४ भाद्र २०७९, शनिबार

अप्रिल २२ : कम्युनिष्ट पार्टीको स्थापना

प्रकाशित मिति :  ९ बैशाख २०७९, शुक्रबार ०६:५५


अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन हो । आजभन्दा ७३ वर्ष अघि २२ अप्रिल १९४९ { २००६ साल बैशाख ९ गते } कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । आजको दिन नेपाली सर्वहारा श्रमजीवी जनताको गौरबको दिन हो । यस ऐतिहासिक दिनमा हाम्रो देशको कम्युनिष्ट आन्दोलनको इतिहास स्मरण गरेर त्यसबाट शिक्षा लिई जनता, राष्ट्र र पार्टीप्रति समर्पित भएर लाग्न प्रण गर्ने दिन पनि हो ।

अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन हो । आजभन्दा ७३ वर्ष अघि २२ अप्रिल १९४९ { २००६ साल बैशाख ९ गते } कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । आजको दिन नेपाली सर्वहारा श्रमजीवी जनताको गौरबको दिन हो । यस ऐतिहासिक दिनमा हाम्रो देशको कम्युनिष्ट आन्दोलनको इतिहास स्मरण गरेर त्यसबाट शिक्षा लिई जनता, राष्ट्र र पार्टीप्रति समर्पित भएर लाग्न प्रण गर्ने दिन पनि हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका सहादत प्राप्त कमरेडहरूको स्मरण गर्ने, उहाँहरूप्रति श्रद्धासुमन अर्पण गर्ने दिन हो । लामो अनुभव भएका जीवित सबै पाका जेष्ठ कमरेडहरूलाई सम्मान गर्ने, उहाँहरूका अनुभवबाट लाभान्वित हुने दिन हो । हामी कम्युनिष्टहरूका बीचमा रहेका बेमेलका कुराहरू पछि छलफल गर्दै जाने र मिल्न सकिने विषयमा सहकार्य गर्ने हाम्रो इतिहासले दिएको शिक्षा हो । यहाँ संक्षेपमा नेकपाको ऐतिहासिक सन्दर्भ उल्लेख गर्नु सान्दर्भिक हुने ठानेको छु ।

दोस्रो विश्वयुद्धपछि समस्त एसियाली देशमा आएको प्रजातन्त्रको लहरसँगै नेपालमा पनि नयाँ जागरण आयो । विभिन्न सामाजिक, धार्मिक आन्दोलन हुनथाले । संगठित राजनीतिक आन्दोलनको सुरुवात भने निरङ्कुश राणा शासन अन्त्य गरी वैधानिक राजतन्त्र स्थापना गर्ने उद्देश्य लिएर राजदरबारको सहयोगमा विक्रम संवत १९९३ सालमा “प्रजापरिषद्” नामक राजनीतिक संस्था गुप्तरूपमा गठन भएबाट भएको हो । यसले राणा शासनविरुद्ध गतिविधि गर्दै थियो । पुष्पलालका दाजु गंगालाल त्यो संगठनमा आबद्ध हुनुहुन्थ्यो । विक्रम संवत १९९७ सालमा त्यसको पोल खुल्यो । ३०० जना पक्राउ परे । टंकप्रसाद आचार्यसहित ३६ जनालाई आजीवन काराबासको सजाय भयो । शुक्रराज शास्त्री, गंगालाल, दसरथचन्द र धर्मभक्तलाई मृत्युदण्डको फैसला सुनाइयो । केहि दिनपछि शुक्रराज र धर्मभक्तलाई फाँसी दिइयो । गंगालाल र दसरथचन्दलाई गोलि हानेर हत्या गरियो ।

