१५ मंसिर २०७९, बिहीबार

प्रथम विधान महाधिवेशन शब्दचित्र

प्रकाशित मिति :  ७ मंसिर २०७८, मंगलवार १४:५७


सूर्य थापा

सन्दर्भ
नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा भव्यतापूर्वक सम्पन्न भएको छ । अध्यादेशको षड्यन्त्रद्वारा रचित चक्रव्य“हअन्तर्गत नेकपा (एमाले) लाई २० प्रतिशत केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा हस्ताक्षर सनाखत गरी विभाजन गरिएको तथा देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको घेराबन्दी जारी रहेको परिवेशमा आयोजित यस विधान महाधिवेशनको आयोजना स्वयम्मा एउटा महत्वपूर्ण परिघटना बन्यो । विभाजनकारी षड्यन्त्रहरूले नेकपा (एमाले) कमजोर नहुने तथा सिङ्गो पार्टीपङ्क्ति विभाजनविरुद्ध एकजुट छ भन्ने सन्देश प्रवाह गर्न यो विधान अधिवेशन सानदार रूपमा सफल भएको छ ।
विगत साढे सात दशक लामो अवधिमा नेपालका राजनीतिक दलहरूले नीति, विधि र विधानका बारेमा यस ढङ्गले कहिल्यै अलग फोरम वा मञ्चमा छलफल गरी यसरी निष्कर्षमा पुग्ने अभ्यास गरेका थिएनन् । नीति, विधान र नेतृत्वमा एकसाथ एउटै अवसर र मञ्चमा छलफल र निर्णय गर्नुपर्ने बाध्यताका कारण नेतृत्व चयनको विषय नीति र विधिसम्बन्धी छलफल र निष्कर्षमा हाबी हुने समस्या रहँदै आएको थियो । अझ गुटबन्दी र निर्वाचनको चपेटामा नीति र विधान पर्ने तथा एक ढङ्गले भन्नुपर्दा राम्रो छलफल नै नहुने समस्या रहिआएको थियोे । यस स्थितिलाई अन्त्य गर्न २०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौँमा आयोजित नवौँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमा स्पष्ट रूपमा विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन दुईखाले महाधिवेशन गर्ने वैधानिक व्यवस्था गरिएको थियो ।

तदनुरूप नै २०७८ साउन र भदौमा गर्ने कोसिस गर्दागर्दै असोज १५–१७ गते मात्रै प्रथम विधान महाधिवेशन आयोजना भयो र एउटा नौलो अभ्यास एवम् सार्थक आयोजनाका रूपमा सम्पन्न भयो । तीन दिनसम्म ललितपुर जिल्लाको सातदोबाटो–गोदावरी नगर क्षेत्र र त्यहाँस्थित सम्मेलन केन्द्र नेकपा एमालेमय रह्यो । यसको सिँगार, सयौँ स्वागतद्वारहरू र १० हजार हाराहारी मानिसहरू ओसारपसार गर्न सवारीसाधनहरूको भिडभाडले यस क्षेत्रमै एउटा विशेष चहलपहल बन्यो । अझ उल्लेखनीय पक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको, उहाँकै नेतृत्वको सरकारले निर्माण गरेको र उहाँले नै उद्घाटन गर्नुभएको यस सम्मेलन केन्द्रमा नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन पहिलोपटक आयोजना भयो । नवनिर्मित सम्मेलन केन्द्रको हलमै पहिलो इभेन्टका रूपमा यही विधान महाधिवेशन आयोजना भयो । अत्यन्त आकर्षक ढङ्गले सजाइएको र चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको सजावटको झझल्को मिल्ने यस आयोजनासँगै यति ठूलो महाधिवेशन÷जनमघट आयोजना गर्न सकिने पूर्वाधार निर्माण भएको जानकारीसमेत सिङ्गो देशलाई गराउन सफलता मिलेको छ ।

