइरहेका थिए । सामुदायिक विद्यालयको अवस्था निकै जर्जर थियो । स्थानीय सरकारकारूपमा तुलसीपुरका जनप्रतिनिधि आएपछि भने सामुदायिक विद्यालयको अवस्था सुधारिने मात्रै होइन, शिक्षाको समग्र अवस्थामा उल्लेखनीय परिवर्तन देख्न सकिन्छ । राम्रो विषय पढ्नका लागि तुलसीपुर छाड्नुपर्ने अवस्थाको अन्त्य मात्रै भएको छैन बाहिर जिल्लाबाट उच्च शिक्षाका लागि यहाँसम्म आउनेको संख्या पनि उकालो लागेर गएको छ ।
प्राविधिक शिक्षामा जोड ः तुलसीपुर उपमहानगरपालिको प्राविधिक शिक्षामा जोड दिएको छ । प्राविधिक विषय अध्यापन गराउने शिक्षालयको संख्या पाँच वर्षमा आश्चर्यलाग्दो ढङ्गले बढेर गएको छ । प्राविधिक कार्यक्रम सञ्चालन गर्ने सामुदायिक विद्यालयलाई अनुदानस्वरूप १० लाख रूपैया दिने नीति ल्याएसँगै तुलसीपुरका सातवटा सामुदायिक विद्यालयले एकैपटक प्राविधिक विषयको अध्यापन सुरुवात गरे । आज तुलसीपुरमा जुनसुकै प्राविधिक विषय अध्ययन गर्नका लागि पनि बाहिर जानुपर्ने वाध्यताको अन्त्य भएको छ ।
आप्mनै प्राविधिक शिक्षालय र कलेज ः प्राविधिक विषयलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि पालिकाले आफ्नै प्राविधिक शिक्षालय सञ्चालन गरेको छ । सिटिईभिटीको साझेदारीमा तुलसीपुर बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहका विभिन्न पाँचवटा कार्यक्रमका साथै अन्य छोटो अवधिका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । शिक्षालयमा हाल डिप्लोमा तहका मेकानिकल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्नोलोजी, प्लान्ट साइन्स र फरेष्ट्रीका साथै प्रिडिप्लोमा तहमा आइटीको अध्यापन भइरहेको छ । यसका साथै लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको साझेदारीमा शिक्षालयले तुलसीपुर मेट्रो कलेज सञ्चालन गरेर बिएएलएलबी कार्यक्रम सञ्चालन गरिरहेको छ । पालिकाले गरेको यो कामको अहिले नेपालैभरिका स्थानीय तहले सिको गरिरहेका छन् ।
नीतिगत व्यवस्थापन ः सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्नका लागि पालिकाले कम विद्यार्थी भएका विद्यालय मर्ज गर्ने र धेरै विद्यार्थी संख्या भएका विद्यालयलाई थप विस्तार गर्ने नीति ल्याएर कार्यान्वयनमा समेत लग्यो । जसको फलस्वरूप जहाँ शिक्षक त्यहाँ विद्यार्थीको व्यवस्थापन हुन थाल्यो । प्रधानाध्यापक र शिक्षकसँग कार्यसम्पादन सम्झौता गरेर विद्यालयप्रति थप जिम्मेवार बनाउने नीति तर्जुमा भयो । यसका साथै विद्यार्थीको सिकाई अवस्था बुझ्नका लागि प्रत्येक विद्यालयमा पुगेर असर सम्बन्धि खोज समेत गरेर प्रतिवेदन सार्वजनिक गर्यो । शिक्षक सरूवा र प्रधानाध्यापक व्यवस्थापनका लागि कार्यविधि समेत निर्माणको काम सम्पन्न भएको छ । कोभिडको समयमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई उत्प्रेरित गर्नका लागि पालिकाले सबैको कोरोना विमा गरेको थियो । जसलाई पछि संघ सरकारले आफ्नो कार्यक्रम बनाएर अगाडि बढाएको थियो ।
पूर्वाधार विकासमा सहयोग ः तुलसीपुर क्षेत्रभित्र रहेका जनता क्याम्पस, राप्ती बबई क्याम्पस लगायत विभिन्न दर्जन भन्दा बढी सामुदायिक विद्यालयहरूको पूर्वाधार निर्माणमा पालिकाले विशेष ध्यान दिएको छ । विद्यार्थी संख्या धेरै भएका विद्यालयहरू विस्तारै भौतिक पूर्वाधारले सम्पन्न हुँदै गएका छन् । सामुदायिक विद्यालयमा लाइब्रेरी, कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला व्यवस्थित भएका छन् ।