यो घटनाले पुष्पलालको जीवनमा ठूलो हलचल ल्यायो । पुष्पलालले आफ्ना दाजु गंगालालको चिताको सामु उभिएर श्रद्धाञ्जलि दिँदै दाजुले सुरु गर्नुभएको बाँकी काम आफूले पूरा गर्ने संकल्प र राणाशाही समाप्त गरी लोकतन्त्र स्थापना गर्न आजीवन लाग्ने प्रण गर्नुभयो । कलेजको पढाइ छाडेर राणाशाहीबिरोधी गतिविधिमा सक्रिय हुनुभयो । विक्रम संवत २००३ सालमा राणाशाहीविरोधी युवाहरूको कलकत्तामा भएको सम्मेलनले नेपाली राष्ट्रिय कांग्रेस पार्टी गठन गर्‍यो । जेलमा रहेका टङ्कप्रसाद आचार्यलाई सभापति र बी.पी. कोइरालालाई कार्यकारी सभापति चुन्यो । बी.पी. जेल परेपछि डिल्लीरमण रेग्मी कार्यकारी सभापति हुनुभयो ।

विक्रम संवत २००४ सालमा बनारसमा भएको नेपाली राष्ट्रिय कांग्रेस पा

र्टीको तेस्रो सम्मेलनपछि पुष्पलालले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी लिनुभयो । नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यालयमा रहँदा धेरै कुरा बुझ्ने, लेख्ने र अध्ययन गर्ने अवसर पाउनुभयो । विश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्र नेपाली भाषामा अनुवाद गर्नुभयो । त्यसको भूमिकामा नेपाली क्रान्तिको समाजवादतर्फको बाटो र नेतृत्वको विषयमा स्पष्ट दिशाबोध गर्नुभयो । उहाँले अरू रचना पनि उल्था गर्नुभएको थियो । छपाइ गर्न सहयोग माग्नुभयो तर सहयोग पाउनुभएन । नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूले भित्र भित्र सम्झौताका लागि राणाहरसँग भेटघाट गरेको, नेताहरूको आपसी झगडा र गुटबन्दी देखेपछि उहाँ यो पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्दैन भन्ने निष्कर्षमा पुग्नुभयो ।

त्यसपछि पुष्पलालले नेपाली राष्ट्रिय कांग्रेस पार्टी छाड्नुभयो । भारतमा रहेर कम्युनिष्टका नाममा क्रियाशील युवाहरूसँग भेटघाट गर्न थाल्नुभयो । यसै क्रममा भारतीय कम्युनिष्ट पार्टी दार्जिलिङका नेता रतनलाल ब्राह्मणसँग उहाँको भेटभयो । उहाँसँग राम्रो सम्बन्ध भयो । उहाँकै सहयोगमा भारतीय कम्यनिष्ट पार्टी (भाकपा) का नेता नृपेन्द्र चक्रवर्ती (पछि त्रिपुरा राज्यका मुख्यमन्त्री हुनुभयो ) सँग भेट भयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपालका शोषित-उत्पीडित जनसमुदाय र मजदुर – किसानहरूको भूमिका स्थापित गर्न नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुपर्छ भन्ने सल्लाह दिनुभयो ।

पुष्पलाल तरुण मोर्चा खोल्ने कि कम्युनिष्ट पार्टी खोल्ने भन्ने दोधारमा हुनुहुन्थ्यो । यो सल्लाहपछि नेपाल कम्युनिष्ट पार्टी गठन गर्ने निस्कर्षमा पुग्नुभयो । आफ्ना निकटतम राजनीतिक सहकर्मीहरूसँगको छलफलपछि सन् १९४९ अप्रिल { वि.सं. २००६ बैशाख ९ गते } का दिन कलकत्तामा पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरंजनगोविन्द बैद्य र मोतीदेवी श्रेष्ठ रहेको नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय संगठन समिति गठन भयो । बैठकबाट पुष्पलाल महासचिव चुनिनुभयो । यसै बैठकले सबै क्रान्तिकारीलाई नेकपामा संगठित हुन् आह्वान गर्दै “नेपाल कम्युनिष्ट पार्टीको अपिल” भन्ने एउटा पर्चा प्रकाशन गर्‍यो ।