पहिलो दिन ः उद्घाटन र दस्तावेजको प्रस्तुति

प्रथम विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू १९६, केन्द्रीय आयोग तथा परिषद् २१३, केन्द्रीय विभाग ३१०, जनसङ्गठनहरू २२०, प्रदेश कमिटी २,२७१, उपत्यका विशेष कमिटी १९८, समन्पर्क समन्वय कमिटी ३६०, जिल्ला कमिटीहरूका पदाधिकारी ३६४, प्रवास क्षेत्र १२६, स्थानीय प्रदेश र सङ्घका निर्वाचित जनप्रतिनिधिहरू ९३४, एकता प्रक्रियाबाट समायोजन ५३२ र मनोनित ५६६ गरी क“ल जम्मा ६,३४७ जना प्रतिनिधिहरूको सहभागिता थियो । सम्मेलन केन्द्रभित्र र परिसरमा समेत स्वयम्सेवकहरू, सुरक्षाकर्मीहरू, सञ्चारकर्मीहरू र अन्य गरी १० हजार हाराहारीमा मानिसहरू सक्रिय रहे । यो आयोजना आफैँमा एउटा भव्य जनसभा र विशाल प्रशिक्षण कार्यक्रम बन्न पुग्यो । देशविदेशबाट सहभागी प्रतिनिधिहरूको उपस्थितिले नेकपा (एमाले) को खास शक्ति, सामथ्र्य र हैसियत त्यहाँ प्रदर्शन भइरहेको अनुभूति हुन्थ्यो ।

यति विशाल उपस्थितिका बीच निर्धारित समयभन्दा करिब एक घण्टा लामो पर्खाइका बीच महाधिवेशन उद्घाटन सुसम्पन्न भयो । देशभरिका सयौँ सञ्चारमाध्यमहरूले प्रत्यक्ष प्रसारण गरी करोडौँ नेपालीले एकसाथ हेर्न सफल उक्त क्षण साँच्चिकै विशेष थियो । सम्मेलन केन्द्रको मुख्य हलमा उपस्थित ३ हजार तथा दायाँ र बायाँपट्टिका सहायक दुईवटा हलहरूमा १६ सय गरी ३ हजार ३ सयभन्दा बढीको सङ्ख्याबीच खचाखच उपस्थितिमा विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले १ः२५ बजे पानसमा बत्ती बालेर गर्नुभयो । त्यस अवसरमा उहाँले मोबाइलको बटन थिचेर विधान महाधिवेशनको लोगो सार्वजनिक पनि गर्नुभयो । उक्त दिन ज्येष्ठ नागरिक दिवससमेत हुनाले ‘समृद्ध नेपाल ः सुखी नेपाली ः पार्ट अफ होप’ भिडियोसहित बालिका अश्विनी भेटवालले पार्टी अध्यक्ष कमरेडमार्फत सम्पूर्ण ज्येष्ठ नागरिकहरूप्रति समर्पित शुभकामना कोसेलीका रूपमा ‘सेल्रिबे्रट’ गर्नुभयो ।

उद्घाटन सत्रको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सुरुवात गर्नुभयो र यस आयोजनाका बारेमा सङ्क्षिप्त रूपमा बताउनुभयो । राष्ट्रिय गान, सहिदहरूप्रति श्रद्धाञ्जली र युजे पोत्तरको प्रसिद्ध कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत गुञ्जायमान पार्दै गरिएको उद्घाटनमा उपस्थित प्रतिनिधिहरू हलमा बेग्लै उत्साह, उमङ्ग र ऊर्जायुक्त भावभङ्गीमा सक्रिय मनमस्तिष्कका साथ हुनुहुन्थ्यो । पार्टी अध्यक्ष, महासचिव, पदाधिकारीहरू, केन्द्रीय आयोग र निकायका अध्यक्षहरू र स्थायी कमिटीका सदस्यहरू मञ्चमा आसीन रहनुभएको उद्घाटन सत्रको विशेष क्षणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सारगर्भित उद्घाटन मन्तव्य राख्नुभयो । उहाँले नेकपा (एमाले) लाई विभाजन गर्ने देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र सिङ्गो पार्टीपङ्क्तिको जागरुकता, सचेतना र सक्रियताले निस्तेज पारिएको र पार्टी नयाँ ऊर्जाका साथ अघि बढ्ने स्पष्ट आधार निर्माण भइसकेको दृढ विश्वास व्यक्त गर्नुभयो । पार्टी अध्यक्षको मन्तव्यले प्रतिनिधिहरू सबैलाई एउटै मालामा उन्नुका साथै विगतको वस्तुपरक समीक्षा, वर्तमानको सटीक विश्लेषण र संश्लेषण तथा भविष्यको प्रस्ट उज्यालो देखाइएको थियो ।