स्थानीय पाठ्यक्रम निर्माण ः स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रम निर्माणको कामलाई पालिकाले अगाडि बढाएको छ । आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म स्थानीय तहको पाठ्यपुस्तक लागु गर्ने गरी निर्माणको काम सम्पन्न भएको छ । यसका साथै मगर भाषामा अध्यापनलाई पालिकाले सुरुवात गरिसकेको छ । सामुदायिक विद्यालयतर्फ विद्यार्थीलाई आकर्षित गर्नका लागि विभिन्न सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यममा अध्यापन गराइरहेका छन् ।
स्वयम्सेवक शिक्षक व्यवस्थापन ः माध्यमिक तहको अध्यापन सुरुवात गरेका तर शिक्षक व्यवस्थापन नभएका विद्यालयहरूमा ‘टिच फर नेपाल’को सहयोगमा पालिकाले विभिन्न ठाउँमा स्वयम्सेवक शिक्षक परिचालन गरेको छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरू विभिन्न १० वटा विद्यालयमा परिचालन गरिएको छ । यसले सामुदायिक विद्यालयको शिक्षा सुधारमा उल्लेख्य भूमिका खेलेको छ ।
२. स्वास्थ्य क्षेत्रमा भएका नमुना काम ः ‘स्वस्थ नगर स्वस्थ नागरिक’ भन्ने लक्ष्य बोकेर स्वास्थ्य क्षेत्रमा तुलसीपुरले सबैका लागि मोडल हुने कामहरू गरेको छ । आफ्नै अस्पताल सञ्चालनदेखि हरेक वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापनामा पालिकाले महत्वपूर्ण भूमिका वहन गरेको छ । योसँगै कोभिडको समयमा पनि पालिकाले खेलेको भूमिकाले यहाँका कैयौ नागरिकको ज्यूज्यान जोगाउन सफल भएको थियो ।
तुलसीपुर भिमसेन मेट्रो अस्पताल ः जनप्रतिनिधि आएदेखि नै अस्पताल सञ्चालनको योजना ल्याएको तुलसीपुरले नगर अस्पताल सञ्चालनमा ल्याइसकेको छ । यहाँको अस्पताल निर्माण गरेर सञ्चालनमा आउँदा सरकारले हरेक पालिकामा अस्पताल निर्माणको योजना अगाडि सारेको थियो । अस्पतालमार्फत अहिले विशेषज्ञ सेवा प्रदान भइसकेको छ । कोभिडकालमा अस्पताललाई कोभिड विशेष अस्पतालका रूपमा सञ्चालन गरिएको थियो ।
मातृशिशु सुरक्षा कार्यक्रम ः तुलसीपुरमा मातृशिशु मृत्युदरको अवस्था त्यति राम्रो थिएन । मातृशिशु मृत्युदर कम गर्नका लागि मातृशिशु प्रोत्साहन कार्यक्रम सञ्चालन गरेर सुत्केरी महिलालाई प्रोत्साहस्वरूप पाँचहजार रूपैयाँ दिन थालेपछि अहिले शुन्यमा झरेको छ । पालिकाले सुत्केरी भत्ता दिन सुुरु गरे सँगै संघ सरकारले पनि यो कार्यक्रमलाई अगाडि बढाएको छ । अहिले यो कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी घरमै पुगेर सुत्केरीको स्वास्थ्य परिक्षण समेत हुन थालेको छ ।
उज्यालो तुलसीपुर अभियानः मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाएकाहरूका लागि तुलसीपुर सहारा भएको छ । राप्ती आँखा अस्पतालको सहयोगमा उज्यालो तुलसीपुर अभियान अन्तर्गत पालिकाभित्रका मोतियाविन्दु भएकाहरूको निःशुल्क उपचार गरिएको छ । अहिले पालिकामा मोतियाविन्दु भएकाहरूको संख्या शुन्यमा झरेको छ ।
विकट वडामा एम्बुलेन्स सञ्चालन ः उपमहानगरपालिकाले विभिन्न विकट वडामा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । पालिकाभित्रका आठवटा वडामा सुलभदरमा एम्बुलेन्स सञ्चालन गरिएको हो । ज्येष्ठ नागरिक र गर्भवती महिलाहरूलाई एम्बुलेन्समा ५० प्रतिशतसम्म छुट दिने गरिएको छ । विकट वडालाई केन्द्रित गरिएका एम्बुलेन्सहरू निम्नवर्गका जनताको ज्यान जोगाउन वरदान सावित भएका छन् ।
स्वास्थ्य पूर्वाधार निर्माणमा फड्को ः तुलसीपुरका १९ वटै वडामा अहिले स्वास्थ्य केन्द्रहरू सञ्चालन भइरहेका छन् । यसैगरी नौ वटा स्वास्थ्य संस्थामा ल्यावसहितको स्वास्थ्य सेवा प्रदान गरिएको छ । राप्ती प्रादेशिक अस्पताल र राप्ती आँखा अस्पतालको सेवा प्रभावकारिताका लागि भौतिक पूर्वाधार निर्माणमा पालिकाले सहजीकरणको भूमिका वहन गरेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि २५ कोठे भवन निर्माण भएर सञ्चालनमा आइरहेको छ । आधारभूत स्वास्थ्य केन्द्र बनाउनका लागि प्रसुति सेवा सहितमा भवनहरू निर्माण भएका छन् ।
कोभिडमा नमुना काम ः तुलसीपुर उपमहानगरपालिकाले कोभिडको समयमा निर्वाह गरेको भूमिका प्रशंसनीय छ । कोभिडको समयमा जनताको ज्यान जोगाउनका लागि स्वास्थ्यकर्मीको परिचालन होस् या विरामीहरूलाई अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्स सञ्चालन गरिएको नै किन नहोस् स्थानीय सरकारका रूपमा तुलसीपुरले अब्बल भूमिका निर्वाह गरेको थियो । कोभिड संक्रमणबाट नगरलाई सुरक्षित राख्नका लागि नाकाहरूमा हेल्प डेस्क व्यवस्थापन , विदेशबाट आउने व्यक्तिहरूका लागि घरसम्म आउन निशुल्क यातायातको व्यवस्था, क्वारेन्टाइनको व्यवस्था , आइसोलेसन लगायतका कामहरू भएका थिए । कोभिडका कारण घरबाट बाहिर आउन सक्ने अवस्था नभएको समयमा पनि श्रम बैक मार्फत जनतालाई श्रमसँग जोडेर खाद्यान्न वितरणको काम गरिएको थियो ।
नागरिकलाई खोप ः तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै नागरिकलाई कोभिड विरुद्धको खोप प्रदान गरिएको छ ।
३. सार्वजनिक निजी साझेदारी विकासको मोडल ः विकासका लागि सहकार्य र साझेदारी बलियो अस्त्र हो । पालिका एक्लैले गर्न नसक्ने केही कामहरू विभिन्न निकायको सहकार्य र साझेदारीमा गर्न सकिने खालको हुन्छ । तुलसीपुरले पनि विभिन्न निकायको सहयोगमा विभिन्न खालका परियोजनाहरू पूरा गरेको छ ।
विमानस्थल सञ्चालन ः नेपाल वायुसेवा निगमसँगको सहकार्यमा तुलसीपुर उपमहानगरपालिकाले बन्द अवस्थामा रहेको तुलसीपुर विमानस्थल सञ्चालन गरेको छ । दैनिक दुईपटकसम्म विमान सेवा सञ्चालन हुँदा यहाँका जनताले निक्कै सहजता महसुस गरेका छन् । वायुसेवा निगमसँगको सहकार्यमा विमान सेवा सञ्चालन गर्ने तुलसीपुरको अभ्यासलाई अहिले विभिन्न पालिकाहरूले अनुसरण गरिरहेका छन् ।
तरकारी बजार र अन्य संरचना ः स्थानीय जनतासँगको सहकार्यमा तुलसीपुर उपमहानगरपालिकाले विभिन्न नमुना कामहरू सम्पन्न गरेको छ । कृषकहरूले समेत आफ्ना उत्पादन विक्री गर्नसक्ने गरी निर्माण गरिएको तुलसीपुर फलफुल तथा कृषि उपज बजार केन्द्र एउटा नमुना हो । तरकारी व्यवसायीसँगको साझेदारीमा निर्माण भएको यो बजार अहिले कैयौ पालिकाका लागि सिकाईको बलियो माध्यम भएको छ । योसँगै स्थानीय व्यवसायीको सहयोगमा निर्माण भएको अटो भिलेज पनि साझेदारीमा गरिएको नमुना काम हो । अव्यवस्थितरूपमा रहेको अटो भिलेजलाई सरकारी निजी साझेदारीमा निर्माण गरेपछि अहिले व्यवस्थितरूपमा सञ्चालन भइरहेको छ । योसँगै नगर विकास कोषसँगको साझेदारीमा निर्माण भएको तुलसीपुर बसपार्क पनि यहाँको नमुना काम हो ।
उद्यमशिलता विकास र युवा रोजगारी ः सीप नभएकालाई सीप र सीप सिकेकालाई उद्यमशिलता विकासका लागि तुलसीपुरले निर्वाह गरोको भूमिका निकै महत्वपूर्ण रहेको छ । पालिकाले करिब एक हजारलाई सीप प्रदान गरेको छ भने ५०० भन्दा बढी विभिन्न पेसा,व्यवसायमा संलग्न रहेका छन् । अहिले पालिकाभित्र नगरपालिकाको सहयोगमा युवाहरूले विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् । उद्यमशिलताको विकाससँग पालिकाले पुराना कला, कौशल र संस्कृतिको जगेर्नामा जोडल समेत दिएको छ ।
४. आर्थिक विकासको मोडलः आर्थिक विकास समग्र नगरको विकासकारूपमा रहेको हुन्छ । आर्थिक विकासका लागि नगरले विभिन्न मोडलमा काम गर्दा स्थानीय अर्थतन्त्रमा त्यसले बलियो योगदान गरेको छ । आर्थिक विकासमा अनेकानेक मोडलहरूले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै विभिन्न कुरामा आत्मनिर्भर समेत बनाईरहेको छ । तुलसीपुरको आर्थिक विकास सम्भावनका बारेमा वृहत अध्ययन र छलफल समेत भएको छ ।
