२८ श्रावण २०७९, शनिबार

दमक : विकासले जोडेको साइनो

प्रकाशित मिति :  ११ बैशाख २०७९, आईतवार ०३:५०


टीकाराम उप्रेती

झापा । दक्षिण एसियाकै आधुनिक करिव दुईहजार २०० विगाहामा फैलिएको चीन नेपाल मैत्री औद्योगिक पार्क । मुलुककै सबैभन्दा अग्लो गगनचुम्बी आधुनिक तथा व्यवसायिक भब्य भ्यू टावर । दुईहजारभन्दा बढी मानिस अट्ने डिजिटल प्रविधिको सभाहल ।
दमक नगरलाई पूर्वपश्चिमबाट घेरेका रतुवा र मावा खोलामा पक्की पुलैपुल । अधिकांश टोल तथा गाउँसम्म फराकिला कालोपत्रे सडक । रातमा झिलिमिली बत्तीले चम्कने शहर र बस्ती । दमकको मुख्य बजारमा सुरक्षित पैदल यात्रा गर्न सकिने रेलिङसहितको सफा सुन्दर नमुना बजार ।
यि र यस्तै विशेषताले चिनिन थालेको छ झापाको दमक नगरपालिका ।

नगरमा विकासका पूर्वाधार निर्माण मात्र होइन, शिक्षा, स्वास्थ्य र न्यायिक क्षेत्रमा समेत अब्बल रहेको छ दमक । प्रत्येक सरकारी विद्यालयमा आधुनिक मन्टेश्वरी कक्षाले गरिव जनताका छोराछोरीलाई समेत गुणस्तरीय शिक्षा दिन सफल भएको छ ।

प्रत्येक बर्ष बर्षायाममा रतुवा र मावा खोलाको कटानले रातभरि सुत्न नपाउने दमक नगरपालिकाका वासिन्दालाई अहिले नदी कटान नियन्त्रण गरेर ढुक्कले निद्रा दिनसक्ने अवस्थामा पुगेको छ दमक ।
यस्तै नयाँ सिँचाइ योजनाका कारण नदीमा खेर गएको पानीलाई सुकेका खेतका गह्रामा भिजाएर बालीनाली उब्जाउन सहज भएको छ । पानीको स्थायी स्रोत नभएका स्थानमा भूमिगत सिँचाइका सयौँ योजना अघि बढाइएको छ ।
गरिवीका कारण तराईमा बर्षेनी शितलहरबाट मृत्युवरण गर्नबाट जोगाउन विपन्नलाई न्यानो घर निर्माणदेखि चुहिएका छाना समेत फेरिएका छन् भने मानिसको शरीर स्वस्थकर राख्न र खेलकुदको विकास गर्न दमक–३ मा मदन भण्डारी अन्तर्राष्ट्रिय खेल मैदान निर्माणको काम समेत अघि बढेको छ । जैविक विविधताको संरक्षणका लागि स्थानीय सीमासार क्षेत्रको संरक्षण गरी बसाई सरेर गएका बन्यजन्तु र चराचुरूङ्गीलाई समेत फर्काउने प्रयास भएको छ ।


रतुवा र मावा खोलाको कटानले हैरानी भोगेका यो क्षेत्रका जनताले सुविस्ताको सास फेर्न पाएका छन् । त्यतिमात्र होइन यही अवधिमा रतुवा खोलामा दुईवटा र मावा खोलामा तीन वटा गरी पाँचवटा नयाँ पक्की पुल निर्माण भइसकेका छन् । पुल निर्माणले स्थानीय बासिन्दालाई ज्यानै जोखिममा राखेर वारपार गर्नुपर्ने बाध्यता टरेर गएको छ । पुल निर्माणले खोला वारिपारिको सम्बन्ध जति नजिक बनाएको छ, त्योभन्दा धेरै जनताले नेकपा एमालेको नेतृत्व प्रतिको भरोसा र विश्वासलाई सतिसाल जस्तै उभिने हिम्मत दिएको छ ।
घरछेउमा पक्की पुल बनेपछि दमक–५ की अम्बिका भण्डारी सानो तिनो व्यवसाय गरेर खान सक्ने अवस्थामा पुगेको अनुभव सुनाउनुहुन्छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत दमक हुँदै वेलाडाँगीबाट इलाम जिल्लाको चुलाचुली–५ जोड्ने पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण भएपछि बोल्नसक्ने सर्बसाधारणले त आफुले विकासले दिएको खुशी बोलेर व्यक्त गरे तर बोली नआउने सर्बसाधारणले आफ्नो क्षेत्रको विकासले दिएको खुशी साङ्केतिक भाषामा व्यक्त गरे । इलामको चुलाचुलीकी सुशीला बिकले भन्नुभयो– विकासले चुलाचुलीबासीलाई नै खुशी दिएको छ ।


