१७ जना कम्युनिष्ट योद्धालाई सम्मान

काठमाडौँ । नेकपा (एमाले) ले १७ जना कम्युनिष्ट योद्धालाई सम्मान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसर पारेर उहाँहरुलाई सम्मान गरेको हो । पार्टी कार्यालय स्थानान्तरण र स्थानीय निर्वाचन प्रतिवद्धता–पत्र सार्वजनिक कार्यक्रमसँगै कम्युनिस्ट पार्टीको हेरचाह र नेता–कार्यकर्तालाई सेल्टर दिएर योगदान गरेका १७ जना ‘कम्युनिष्ट पार्टी योद्धा’लाई पार्टीले सम्मानित गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ‘कम्युनिस्ट पार्टीको उत्थान,नेतृत्वको रक्षा र संघर्षमा जीवन बिताएका तर कुनै पनि लाभको पदमा नपुगेका १७ जना योद्धाहरूलाई पार्टीले सम्मान गरेको हो,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
सम्मानित हुने योद्धाहरुमा पोखरा महानगरपालिका–६ कास्कीका टेकनाथ बराल हुन्नुहुन्छ । उहाँ २००७ सालको राणा बिरोधी आन्दोलनमा केटाकेटीहरुलाई एकीकृत गरी सहभागी हुनुभएको थियो । त्यसैगरी सम्मानित हुने सन्धिखर्क नगरपालिका–२, कुरका नेत्रप्रसाद ढुङ्गानाले २०१८ सालदेखि राजनीतिक जीवन आरम्भ गर्नुभएको थियो । उहाँले आफ्नो जीवनकालमा १० वर्ष कठोर जेल जीवन विताउनु भएको थियो ।
त्यस्तै आजै सम्मानित हुनुहुने मालारानी–५, अर्घाखाँचीका तुल्सीराम मिश्र बाल्यकालदेखि नै राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । काठमाडौँ महानगरपालिका, गमवहालकी नानीमैयाँ नकर्मीले २००४ सालमा भक्तपुरको बशगोपाल र माडीबाट सडकमा उत्रेर राणाविरुद्ध संघर्ष थाल्नुभएको थियो । सिरानचोक गाउँपालिका वडा–२ गोरखाका कुमार गुरुङको २०४८ सालको आन्दोलनमा विशिष्ठि भूमिका खेल्नुभएको थियो । आजै सम्मानित हुने ललितपुर महानगरपालिका–९, च्यासलका चतुर व्यञ्जनकार भूमिगतकालमा पार्टीका नेताहरुका लागि शेल्टरदाताको नामले परिचित हुनुहुन्छ । हरिचौर, गलकोट बाग्लुङका बसन्तप्रसाद गौचन कम्युनिष्ट आन्दोलनका पुराना नेताका रुपमा परिचित हुनुहुन्छ ।
त्यस्तै तामाकोशी गाउँपालिका–१, दोलखाका हरिप्रसाद शर्मा काफ्ले पार्टीलाई आफ्नो घर दानदिने नेताका रुपमा चिनिनुहुन्छ । आजै सम्मानित हुनुहुने कीर्तिपुर, काठमाडौँका रामकृष्ण दुवालले पनि माले कालमा नेताहरुलाई आफ्नो घरमा शेल्टर दिनुभएको थियो । त्रिपुरा सुन्दरी गाउँपालिका–४ सिन्धुपाल्चोकका छत्रबहादुर बोहरा पनि २०२८ सालदेखि पार्टीमा सक्रिय हुनुहुन्थ्यो । बनेपा काभ्रेपलाञ्चोकका माधवप्रसाद अधिकारी पनि पुरानो कम्युनिष्ट नेता हुनुहुन्छ ।
आजै एमालेले सियारी–२ रुपन्देहीकी चुमकला बञ्जाडे, भीमदत्त नगरपालिका–५ कञ्चनपुरका लक्ष्मीराज जोशी, चितवन खैरहनी नगरपालिका–३, चितवनका अमर कार्की, काठमाडौँका विष्णु डङ्गोल, धनुषा मिथिला बिहारी नगरपालिका–८ की कुमारीदेवी महरा चमार र कनकाई नगरपालिका–६ झापाका भीमबहादुर खतिवडालाई पनि सम्मान गरेको छ । उहाँहरु सबैलाई कम्युनिष्ट पार्टीमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो ।