मधेस प्रदेशमा निर्वाचन केन्द्रित प्रचार भेला, मधेसमा जनलहर आएको एमाले प्रचार विभाग प्रमुख गुरुङको भनाई

बारा । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रेस चौतारी नेपाल मधेस प्रदेशले रणनीतिक भेलाको आयोजना गरेको छ । नेकपा (एमाले) का उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङको प्रमुख आथित्यतामा चौतारीले सो भेलाको आयोजना गरेको हो । भेलालाई सम्वोधन गर्र्दै प्रचार विभाग प्रमुख गुरुङले देशभर एमालेमा देखिएको जनलहर जनमुखी कामको प्रतिफल रहेको बताउनुभयो ।
उहाँले देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै रहेको भन्दै आमनागरिकमा पनि त्यहि बुझाई रहेको बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले गरेका कामलाई जनताले रुचाएको र फेरी पनि एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने सन्देश जनलहरले बोकेको बताउनुभयो। एमालेलाई कमजोर देखाउन खोजिएको मधेस प्रदेशमै अहिले पार्टी बलियो अवस्थामा पुगेको उहाँको भनाई थियो ।
कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमाले नेतृत्वको सरकारले गरेका काम मधेसका हरेक नागरिकले बुझ्न जरुरी रहेको भन्दै स्थानिय निर्वाचनमा जनता केन्द्रीत भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रेस चौतारी नेपाल बाराको संयोजनमा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रचार विभागका सदस्य प्रचार विभागका सदस्यहरु गगन विष्ट, महेश दास, चेतन अधिकारी, केन्द्रीय महासचिव हिरामान लामा, केन्द्रीय सचिव कमलकुमार उपाध्याय, केन्द्रीय सदस्य श्वेता सिन्हा, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाललगायतले आगामी निर्वाचनमा चौतारी र एमालेको रणनीति तथा एजेण्डा जनमुखी हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रम मधेस प्रदेश कमिटीका अध्यक्ष फणि महतको अध्यक्षतमा सम्पन्न भएको थियो ।