पुल नहुँदा स्कुल पढ्न पाइएन, आवत जावतमा समस्या थियो, यही समस्याले विगत आठ बर्षदेखि चुलाचुली छोडेर दमक नै बस्न थालेकी छु । खोला तर्ने पुल नहुँदा यो क्षेत्रमा मेरो गाउँका धेरै जनाले ज्यान गुमाएका छन् । विद्यार्थीलाई अध्ययनमा सहज आधुनिक शिक्षा दिने उद्देश्यले दमक नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयमा सभाहलदेखि परीक्षा शाखा लगायतका कक्षा कोठा निर्माणको काम तीब्ररूपमा भएको छ । यस्तै दमक–३ स्थित ढुकुरपानी माध्यमिक विद्यालयमा आधुनिक भवन निर्माणको काम धमाधम भइरहेको छ ।


यस बीचमा एक पालिकादेखि अर्को पालिका जोड्ने, उत्तरदेखि दक्षिणसम्म फैलिएका बस्तीमा सहज रूपमा पुग्ने गरी कालोपत्रे सडक निर्माण भएका छन् । दमक नगरपालिकाको हिमावी– ढुकुरपानी, आमचौक सडक निर्माण, चुलाचुली– ढुङ्गे नमुना सडक, दमक रिङरोड विस्तार, हिमावी– महेश चौक ड्रेन सहितको सडक निर्माण, वेलडाँगी– कृष्ण मन्दिर सडक, पिपिरे– आमचौक सडक निर्माण धेरैजसो सम्पन्न हुने क्रममा छन् । आफ्नो जीवनमा नै सडक निर्माण हुन्छ भन्ने लागेकै थिएन र विश्वास पनि थिएन, यही नसोचेको विकास घर अगाडि ढल सहितको ६० फुट चौडा फराकिलो सडक बन्दै गर्दा आनन्दले मन भरिएको छ । दमकको चुलाचुली–३ स्थित दुम्सेका धनकुमार तामाङ खुशी ब्यक्त गर्नुहुन्छ ।
चीन– नेपाल औद्योगिक पार्क
झापाको दमकमा तीन खर्ब ३३ अर्बको लगानीमा निर्माण हुने भनिएको औद्योगिक पार्क निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । औद्योगिक करिडोरका लागि आवश्यक २२ सय बिगाह जमिन अधिग्रहणको काम धमाधम अघि बढिरहेको छ ।
झापाको दमकस्थित पूर्वपश्चिम राजमार्गबाट करिव १२ किलोमिटर दक्षिणमा रहेको कमल गाउँपालिका र दमक नगरपालिकामा निर्माण हुने औद्योगिक पार्क चीन सरकारले बनाउने भएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरबाट निर्माण गरिने पार्क पूर्र्णरूपमा वाताबरण मैत्री हुने जनाइएको छ । औद्योगिक पार्क दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका गरी तीन पालिका समेटिने गरी सिमानामा निर्माण हुने भएको हो ।