खाद्यान्नमा आत्मनिर्भर ः तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आउँदा खाद्यान्नमा ८० प्रतिशत मात्रै आत्मनिर्भर रहेको थियो । तर पालिकाले विभिन्न नीति ल्याएर किसानहरूलाई उत्प्रेरित गरेपछि अहिले खाद्यान्नमा आत्मनिर्भर मात्रै होईन बिक्री गर्न सक्ने अवस्थामा आएको छ । तरकारीमा पनि आत्मनिर्भर भएर बाहिरबाट आउने तरकारी रोकिएको छ । किसानहरूलाई प्रत्यक्षहरूपमा अनुदान दिने, कृषि उपकरण दिने, सिंचाइ र विद्युत व्यवस्थापन गरिदिने लगायतका कार्यक्रमहरूले किसानहरूलाई उत्प्रेरित गरेको थियो ।
किसानप्रतिको गौरवः किसानहरूलाई आफ्नो पेशाप्रतिको गौरव बृद्धि गर्न पालिकाले व्यावसायिक किसानहरूलाई परिचय पत्र वितरण गरेको थियो । यसका साथै उत्कृष्ट काम गर्ने किसानहरूलाई उत्प्रेरित गर्नका लागि सम्मान र पुरस्कृत गर्ने कार्यक्रम समेत गरिएको थियो । यसले पनि किसानहरूलाई पेशाप्रति गौरब हुनुका साथै उत्पादनशील काममा केन्द्रित हुनका लागि निक्कै मदत गरेको थियो ।
बजार व्यवस्थापन ः किसानहरूलाई आफूले उत्पादन गरेका खाद्यान्न, तरकारी तथा फलफुल वितरणका लागि पालिकाले बजारको व्यवस्था गरेको छ । यसका साथै किसानहरूले उत्पादन गरेको उपजहरूको उचित बजार पाउन नसकेको अवस्थामा भण्डारण गर्नका लागि भण्डारण केन्द्रहरूको समेत निर्माण गरिएको छ । यसले किसानहरूलाई उत्पादनमा केन्द्रित हुनका लागि निक्कै सहज भएको छ ।
५ सामाजिक विकासको मोडलः सामाजिकरूपमा तुलसीपुरलाई सुसंस्कृत, सभ्य र सबैलाई सरकारप्रतिको अपनत्व महसुस गराउनका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरू अहिले नेपालमै मोडलकारूपमा स्थापित भएको छ । यसले समाजलाई गतिशील वनाउन र सबै नागरिकलाई राज्य मेरा लागि हो भन्ने भावनको विकास गराउन निक्कै मद्दत गरेको छ ।
खरको छानो विस्थापन ः विपन्न नागरिकका लागि सुरक्षित वसोवासका लागि उपमहानगरपालिकाले खरको छानोमुक्त उपमहानगर वनाउन सबै नागरिकको घरमा टिनको व्यवस्था गरेको छ । स्थानीय सरकारले नेतृत्व गर्ने वित्तिकै सञ्चालन गरिएको यो कार्यक्रमलाई संघ सरकारले अनुसरण गरेर सञ्चालन गरिरहेको छ । पालिकाभित्र अहिले खरको छानो विस्थापित भइसकेको छ ।
स्मार्ट छोरी कार्यक्रम ः छोरीहरूलाई सशक्त बनाउनका लागि पालिकाले स्मार्ट छोरी कार्यक्रममार्फत विभिन्न सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । लैंगिक विभेद कम गर्नका लागि पालिकाले छोरी जन्मने वित्तिकै बैक खातामा पैसा जम्मा गर्ने कार्यक्रम अगाडि सारेको छ । अहिले कैयौं छोरीहरूको जन्मने वित्तिकै बैक खातामा पैसा जम्मा भएको छ । यसका साथै सामुदायिक विद्यालयमा छात्रा उपस्थितिलाई कम हुन नदिन स्यानिटरी प्याड समेत वितरण गरिएको थियो । स्थानीय सरकारले सञ्चालन गरेको यो कार्यक्रमलाई पछि संघ सरकारले अनुसरण गरेर देशैभर लागु गरेको छ ।
निशुल्क प्राविधिक शिक्षा ः सामुदायिक विद्यालयबाट एसईई गरेका छोरीहरूलाई प्राविधिक शिक्षा निशुल्करूपमा अध्यापन गराउने नीति अख्तियार गरिएको छ । तुलसीपुर नेपालकै पहिलो पालिका हो जहाँ छोरीहरूले निशुल्करूपमा प्राविधिक विषयको अध्ययन गर्ने गरेका छन् । यो कार्यक्रम लागु भएसँगै अहिले पालिकामा प्राविधिक विषय अध्यापन गराउनेको संख्या उल्लेख्य ढङ्गले वढिरहेको छ ।
ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र ः ज्येष्ठ नागरिकहरूलाई दिनभर विभिन्न छलफल गर्न र रमाउनका लागि पालिकाले विभिन्न वडामा ज्येष्ठ नागकिर दिवा सेवा केन्द्र स्थापना गरेको छ । यसका साथै पालिका भित्रका सबै शवदाहगृह स्थलमा सोलार वत्ती जडानका साथै शवदाह गृहको समेत निर्माण गरिएको छ । ज्येष्ठ नागरिकलाई न्यानो कपडा र पोसिलो खानेकुरा वितरणले पनि ज्येष्ठ नागरिकहरूलाई राज्यको सुविधाको आभाष गराएको छ ।