संगठन विस्तार र घोषणापत्र तयार गरेर १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गरियो । त्यस घोषणापत्रमा भनिएको छ- “नेपाली जनता राणाशाहीको विरुद्धमा संघर्षमा उत्रेका छन् । नेपाली राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसका नेताहरू जनताका हितप्रति विश्वासघात गर्दै नेपालको सामन्ती निरंकुशतावादी र भारतीय प्रतिक्रियावादीसँग भित्री साँठगाँठमा लागेका छन् । तिनीहरूको विश्वासघातको भण्डाफोर गर्दै नेपालका किसान, मजदुर, सिपाही, श्रमजीवी मध्यम वर्ग र सारा प्रजातन्त्रप्रेमी जनतालाई संगठित भई संघर्षमा उत्रन आह्वान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी मार्क्सवाद-लेनिनावादको मार्गदर्शनमा सच्चा स्वतन्त्रता तथा लोकजनवादका लागि संघर्षको अघिल्लो पंक्तिमा अडिग भै लडिरहने छ । एउटा बलियो जन आधारित कम्युनिष्ट पार्टीले मात्र जनताको लोकजनवादी क्रान्तिलाई सक्षम नेतृत्व प्रदान गरी विजयसम्म अगाडि बढाउन सक्दछ ।”

भरखर गठन भएको नेपाल कम्युनिष्ट पार्टीले निरङ्कुश राणातन्त्रको विरुद्धमा लोकतन्त्र बहालीका लागि चलिरहेको आन्दोलनमा सक्रियतापूर्वक भाग लियो । आन्दोलनले उचाइ लिंदैथियो, २००७ सालमा राजा त्रिभुवन सपरिवार दिल्लीको शरणमा गए । नेहरूले दिल्लीमा राजा – राणा – नेपाली कांग्रेसबीच सम्झौता गराए । नेपाली कांग्रेस आन्दोलन फिर्ता लिएर राणा मन्त्रिमण्डलामा सहभागी भयो । नेपाल कम्युनिसष्ट पार्टीले दिल्ली सम्झौता धोखा होक्रान्ति अधुरो क्रान्ति जारी राख्नुपर्छ भन्ने अपिल गर्‍यो ।

आन्दोलन रोकिएन । मुक्ति सेनाले ठाउँठाउँमा विद्रोह गर्‍यो । सरकारले भारतसँग सहयोग लिएर दमन गर्‍यो । वि. सं. २००८ मा प्रवेश गरेको भारतीय सेनाले उत्तरी सीमाका १२ ठाउँमा चेकपोष्ट खडा गर्‍यो । पछि २०२६ सालमा दार्चुलाबाहेकका सैनिक पोष्ट हटाइए । दार्चुलाको टिङ्करमा भारतीय सैनिक ब्यारेक अहिले पनि कायमै छ । राजा त्रिभुवनको संविधानसभाको निर्वाचन गराउने घोषणाको भने नेकपाले स्वागत गर्‍यो ।

राणा – कांग्रेस संयुक्त सरकार धेरै समय चल्न सकेन । २००८ सालमा मातृकाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकल सरकार बन्यो । नेपाल कम्युनिष्ट पार्टीको संगठन देशब्यापी विस्तार र मजबुत हुँदैगयो । २००८ साल असोज ११-१६ (१९५१ सेप्टेम्बर २७ – अक्टुबर २) मा कलकत्तामा पार्टीको प्रथम राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले राजनीतिक रिपोर्ट, कार्यक्रम र विधान पारित गर्‍यो । केन्द्रीय समिति गठन गर्‍यो । पुष्पलाल महासचिव चुनिनुभयो । केन्द्रीय कार्यालय कल्कत्ताबाट काठमाडौंमा राख्ने निर्णय भयो ।

पुष्पलालको अगुवाइमा प्रथम सम्मेलनको २ महिनापछि १९५१ नोभेम्बरमा जातीय (राष्ट्रिय) जनतान्त्रिक संयुक्त मोर्चाको काठमाडौंमा उदघाटन भयो । मोर्चाले आन्दोलनलाई गति दियो । किसान आन्दोलन धेरै अगाडि बढ्यो । सामन्त वर्ग भयभीत भयो । दिल्ली सम्झौताको विरोधमा आन्दोलनको नेतृत्व गरेको आरोप लगाएर मातृका सरकारले २००८ साल माघ ११ गते नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगायो । प्रतिबन्धित अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले जनवर्गीय संगठनको आवरणमा संविधानसभाको निर्वाचन गराउन दबाबमूलक आन्दोलनको नेतृत्व गरिरह्यो ।

नेकपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारी उपचारका लागि चीनमा रहेको अवस्थामा कार्यवाहक महासचिव केशरजङ्ग रायमाझीको नेतृत्वमा २०१४ सालमा आयोजित दोश्रो महाधिवेशनबाट रायमाझी नै महासचिव चुनिए । नेपाली कांग्रेस राजाले दिएको संविधान मानेर संसद्को निर्वाचनमा जान तयार भई आन्दोलन फिर्ता लियो । पुष्पलालको कडा विरोधका बाबजुद बहुमतबाट नेकपाको केन्द्रीय कमिटीले पनि संसद्को निर्वाचनमा भाग लिने निर्णय गर्‍यो । पहिलो पल्ट २०१५ सालमा संसद्को निर्वाचन भयो । नेपाली कांग्रेसले दुइतिहाई बहुमत ल्याएर सरकार बनायो । नेकपाले जम्मा ४ सिटमात्र जित्यो । दुई वर्ष पनि नपुग्दै सैन्यबल प्रयोग गरेर २०१७ साल पुष १ गते राजाले आफूले दिएको संविधान फिर्ता लिएर जननिर्वाचित सरकार अपदस्थ गरे । पार्टीमाथि प्रतिबन्ध लगाइयो । नेताहरूलाई जेल हालियो । रायमाझी राजाको कदमको समर्थनमा लागेकाले उनीहरूलाई निष्कासन गरी २०१९ सालमा आयोजित नेकपाको तेस्रो महाधिवेशनले तुलसीलाल अमात्यलाई महासचिव चुन्यो । तर, आन्दोलनको नेतृत्व गरेर पार्टी संचालन गर्न उहाँले सक्नुभएन । पार्टी छिन्नभिन्न भयो ।

छिन्नभिन्न भएको पार्टीलाई पुनर्गठन गर्न मार्क्सवाद, लेनिनवाद, माओ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने केन्द्रीय कमिटीका पुष्पलालसहितका ६ जना सदस्यले २०२५ सालमा तेस्रो सम्मेलनको आयोजना गर्नुभयो । भारतको गोरखपुरमा सम्पन्न त्यस सम्मेलनले निरंकुश पंचायती व्यवस्था अन्त्य गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने स्पस्ट दिशाबोध गर्दै राजनीतिक प्रतिवेदन, नयाँ जनवादी कार्यक्रम, विधान र पार्टीको १८ वर्षको क्रान्तिकारी संघर्षको सिंहावलोकन आदि दस्ताबेजहरू पारित गर्‍यो । केन्द्रीय कमिटि गठन गर्‍यो । पुष्पलाल महासचिव चुनिनुभयो । देशव्यापी संगठन निर्माण र संघर्ष उठाउने अभियान सुरु भयो । भूमिगत र पेशेवर (पूर्णकालीन) कार्यकर्ताहरूको निर्माणले पार्टी सशक्त हुँदै गयो ।

विक्रम संवत २०२९ मा नेकपाको चौथो राष्ट्रिय सम्मेलन बनारसमा भयो । सम्मेलनले पंचायती व्यवस्थाको विरुद्धमा रहेका सम्पूर्ण शक्तिलाई एकताबद्ध गरी पंचायती व्यवस्थामाथि संयुक्त प्रहार केन्द्रित गर्ने संयुक्त जन-आन्दोलनको कार्यदिशा परित गर्‍यो । तर, निरङ्कुश पंचायती व्यवस्थाविरुद्ध प्रहार केन्द्रित गर्ने कार्यदिशा लिएका कारणले एउटा तप्काले मोहनविक्रमको नेतृत्वमा २०३१ सालमा चौथो महाधिवेशन गरेर राजा र कांग्रेसलाई समान दुस्मन किटान गरी पुष्पलाललाई गद्दार घोषणा गर्न पुग्यो । अर्को तप्का भारतमा चलेको वर्गदुस्मन सफायाको उग्रवादी नक्सलवादी आन्दोलनको हावाको प्रभावमा परी वर्गदुस्मन सफायाको नीति लिएर कोअर्डिनेसन केन्द्र (को.के.) हुँदै नेकपा (मा.ले.) गठन गर्न पुग्यो ।