उद्घाटन सत्रमा सहिदहरूप्रति श्रद्धाञ्जलीका साथसाथै डिजिटल डिस्प्लेमा संस्थापक नेता पुष्पलाल, जननेता मदन भण्डारी र प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मान गरिएको थियो । साथै, नवौँ महाधिवेशनयताको अवधिमा दिवङ्गत पार्टी केन्द्रीय कमिटीका सदस्यहरू रामनाथ ढकाल, महिन सुब्बा लिम्बू, रवीन्द्र अधिकारी, दिनेशचन्द्र यादव, पशुपति चौलागाईं र योगनारायण यादवलगायतका नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । उद्घाटन सत्रसँगै महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओली र सदस्यहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादर थापा ‘बादल’, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहनुभएको अध्यक्ष मण्डल घोषणा भयो ।

डा. भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कँडेल, डा. राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी रहनुभएको प्रस्ताव मस्यौदा समिति, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा. विन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे रहनुभएको सुझाव अध्ययन समिति, मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजङ्ग थापा, सीता सुन्दास, सरोज यादव र लीलबहादुर थापामगर रहनुभएको बहस नोट समिति तथा योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा रहनुभएको प्रचार समन्वय समिति घोषणा गरियो ।

दिउ“सो २ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको प्रस्तुति थालनी गर्नुभयो । बीचमा उहाँको प्रस्तुतिको क्रमलाई स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निरन्तरता दिएर समापन गर्नुभयो । महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने क्रम सकियो । र, प्रतिनिधिहरूलाई विभिन्न १० वटा समूह विभाजन गरी साँझ ५ बजे पहिलो दिनको कार्यक्रम सम्पन्न भयो ।

दोस्रो दिन ः समूह छलफल र निष्कर्ष प्रस्तुति

विधान महाधिवेशनको दोस्रो दिन बिहान ८ बजे नै प्रतिनिधिहरू सम्मेलन केन्द्र परिसरमा जुट्ने क्रमसँगै चिया, खाजापछि समूह छलफल सुरु भयो । केन्द्रीय निकायहरू र विभाग, उपत्यका विशेष, सम्पर्क र प्रवास तथा जनसङ्गठनहरू सम्मिलित तीनवटा समूह र सात प्रदेशका सातवटा समूह गरी जम्मा १० समूहको छलफललाई व्यवस्थित गर्न कमरेड भानुभक्त ढकाल, सुजिता शाक्य, सुनिता बराल, देवराज घिमिरे, ज्वालाकुमारी साह, आनन्दप्रसाद पोखरेल, जगत विश्वकर्मा, लीला गिरी, गोरखबहादुर बोगटी र कर्णबहादुर थापाले समूह छलफलको अध्यक्षता एवम् निष्कर्ष प्रस्तुतिको समेत जिम्मेवारी अध्यक्ष मण्डलबाटै तोकियो । त्यसले गर्दा समूह नेता छान्न लामो समय बिताउनुपर्ने र समय लम्बिने समस्या रहेन । अधिकतम १ हजार जनाभन्दा बढी प्रतिनिधिसमेत रहेको प्रदेश १ सम्मिलित समूह र न्यूनतम … रहेको कर्णाली प्रदेशका प्रतिनिधिहरू रहेको समेतका १० वटै समूहले दिउँसोको खानापछि समूह छलफललाई घनीभूत रूपमा जारी राखे । त्यसक्रममा बन्दसत्रमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा परीक्षण आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशवप्रसाद बडालले आआफ्नो नेतृत्वका निकायहरूका प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
दिउँसो ३ बजेपछि समूह छलफलका निष्कर्षहरू प्रस्तुत गर्नेक्रम प्रारम्भ भयो । यस सिलसिलामा दोस्रो दिन कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटी, केन्द्रीय निकाय र विभागहरू सम्मिलित समूहका अध्यक्ष भानुभक्त ढकाल, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लीला गिरी, सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले आआफ्नो समूह छलफलका निष्कर्षहरू प्रस्तुत गर्नुभयो । र, तेस्रो दिन बिहान ८ बजे सुरु हुने गरी दोस्रो दिनको कार्यक्रम समापन भयो ।