६. सुशासनमा सुधार ः तुलसीपुर उपमहानगरपालिकालाई सुशासनयुक्त उपमहानगरको रूपमा स्थापित गर्नका लागि निक्कै महत्वपूर्ण कामहरू भएका छन् । जनताले सहज सेवा प्राप्तीका लागि प्रविधिको प्रयोगमा विशेष ध्यान दिइएको छ ।
क्यासलेस उपमहानगरः तुलसीपुर उपमहानगरपालिकालाई क्यासलेस बनाइएको छ। आर्थिक पारदर्शिता र सेवामा सहजताका लागि उपमहानगरपालिकाभित्र नै बैंकको शाखा स्थापना गरिएको छ ।
अनलाईन माध्यमबाट सेवा ः अनलाईनमार्फत घटना दर्ता गर्ने तुलसीपुर नेपालकै अग्रणी उपमहानगरपालिका हो । अनलाईनबाट प्रभावकारी सेवा प्रदान गरेवापत उपमहानगरपालिका सम्मानित समेत भइसकेको छ । यसका साथै हरेक वडाबाट अनलाईन मार्फत राजस्व संकलन गरेर जनतालाई सहजता प्रदान गरिएको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै उपमहानगरपालिकाले घरनक्सा पास गर्ने कार्यसमेत अनलाईनबाट सुरुवात गरेको छ ।
हेल्लो तुलसीपुर टोल फ्रि ः स्थानीय जनताले प्रत्यक्षरूपमा आफ्ना गुनासाहरू राख्नका लागि सहजता होस् भनेर तुलसीपुरले हेल्लो तुलसीपुर अभियान सुरुवात गरेको छ । जनताले पालिकासँगका विभिन्न गुनासाहरू टोलफ्रि नम्बरमार्फत राखेर समाधान गर्ने कार्य गरिरहेका छन् । जनतालाई प्रत्यक्षरूपमा आफ्ना गुनासा सम्बोधन गर्ने व्यवस्थापनका कारण सुशासन कायम गर्न सहजता भएको छ ।
७. शहरी सुरक्षा मोडलः तुलसीपुर शहर सुरक्षाका दृष्टिले निकै संवेदनशील अवस्थामा थियो । यहाँ हुने गरेका अपराधका घटनाहरूलाई स्थानीय नागरिक मात्रै त्रसित थिएनन् बाहिरबाट आउने नागरिकहरूलाई समेत तुलसीपुरमा बास बस्नुहुँदैन भन्ने खालको मनोवृत्ति थियो । यो बीचमा उपमहानगरपालिकाले खेलेको भूमिकाले तुलसीपुरलाई सुरक्षित केन्द्रका रूपमा स्थापित गरेको छ।
भौतिक संरचना निर्माणमा भूमिका ः प्रादेशक प्रहरी कार्यालयलाई तुलसीपुरबाट बाहिर जान नदिनका लागि डिआईजीको कार्यालय भवन निर्माणमा तुलसीपुरले नेतृत्व लिएको थियो । भौतिक संरचना निर्माणका लागि सबै जिम्मेवारी लिएपछि प्रादेशिक प्रहरी कार्यालय तुलसीपुरबाट स्थानान्तरण हुन नसकेको हो । यसका साथै इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाका विभिन्न आवश्यक पर्ने भौतिक संरचना निर्माणका लागि पनि पालिकाले अभिभभावको भूमिका बहन गरेको थियो ।
सिसिटिभी जडान ः तुलसीपुर बजारलाई केन्द्रमा राखेर सिसिटिभी जडानको काम पनि पालिकाले गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघको सहयोगमा पालिकाले विभिन्न महत्वपूर्ण ठाउँमा सिसिटिभी जडान गरेको हो । यसको नियमनको जिम्मा इलाका प्रहरी कार्यालयलाई प्रदान गरिएको छ । यसका साथै सडक वत्ती जडानलाई पनि पालिकाले प्राथमिकतामा राखेको छ ।
दमकल सेवाको प्रभावकारिता ः तुलसीपुरले दमकल सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको छ । यहाँ हुने ठूला खालका आगलागीहरू नियन्त्रणमा आइरहेका छन् । यसका साथै आगलागी नियन्त्रणका लागि काम गर्ने कर्मचारीहरूलाई तालिम प्रदान गरेर अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन लागिएको छ ।
८. विकास प्राधिकरण मोडल ः भौतिक विकासका लागि निर्माण गरिएको तुलसीपुर पूर्वाधार विकास प्राधिकरणले तुलसीपुरको भौतिक विकासलाई निक्कै आशालाग्दो तवरले अगाडि बढाइरहेको छ । प्राधिकरणले विभिन्न विकास निर्माणका उपकरण खरीद गरेर विकासको गतिलाई जनताको अपेक्षा अनुसार अगाडि बढाइएको छ ।
कालोपत्रेमा ऐतिहासिक उपलब्धि ः सडक कालोपत्रका लागि तुलसीपुर विकास प्राधिकरणले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । तुलसीपुरमा बिरलै देखिने चिल्ला सडकहरू अहिले सर्वत्र देखिन थालेका छन् । तुलसीपुरले विकास प्राधिकरणमार्फत करिब ६० किलोमिटर सडक सञ्जाल निर्माण गरेको छ । अन्य ४० किलोमिटरभन्दा बढी सडक कालोपत्रेका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ व्यवस्थापनको कार्य भइरहेको छ।