औद्योगिक पार्क निर्माणका लागि आवश्यक पर्ने जग्गामध्ये हालसम्म ९४२ विगाहा जमिन नेपाल उद्योग विकास लिमिटेडको नाममा आइसकेको दमक नगरपालिकास्थित औद्योगिक पार्क जग्गा अधिग्रहण प्राप्ति समितिको कार्यालयलका मुख्य सम्पर्क अधिकृत संजय थापाले जानकारी दिनुभयो ।
गत वर्षको पुस महिनामा चीनको ल्हासास्थित आर्थिक तथा प्राविधिक विकास क्षेत्रका अधिकारीहरूले यस क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । चारवटा ब्लक रहेको यो क्षेत्रमा उक्त टोलीले ब्लक ए को स्थलगत अवलोकन गरेको थियो । दमक नगरपालिकाका अनुसार चीन नेपाल औद्योगिक पार्क निर्माणका लागि समझदारी पत्र (एमओयू) समेत भइसकेको छ । यसको डिपिआर निर्माणको अन्तिम तयारी भइरहेको नगरपालिकाका प्रमुख रोमनाथ ओलीको भनाइ छ ।
जग्गाको मुआब्जा वितरणका लागि झापा जिल्ला प्रशासन कार्यालयका प्रमुख जनकराज दाहालको संयोजकत्वमा जग्गा अधिग्रहण प्राप्ति समितिले जग्गाको प्रकृति अनुसार मुआब्जाको विवरण तयार गरिरहेको जनाइएको छ । समितिले जग्गालाई खासगरी खोला बगिरहेको क्षेत्र, काँसघारी अर्थात बाँझो र खेती भइरहेको आवादी गरी तीन भागमा विभाजन गरेर मुआब्जा बाँड्ने तयारी गरिरहेको छ ।
ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रको कार्यकारी समितिका उपसचिव लिउ रुपेङ नेतृत्वको टोलीले अवलोकन गरेर फर्किएको यस क्षेत्रमा औद्योगिक पार्क निर्माण भइसकेपछि प्रत्यक्ष र अप्रत्यक्ष गरी १० लाखभन्दा बढीले रोजगारी पाउने विश्वास लिइएको छ ।
यस क्षेत्रमा औद्योगिक पार्क बन्ने सुनेपछि यस क्षेत्रका नागरिकमा उत्साह जागेको छ । जग्गाको भाउ समेत पाँच गुणाले बढेको स्थानीयको भनाइ छ । औद्योगिक पार्क निर्माण गरिने स्थान दमक १० को सेतुमारीको केही भाग र अधिकांश भाग कमल गाउँपालिका र गौरादह नगरपालिकाको क्षेत्रमा पर्दछ । देशकै गौरवको योजना अन्तर्गत रहेको औद्योगिक करिडोर निर्माणका लागि रतुवा खोलाको बाँध सबैभन्दा चुनौतीपूर्ण रहेको छ । यसको समेत निर्माण गरी व्यवस्थित औद्योगिक पार्क निर्माण गरिने जनाइएको छ ।
यो क्षेत्रमा भएको विकासले सर्वसाधारणलाई यति आनन्द र खुशी दिएको छ कि उनीहरूलाई विगतका दुःख कष्ट सबै बिर्साएको छ । यो निर्वाचन क्षेत्रमा भएको पूर्वाधार विकासले एउटा जिल्लादेखि अर्को जिल्लालाई जोडेर नजिक बनाएको छ ।
दमक भ्यूटावर निर्माण १२ औँ तल्ला पुग्यो

नेपालको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत झापाको दमकमा निर्माणाधीन देशकै सबैभन्दा अग्लो दमक भ्यूटावरको ५८ प्रतिशत भौतिक प्रगति भएको छ । जसअन्तर्गत भ्यूटावरको काम ११औं तल्लाको ढलान सम्पन्न भएर १२ औं तलाको काम भइरहेको छ ।
दमक नगरपालिमा–३ स्थित दापगाछीमा १०० मिटर अग्लो भ्यूटावर निर्माणको काम धमाधम भइरहेको छ । गत पुस महिनामा सम्पन्न गर्नुपर्ने सम्झौता भएको उक्त टावरको काम नसकिएपछि पुनः साढे सातमहिना समय थप गरिएको छ । अहिले १२औँ तल्लाको काम भइरहेको दमक भ्यूटावर निर्माणको काम जिम्मा लिएको जेठसिजीएलसी÷आषिश÷ओम÷साइराम जेभीका परियोजना प्रमुख सर्जल बिडारीले जानकारी दिनुभयो । भ्यूटावर निर्माणमा चैत मसान्तसम्ममा कामको भौतिक प्रगति ५८ प्रतिशत पुगेको प्रमुख विडारीको भनाइ छ । अहिलेको गतिमा काम भए पनि थपिएको समयमा सम्पन्न गर्न नसकिने देखिएको छ ।
निर्माणको काम सुरू भएपछि नै कोरोना भाइरसको महामारीका कारण दुईपटक लकडाउन भयो । टावरको काम गर्दै जाँदा यहाँको भौतिक अवस्था र माटोको गुणस्तर नमिल्दा, पटक–पटक यसको डिजाइन परिवर्तन गर्नुपर्दा समेत समय बढी लागेर सम्झौता अनुसार काम हुन नसकेको निर्माण पक्षको दावी छ । टावरसँगै यसभित्रका एसी, विद्युत वायरिङ, फायर फाइटिङ, पार्टिसन, प्लास्टर लगायतका काम समेत धमाधम भइरहेका छन् । भवनको तला थपिँदै जाँदा फिनिसिङको काम समेत सँगै अघि बढाउँदै लगिएको छ ।
भ्यूटावर अग्लो हुने भएकाले यसको भार थेग्न सक्नेगरी यसको जग जमिनको सतहभन्दा ४५ मिटर गहिरो २८९ वटा पायलिङ पिलर गाडिएको छ । यस्तै ३२४ वटा १० मिटर गहिरो ग्राभेल पायलिङ गरिएको थियो । यो साताभित्रमा अण्डरग्राउण्ड पार्किङ ढलाईको काम समेत सम्पन्न गर्ने योजना रहेको सघन सहरी विकास कार्यालय झापाबाट भ्यूटावर निर्माणको प्राविधिक पक्षको जिम्मेवारी तोकिएका इन्जिनियर सुरेन्द्र कुमार साहले जानकारी दिनुभयो ।
यहाँ अत्याधुनिक सपिङ मलसहित स्वीमिङ पुल तथा बिभिन्न आकर्षक पानीका फोहोरा समेत निर्माण हुने जनाइएको छ । २५ तलाको हुने यो भ्यूटावरको १८ तलासम्म कङ्क्रिट गरिने र यही तलासम्म व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने योजना रहेको छ । त्यो भन्दा माथि हलुका आल्मुनियमबाट तल्ला थप गरिने छ । अन्य स्वास्थ्य चौकी, चिल्ड्रेन पार्क, गार्डेन समेत निर्माण गरिने छ । करिव पाँच बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भ्यूटावरको लगभग आठकठ्ठा क्षेत्रफलमा टावरमात्र निर्माण हँुदैछ । ४९ वर्गमिटरको यो टावरको कुल लगानी एक अर्ब ५८ करोड २२ लाख रुपियाँ रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा भएकाले भ्यूटावर निर्माणले स्थानीयलाई उत्साहित बनाएको छ । दमक भ्यूटावर नजिकै घर भएकी सकुन्तला दवाडी अब आफ्नो ठाउँ पनि परिवर्तन हुने भयो भन्नेमा आशावादी हुनुहुन्छ । श्रीमान विदेशमा कमाउन गएको ३० औं वर्ष पुगेर पनि फर्किनुभएको छैन । घर भएको स्थानमा डेढ कठ्ठामात्र जमिन छ । के गरेर खाने भन्ने सँधै चिन्ता लाग्थ्यो तर अब घर अगाडि २५ तलाको टावर निर्माण भएपछि सानो तिनो होटल वा पसल नै गरेर पनि खान सकिने उहाँ बताउनुहुन्छ । उहाँ जस्तै यो क्षेत्रका बासिन्दालाई यो विकासले गाउँको मुहार फेरिने अपेक्षासहित उत्साहित बनाएको छ ।
विपन्नलाई आधुनिक घर
चिटिक्क परेका लहरै सेतो रङले पोतिएका आधुनिक घर छन् । सबै एकै प्रकारले निर्माण गरिएका छन् । सिमेन्टको पक्की एक तल्ले सबै घरको छानोमा नीलो रङको टिन लगाइएको छ । प्रत्येक घरमा विद्युत, खानेपानीको व्यवस्था गरिएको छ । घर वरिपरि सानो फूलवारी समेत रहने गरी निर्माण गरिएको छ ।

झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलाको नजिकै निर्माण गरिएका यि घर नगरकै नमुना बस्तीको रूपमा विकास गरिँदै लगिएको छ । गत आर्थिक बर्षदेखि नियमित रूपमा यहाँ आधुनिक घर निर्माण गरिँदै आएको छ ।
प्रत्येक घरमा दुईवटा कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्वल हालेर चिल्लो बनाइएको ट्वाइलेट वाथरुम छन् । हेर्दा आकर्षक रहरलाग्दा देखिने घर दमक नगरपालिकाको नमुना बस्तीको रूपमा अघि बढाएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जानकारी दिनुभयो ।
यहाँ पुगेर हेर्ने जोसुकैलाई पनि कुनै आधुनिक नयाँ शहरमा पुगेको अनुभव हुने गरेको छ । यि घर जति सुन्दर देखिएका छन्, यहाँ बस्ने मानिसको मुहारमा त्यति नै मिठो खुशीको मुस्कान समेत पाइन्छ । झापाको दमक नगरपालिकाले बजारभित्र जथाभावी छाप्रा हालेर असुरक्षित रूपमा बसोबास गर्ने सुकुम्बासी घरबिहीन बिपन्नका लागि केही बर्षदेखि धमाधम यस्तै बस्तीको विकास गरिरहेको छ । जुन सुरक्षित तथा आधुनिक घर छन् ।

उक्त घर संघीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुत्त लगानीमा निर्माण गरिएको छ । साझेदारी कार्यक्रम अन्तर्गत १५ वटा घर निर्माणका लागि कुल एक करोड ९२ लाख रुपैयाँ विनियोजना गरिएको थियो । जस अनुसार प्रतिघर १२ लाख ८६ हजार रुपैयाँ लागत रहेको जनाइएको छ ।
यो क्षेत्रमा अघिल्लो आर्थिक बर्षमा मात्र ३५ वटा घर निर्माण गरिएको थियो । यि सबै घरमा अहिले यस्तै विपन्न परिवारलाई राखिएको छ । प्रत्येक बर्ष घर निर्माण गर्ने घरमा सुकुम्बासी भूमिहीनलाई प्राथमिकताको आधारमा उपलब्ध गराउँदै जाने योजना रहेको जनाइएको छ । साधारणतया एउटा परिवारलाई लक्षित गरेर निर्माण गरिएका यस्ता घरले अव्यवस्थित रूपमा सार्वजनिक स्थलमा छाप्रा टहरा हालेर बसोबास गर्ने परिवारलाई भने बरदान साबित भएको छ ।
अघिल्लो आर्थिक बर्षमा नै निर्माण गरिएको नमुना बस्तीको घर नम्बर १ की ७७ बर्षीया मनमाया भुजेलले आफु यस्तो आधुनिक शौचालय भएको पक्की घरमा बस्न पाउने कुरा सपनामा पनि नसोचेको वताउनुभयो । शरीर प्यारालाइसिस भएको पाँच बर्ष भयो । व्ह्ील चियरको सहारामा भित्र बाहिर गर्नुपर्छ । बुढेसकालमा घर बनाउनसक्ने कुरै भएन, मैले सोचेको पनि थिइन उहाँले भन्नुभयो । यही नसोचेको कुरा आज सरकारले नयाँ गतिलो घर बनाइ दियो । अब मेरो घरको दुःख गए भुजेलले खुशी ब्यक्त गर्दै भन्नुभयो ।
दमक–७ स्थित पशुहाटको सार्वजनिक जग्गामा छाप्रो हालेर बस्दै आएकी थिएँ । बर्षा याममा शहरको भेलले प्रत्येक बर्ष घर डुवाउने गरेको थियो । हावाहुरीले भत्काइदिन्थ्यो, अब ढुक्कले सुत्न पाउने भएँ, यही खुशी छ उहाँको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..