तेस्रो दिन ः निष्कर्ष प्रस्तुतिको निरन्तरता र समापन

विधान महाधिवेशनको तेस्रो दिन बिहान निर्धारित समयदेखि नै समूहका निष्कर्ष प्रस्तुतिको क्रम निरन्तर रह्यो । यस सिलसिलामा गण्डकी प्रदेश कमिटीका अध्यक्ष जगत विश्वकर्मा, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्य, प्रदेश २ कमिटीका अध्यक्ष ज्वालाकुमारी साह, जनवर्गीय सङ्गठनका तर्फबाट अनेरास्ववियुका अध्यक्ष सुनिता बराल र प्रदेश १ कमिटीका अध्यक्ष देवराज घिमिरेले आआफ्नो समूहका निष्कर्षहरू महाधिवेशनसमक्ष प्रस्तुत गर्नुभयो ।

उद्घाटनको पहिलो दिन, बन्दसत्रको दोस्रो र तेस्रो दिन नै हलमा बैकुण्ठ महत, प्रिया भण्डारी, पुर्खे बाजे, फौदबहादुर बस्नेतलगायत कलाकारहरूले आआफ्ना प्रस्तुतिहरूले प्रतिनिधिहरूलाई मनोरञ्जन गराउने क्रम चलिरह्यो । १० वटै समूहका निष्कर्ष प्रस्तुत भइसकेपछि पार्टी उपमहासचिव विष्णुप्रसाद पौडेल, महासचिव ईश्वर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले आआफ्ना तर्फबाट प्रस्तुत दस्तावेजहरूमाथि प्राप्त सुझाव, जिज्ञासा र टिप्पणीहरूको प्रत्युत्तर एवम् सम्बोधन गर्नुभयो । त्यसक्रममा प्रतिनिधिहरूका चासो र जिज्ञासाको सम्बोधनले सिङ्गो हललाई वैचारिक रूपमा साझा दृष्टिकोण र एकताबद्ध बनाउने काम भयो । र, तीनवटै दस्तावेजहरू गडगडाहट तालीका बीच पारित गरियो । प्रस्ताव मस्यौदा समितिका तर्फबाट रघुजी पन्तले १६ बुँदे समसामयिक प्रस्तावहरू प्रस्तुत गर्नुभएपछि हलले सुझावसहित पारित ग¥यो ।

विधान महाधिवेशनमा डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग गठनको घोषणा भयो । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा (एमाले) को एप्स शुभारम्भ र पार्टीको नयाँ लोगो (सूर्य चिह्नभित्र सुनौलो हँसिया हथौडा) सार्वजनिक गर्नुभयो । र, मङ्सिर १०–१२ गतेसम्म पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनमा छिट्टै भेट हुने अपेक्षाका साथ ऐतिहासिक प्रथम विधान महाधिवेशन समापनको घोषणा गर्नुभयो । यसरी नेकपा (एमाले) को नौलो अभ्यासका रूपमा आयोजित प्रथम विधान महाधिवेशन र सानदार र सफल रूपमा सम्पन्न भयो । यसले राष्ट्रिय राजनीतिमा नेकपा (एमाले) को हैसियत र भूमिका स्पष्ट गर्नुका साथै माधवकुमार नेपालको नेतृत्वमा चोइटिएको सानो हिस्साले पार्टीको अग्रगति र भविष्यमा खासै असर नपारेको र नेकपा (एमाले) एक ढिक्का, सबल र सुदृढ रूपमा नेपाली जनताको बीचमा निरन्तर जनसेवा र जनकार्यमा रहेको महत्वपूर्ण सन्देश प्रवाह गर्न सफलता हासिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..