हरेक गाउँमा सडक ः तुलसीपुर विकास प्राधिकरणका उपकरणमार्फत अहिले हरेक गाउँमा सडक सञ्जाल पुगेको छ । सडकको अनुहार समेत नदेखेका कैयांै गाउँहरू सडक सञ्जालले जोडिएका छन् । अहिले पालिकाभित्रमा १६९.२ किलोमिटर ग्रामेलका साथै १६८. ७६ किलोमिटर नयाँ ट्रयाक खोल्ने काम भएको छ ।
९. पर्यटन विकासको मोडलः तुलसीपुरलाई पर्यटन विकासको केन्द्र बनाउनका लागि पर्यटन विकासको नयाँ मोडलको सुत्रपात गरिएको छ । तुलसीपुरका विभिन्न पर्यटकीय स्थलहरूको पहिचान गरेर पर्यटन भित्र्याउनका लागि घुम्न जाउँ तुलसीपुर अभियान सञ्चालन गरिएको थियो । बृहत तयारीका साथमा सञ्चालन गरिएको यस अभियानले तुलसीपुरलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्न बलियो भूमिका बहन गरेको थियो । पर्यटन विकासका लागि तुलसीपुरले विभिन्न कार्यक्रम अगाडि सारेको छ ।
पर्यटन सडक निर्माण ः यस क्षेत्रका विभिन्न पर्यटकीयस्थलसम्म पुग्नका लागि पर्यटन सडक निर्माणलाई तुलसीपुरले प्राथमिकतामा राखेको छ । तुलसीपुरको राप्ती शान्ति उद्यानसम्म पुग्नका लागि सबैतिरबाट सडक कालोपत्रेका साथै चमेरे गुफासम्मपुग्नकालागि पर्यटकीय सडक निर्माणको कामले गति लिइरहेको छ ।
होमस्टे निर्माण ः यहाँका विभिन्न जातजाती, धर्मसंस्कृति र सम्प्रदायमा आधारित विभिन्न होमस्टे सञ्चालनमा ल्याइएको छ । होमस्टे निर्माणले ग्रामिण भेगका जनतालाई आत्मनिर्भर बनाउनुका साथै पर्यटकीय विकासका लागि समेत महत्वपूर्ण भुमिका बहन भएको छ ।
पर्यटन पूर्वाधार निर्माण ः तुलसीपुरका विभिन्न पर्यटकीयस्थलहरू अहिले सुविधासम्पन्न हुँदै गएका छन् । पूर्वाधार निर्माणसँगै घुम्न आउने पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । जनप्रतिनिधि आइसकेपछि अहिले राप्ती शान्ति उद्यान होस् या चमेरे गुफा नै किन नहोस् पूर्वाधार निर्माणका दृष्टिले निक्कै अब्बल बन्दै गएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको कमलपोखरीमा बृहत्तर पार्क निर्माणको काम समेत अगाडि बढिसकेको छ । अन्य साना खालका पूर्वाधार निर्माण गर्नका पनि पालिको विशेष ध्यान दिएको छ । पर्यटन विकासका लागि तुलसीपुरले सातवटा नयाँ पार्कहरू निर्माण गरेको छ ।

१०. खेलकुद विकासको नमुना ः खेलकुल समग्र अवस्थामा परिवर्तन ल्याउनका लागि तुलसीपुरले खेलकुद विकासका अनेकानेक मोडलहरूलाई अगाडि बढाएको छ । पालिकाभित्र अहिले खेलकुदका गतिविधिहरू नियमितरूपमा हुुनका साथै संरचनागत विकासमा पनि निक्कै टेवा पुगेको छ । तुलसीपुर उपमहानगरपालिकाले अभिभावकको भूमिका बहन गरेकै कारण राष्ट्रियस्तरको टेबलटेनिस कभर्ड हलका साथै बेलझुण्डीमा रंगशाला समेत निर्माण भएको छ । तुलसीपुरले खेलको विकासका लागि निर्वाह गरेको भूमिकालाई मूल्यांकन गरेर यसलाई मुलुकको पहिलो स्पोर्ट सिटीका रूपमा घोषणा समेत गरिसकेको छ ।
मेयरकपको सुरुवात ः नेपालमै तुलसीपुर उपमहानगरपालिकाले मेयर कपको सुरुवात गरेको हो । पालिकाको अनुसरण गर्दै अन्य पालिकाहरूले पनि यसको सुरुवात गरेका छन् । तुलसीपुरको बबईलाई पर्यटनसँग जोड्नका लागि विच भलिवल गेमको समेत आयोजना गरिएको थियो भने अन्य खेलहरूसमेत नियमितरूपमा भइरहेका छन् ।
मैदान निर्माणः यस क्षेत्रमा खेलकुदका गतिविधिहरू नियमितरूपमा सञ्चालन गर्नका लागि एकवडा एक खेलमैदान निर्माणको काम अगाडि बढेको छ । यस क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमकेमा मदन भण्डारी रंगशालाको निर्माण समेत भइसकेको छ । यस बीचमा १० वटा खेलकुद मैदानहरू निर्माण भएका छन् ।