पार्टीका धेरै नेता-कार्यकर्ता यस उग्रवादी भड्काउको सिकार भए । पार्टीमा गतिरोध आयो । पुष्पलालले यसको समीक्षा गर्न २०३२ सालमा केन्द्रीय कमिटीको विस्तारित बैठक आयोजना गर्नुभयो । बैठकले दाहिने र देब्रे दुवै भड्काउको विरोध गर्दै पार्टीले लिएको निरङ्कुश पंचायती व्यवस्थाको विरुद्धमा संयुक्त प्रहार केन्द्रित गर्ने संयुक्त जन-आन्दोलनको बाटो नै सही छ भन्ने निर्णय गर्‍यो । उता नेपाली कांग्रेसका नेताहरू २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर राजासँग मित्रताको हात बढाउँदै निर्वासनबाट स्वदेश फर्के ।

शान्तिपूर्ण संयुक्त जन-आन्दोलनको बाटो धेरै लामो छ । कहिले सफल हुन्छ, कति पर्खने भन्दै कतिपय नेता-कार्यकर्ता पार्टीबाटै पलायन भए । यसरी पार्टी संगठनमा केही सिथिलता आयो । तर, देशमा असन्तोष व्यापक थियो । आन्दोलनको वातावरण बन्दै गएको थियो । राज्य झन निरङ्कुश बन्दै दमनमा उत्रेको थियो । विक्रम संवत २०३५ साउन ७ गते पुष्पलालको भारतको नयाँ दिल्लीमा निधन भयो । विक्रम संवत २०३५/३६ को संयुक्त विद्यार्थी आन्दोलनले निर्दल वा बहुदल भन्ने विषयमा जनमत संग्रह गर्ने घोषणा गरायो । नेपली कांग्रेसको उग्र कम्युनिष्टविरोधी दृष्टिकोण र कतिपय कम्युनिष्ट घटकका गलत बुझाइ र नीतिका कारणले बहुदलवादीहरूबीच एकता हुन सकेन । धाँधली गरेर पंचायतलाई जिताइयो ।

यस घटनाबाट शिक्षा लिएर कम्युनिष्टहरूबीच एकताको वातावरण बन्दै गयो । विक्रम संवत २०४६ मा सात बाम पार्टीको संयुक्त मोर्चा (बाममोर्चा) गठन भयो । नेपाली कांग्रेस र बाममोर्चाको आह्वानमा निरङ्कुश पंचायती व्यवस्थाको विरुद्धमा आन्दोलन अगाडि बढ्यो । आन्दोलन सफल भयो । बहुदलीय प्रजातन्त्र स्थापना भयो । नेपाली कांग्रेस र बाममोर्चाको संयुक्त अन्तरिम सरकार गठन भयो । प्रजातान्त्रिक संविधान निर्माण भयो । बाममोर्चाका दुई ठूला घटक नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकृत भएर नेकपा (एमाले) निर्माण भयो । २०४८ सालमा संसद्को निर्वाचन भयो । नेपाली कांग्रेसले बहुमत पाएर सरकार बनायो । नेकपा (एमाले) बलियो प्रतिपक्षी भयो । संयुक्त जनमोर्चा (चौ.म.) संसदमा तेस्रो ठूलो दल भयो ।

नेपाली कांग्रेस सरकारले महाकाली नदीमा नेपालको हितविरोधी असमान टनकपुर सन्धि गर्‍यो । त्यसको विरुद्धमा संसद र सडक दुवैतिर आन्दोलन तिब्र भयो । सरकार दमनमा उत्रियो । नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते हत्या भयो । नेकपा (एमाले) ले धैर्यतापूर्वक सशक्त शान्तिपूर्ण प्रतिरोध आन्दोलन चलाइरह्यो । ने.का. सरकार ५ वर्ष टिक्न सकेन । तीन वर्षमै संसद् विघटन गरेर २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा गर्न पुग्यो । संयुक्त जनमोर्चा(चौ.म.) शान्तिपूर्ण आन्दोलनबाट विचलित भयो । नेकपा (माओवादी) को नामबाट निर्वाचन बहिस्कार गरेर सशस्त्र विद्रोहको ध्वंसात्मक बाटोमा लाग्यो ।

मध्यावधि निर्वाचनमा कसैको पनि बहुमत आउन सकेन । नेकपा (एमाले) ले सबैभन्दा ठूलो दलको हैसियतले अल्पमतको सरकार बनायो । मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ९ महिना टिक्यो । छोटो अवधिमा पनि नेपाली जनतामा राम्रो प्रभाव पार्‍यो । त्यसपछि घिनलाग्दा संसदीय खेल भए । माओवादीको सशस्त्र विद्रोह र सेनाको सैन्य कारबाहीको भुमरीमा देश फस्यो । दरबार हत्या काण्ड भयो । राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएर दमनमा उत्रिए । हजारौ नेपालीको ज्यान गयो । अरबौंका भौतिक संरचना ध्वस्त भए । देशमा क्रियाशील सात राजनीतिक दलले शान्तिपूर्ण आन्दोलन चलाइरहे । २०६२ सालमा नेकपा माओवादी पार्टी सशस्त्र विद्रोहको बाटो छोडेर शान्तिपूर्ण जन-आन्दोलनको बाटोमा अवतरण गर्‍यो । ने.का., नेकपा (एमाले) सहितका सात दल र माओवादीको संयुक्त आन्दोलनले लोकतन्त्र बहाली गर्‍यो । माओवादी पार्टी पनि अन्तरिम संसद् र सरकारमा सामेल भयो ।

विक्रम संवत २०६४ मा संविधानसभाको निर्वाचन भयो । चार वर्षसम्म पनि संविधानसभाले संविधान बनाउन सकेन । पुन: २०७० सालमा संविधानसभाको निर्वाचन भयो । २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालाको संविधान जारी भयो । राजतन्त्र सदाका लागि अन्त्य भयो । २०७४ सालमा संसद्को निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर निर्वाचन लडे । दुइतिहाई नजिकको बहुमत सिट आयो । संयुक्त सरकार बन्यो । २०७५ जेठ ३ गते दुवै पार्टी विघटन गरी नेकपा गठन गरियो । पार्टी एकीकरण भएको २ वर्ष पनि नहुँदै आफैंले नै बनाएको केपी ओली नेतृत्वको आफ्नो पार्टीको सरकार गिराएर नेपाली कांग्रेसको सरकार बनाउन नेकपा (माओवादी) को एउटा हिस्सा प्रचण्डको नेतृत्वमा अलग भयो । त्यसैगरी, माधवकुमार नेपाल, झलनाथ खनालसहितका केही नेतासमेत नेकपा (एमाले) बाट निस्केर नेपाली कांग्रेसको शरणमा पुगे । प्रचण्ड – माधवको सहयोगमा सर्वोच्च अदालतको परामादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए ।

माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी गठन गरे । नेपाली कांग्रेस, प्रचण्डको नेकपा (माओवादी केन्द्र), माधवकुमारको एकीकृत समाजवादी, उपेन्द्रको जनता समाजवादी र राष्ट्रिय जनमोर्चासहित ५ दलीय गठबन्धन सरकार यतिबेला नेकपा (एमाले) को विरुद्धमा मोर्चा कसेर लागेको छ । स्थानीय निर्वाचनमा ५ दल मिलेर लड्दै छन् तर जनताले उनीहरूलाई पत्याएका छैनन् । एमालेको पक्षमा देशव्यापीरूपमा अभूतपूर्व लहर सिर्जना भएको छ ।

जनताले झण्डै दुइतिहाई बहुमत सिटमा विजयी गराएर ५ वर्ष स्थिर सरकार चलाउन दिएको जनादेशलाई लत्याएर आफ्नै पार्टीको सरकार अपदस्त गरेर प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर अस्थिरता सिर्जना गरेको अपराधको सजाय प्रचण्ड-माधवले अवश्य पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..