योगसिटी निर्माणः तुलसीपुरलाई योगसिटी बनाउनका लागि विभिन्न ठाउँमा योगहलहरू निर्माण भएका छन् । तुलसीपुरका करिब ५० ठाउँमा यस्ता योगहलहरू निर्माण भएका हुन् । राष्ट्रियस्तरको योगसम्बन्धी कार्यक्रम सञ्चालन पश्चात तुलसीपुर योगमय बन्दै गएको छ । योगसिटी निर्माणका लागि तुलसीपुरले बृहत्तर भूमिका बहन गरेको छ ।
११. दीर्घकालीन नीति र योजना ः तुलसीपुरलाई आगामी दिनमा व्यवस्थित सहरका रूपमा कसरी विकास गर्न सकिन्छ भनेर दीर्घकालीन नीति र योजना तर्जुमा गरिएको छ । पालिकाले तुलसीपुरको २० वर्षे दीर्घकालीन रणनीतिक तथा आवधिक योजना निर्माण गरेको छ । यसका साथै सडक पूर्वाधारको विकासका लागि सडक यातायात गुरुयोजना समेत निर्माण गरिएको छ ।
सडक पूर्वाधार विकास ः तुलसीपुरको सडकलाई कसरी व्यवस्थित वनाउने भन्नेबारेमा सडक पूर्वाधार गुरुयोजना निर्माण गरिएको छ । यही गुरुयोजनाका आधारमा पछिल्लो समय कम्तिमा आठ मिटर चौडाई रहेका सडकहरू निर्माण भइरहेका छन् । यसले भोलिको तुलसीपुरलाई व्यवस्थित बनाउनका लागि निक्कै मद्दत गरेको छ ।
सुधार सम्बन्धि नीति र योजना ः तुलसीपुरको राजश्व सुधारका लागि राजश्य सुधार योजना निर्माण गरिएको छ । यसमा साथै खर्च योजना निर्माणका लागि मध्यमकालिन खर्च संरचना समेत निर्माण गरिएको छ । यसका साथै तुलसीपुरको प्रतिष्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण समेत गरिएको छ ।
विभिन्न ऐन, कानुन र कार्यविधि ः स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारका आधारमा तुलसीपुर उपमहानगरपालिकाले हरेक कामलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनका लागि विभिन्न ऐन, कानुन र कार्यविधि निर्माणको कामलाई निकै तिब्रता दिएको छ । स्थानीय आवश्यकताको आधारमा पनि पालिकाले विभिन्न कानुनको निर्माणमा तदारुकता देखाएको छ । पालिकाले हालसम्म १२७ वटा कानुन निर्माण गरेर पालिकाका विभिन्न कामलाई व्यवस्थित र वैधानिक ढङ्गले अगाडि बढाइरहेको छ ।
१२. समावेशी विकासको मोडल ः तुलसीपुर सबैका लागि सधैका लागि भन्ने मूल ध्येयका साथमा यसलाई समावेशी विकासको मोडलले अगाडि बढाइएको छ । महिला, बालबालिका, दलित,जनजाति, ज्येष्ठ नागरिक सबैले नगरपालिकाप्रति अपनत्व महसुस गर्ने गरी विभिन्न योजना अगाडि बढाइएको छ ।
बालमैत्री घोषणाः तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री स्थानीय सरकारका रूपमा स्थापित गर्ने कार्य विस्तारै अगाडि बढिरहेको छ । उपमहानगरपालिकाको वडा नम्बर २ र ६ बालमैत्री वडाका रूपमा घोषणा भएका छन् भने अन्य वडाहरू पनि घोषणाको तयारीमा लागिरहेका छन् । यसका साथै तुलसीपुरलाई बालश्रममुक्त पालिकाका रूपमा घोषणा गरेर त्यसको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिइएको छ । हरेक वडामा वडा बाल सञ्जाल समेत गठन गरिएको छ।
सडक मानवको उद्दार ः तुलसीपुर उपमहानगरपालिकालाई सडक मानवमुक्त बनाउनका लागि पालिकाले कार्ययोजना अगाडि बढाएको छ । अहिले पालिका सडक मानवमुक्त भएको छ । यसका लागि पालिकाले तुलसीपुरमा मानवसेवा आश्रम सञ्चालनमा पहल गरेर सहयोग समेत गरेको छ ।
सुरक्षा आवास सञ्चालन ः हिंसामा परेका महिलाहरूको उद्धारका लागि तुलसीपुरले सुरक्षा आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । आवास निर्माण भएसँगै हिसांपीडित महिलाहरू त्यहाँ बसेर न्यायका लागि लडिरहेका छन् । यस्ता हिंसापीडित महिलाहरूको पालिकाले कानूनी लडार्इं समेत लडिदिने गरेको छ ।
दलितहरूलाई सम्मान ः जातीय विभेदको अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडिहरूलाई सम्मान गरिरहेको छ । यस्ता जोडिहरूको सम्मानले जातीय विभेद अन्त्यका लागि महत्वपूर्ण भूमिका वहन भएको छ । सरकारले हामीलाई सम्मान गरेको छ भनेर उनीहरूको कार्यलाई वैधानिकता दिने काम भएको छ ।
व्यवस्थित न्यायिक समिति ः न्याय सम्पादनमा तुलसीपुर उपमहानगरपालिका अब्बल सावित भएको छ । इजलास स्थापना, मेलमिलापकर्ता व्यवस्थापन लगायतका अनेकानेक कुराहरूले न्यायिक समिति व्यवस्थित हुँदै आएको छ । यसका साथै न्यायसम्पादन प्रक्रियालाई सहज ढङ्गले टुङ्गाउनका लागि पनि पालिकाले जनशक्ति व्यवस्थापन गर्न सफल भएको छ ।
छोरीहरूलाई साईकल वितरण ः भौगोलिक कारणले गर्दा विद्यालय जानबाट वञ्चित रहेका तुलसीपुर उपमहानगरपालिकाका छोरीहरूलाई विद्यालय जान सहजताका लागि साइकल वितरण गरिएको छ । तुलसीपुरमा करिब दुईसय छात्राहरूलाई साइकल वितरण गरिएको हो ।
१३. सञ्चारको विकासमा प्रतिवद्ध ः सञ्चार राज्यको तेस्रो आँखा भएको हुँदा यसलाई जोगाएर राख्नु सबैको दायित्व हो । त्यसका लागि तुलसीपुरले सञ्चार माध्यमलाई विभिन्न माध्यमबाट अनुदान सहयोग प्रदान गरिरहेको छ ।
सामुदायिक रेडियोलाई सहयोग ः तुलसीपुर क्षेत्रमा रहेका सामुदायिक रेडियोहरू चट्याङ्गका कारण क्षति भएपछि त्यसको सञ्चालनका लागि सामुदायिक रेडियो प्रसारक संघको सिफारिसमा पालिकाले आर्थिक सहयोग गरेपश्चात रेडियोहरू सञ्चालनमा आएका थिए ।
लोककल्याणकारी विज्ञापनः सञ्चार माध्यमलाई लामो समयसम्म टिकाउनका लागि लोककल्याणकारी विज्ञापन दिन सुरु गरेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईनलाई लोककल्याणकारी विज्ञापन वितरण गरेर सञ्चार माध्यमको विकासप्रतिको जिम्मेवारी निर्वाह गरेको छ ।

१४. अन्य हाम्रा उपलब्धिपूर्ण कार्यहरू ः समृद्ध तुलसीपुर निर्माणको अभियानमा उपमहानगरपालिका निरन्तर लागिरहेको छ । यो अभियानलाई सार्थक तुल्याउनका लागि अन्य विभिन्न पक्षसँग समेत काम भइरहेको छ ।
बजार व्यवस्थापन ः उपभोक्ताहरूको अधिकार सुनिश्चितताका लागि बजार अनुगमन र आवश्यक नियमनको काम निरन्तर भइरहेका छ । बजारमा चर्को मूल्य रोक्न मात्रै होइन, स्वास्थ्यका लागि असर गर्ने खानेकुराहरूको अनुगमन गरेर नष्ट गर्ने काम पनि भइरहेको छ । बजारमा मनोमानी ढङ्गले व्यवसाय गर्ने व्यवसायीहरूलाई दुरुत्साहन गर्ने कार्यमा पालिकाले निरन्तर भूमिका बहन गरेको छ ।
स्रोत नक्सा तयार ः तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडाहरूको स्रोत नक्सा तयार गरिएको छ भने उपमहानगरपालिका भित्र १८० टे«स नक्सा तयार पार्ने काम अगाडि बढिरहेको छ । तुलसीपुरका मुख्य बस्तीहरू देखिने गरी प्रशासनिक नक्सा समेत तयार गरिएको छ ।
ग्रामीण विद्युतीकरणमा जोड ः तुलसीपुरको पुरै क्षेत्रलाई विद्युतीकरणसँग जोड्नका लागि पछिल्लो समय २० किलोटिरसम्म विद्युत विस्तार गरिएको छ । विद्युत विस्तार भएसँगै तुलसीपुर क्षेत्रका सबै ठाउँहरू विद्युतसँग जोडिएका छन् ।
छिल्लीकोटमा केवलकार ः छिल्लीकोटको पर्यटकीय विकासका लागि केवलकार निर्माणको कामलाई अगाडि बढाइएको छ । यसबीचमा डिपिआर निर्माणको काम सम्पन्न भएर निर्माणका लागि विभिन्न निकायसँग साझेदारीको प्रस्तावना समेत अगाडि बढाइसकिएको छ ।
नगर प्रोफाईल निर्माण ः तुलसीपुरको व्यवस्थित विकासका लागि नगर प्रोफाईल निर्माण गरिएको छ । विभिन्न सूचकका दृष्टिले तुलसीपुर कस्तो रहेको छ भन्ने कुरालाई प्रोफाईलले समेटेको छ । हरेक जनताको घरदैलोमा पुगेर बनाइएको प्रोफाईलले यस क्षेत्रको समग्र अवस्थालाई बस्तुनिष्ट ढङ्गले चित्रण गरेको छ । हामी कहाँ छौं र अब के गर्नुपर्ने छ भन्ने कुरालाई यसले समेटेको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..