२० मंसिर २०७९, मंगलवार

‘गाउँको अवस्था बदलेँ, अब जनताको अवस्था बदल्छु ।’

प्रकाशित मिति :  ११ बैशाख २०७९, आईतवार १६:२८



भोजपुर । टेम्केमैयुङ, भोजपुर सदरमुकामबाट २८ किलोमिटर पश्चिममा रहेको सुन्दर गाउँपालिका । भोजपुरको प्रसिद्ध पर्यटकीयस्थलहरु टेम्के, मैयुङ, सेल्मेडाँडा र चखेवा डाँडाको फेदीमा अवस्थित । यो गाउँपालिका तुलनात्मक रुपमा प्रदेश नम्बर एकको स्थानीय तह मध्येमा हमेसा चर्चामा रही रहने गाउँपालिका । चर्चाको कारण, यो गाउँपालिका अध्यक्ष ध्रुवराज राई ।
उहाँ २०७४ मा निर्वाचनमा उम्मेदवार बन्दादेखि यसपाली दोस्रो पटक उम्मेदवार बन्दासम्म चर्चामा हुनुहुन्छ । नेकपा (एमाले)का उम्मेदवार राईविरुद्ध २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धन थियो । यसपाली महागठबन्धनमा अर्को दल थपिएको छ, नेकपा (एकीकृत समाजवादी) । तर उहाँ फेरि पनि एक्लै हुनुहुन्छ ।

अध्यक्ष जितिसकेपछि पनि उहाँ सधैं चर्चामा रहनुभयो । चर्चाको कारण हो, ‘उहाँले गरेका काम र उहाँका गतिबिधि ।’ गएको निर्वाचनमा नेकपा (एमाले) ले जितेका नगरप्रमुख र गाउँपालिका अध्यक्षमध्ये ध्रुव राई यस्ता अध्यक्ष हुनुहुन्छ ‘जसले अलग परिचय र पहिचान बनाउनुभयो ।’ ‘देशभरि अध्यक्ष थुप्रै भए, तर भोजपुरको ध्रुव राईले आफ्नो काम मार्फत आफ्नो गाउँपालिकालाई चिनाइरहनुभयो , ’ नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई भन्नुहुन्छ्, ‘भोजपुरको नौ स्थानीय तहमा राष्ट्रियस्तरमा चर्चामा हुने गाउँपालिका टेम्केमैयुङ र यसका अध्यक्ष ध्रुव राई हो ।’

गाउँको अवस्था बदलियो

साविकको तिम्मा, छिनामखु, अन्नपूर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क गाविस मिलाएर बनाइएको हो, टेम्केमैयुङ गाउँपालिका । २०७४ को निर्वाचन अघि मट्टितेलको टुकीमा अध्यारो चिर्नुपर्ने बाध्यता थियो, यो गाउँपालिकाका जनतालाई । अघिल्लो निर्वाचनमा उहाँको पहिलो प्रतिबद्धता थियो, ‘म अध्यारो गाउँपालिकालाई उज्यालो घोषणा गर्छु अर्थात् हरेकको घरमा बत्ती–विजुली बाल्छु । टुकीको युग समाप्त पार्छु’ उहाँको यो घोषणालाई धेरैले ‘नेताको चुनावी भाषण’ भन्दै पत्याएनन् । धेरैले भनेका थिए, ‘चुनावको बेला यो ‘ध्रुवे’ले ठूलो कुरा गर्दैछ । तर निर्वाचित भएपछि उहाँले आफ्नो गाउँपालिकालाई उज्यालो घोषणा गरेरै छोड्नुभयो ।

गाउँपालिकाको छ करोड ६० लाख रुपियाँ, नेपाल विद्युत् प्राधिकरणको छ करोड २० लाख रुपियाँ, संघीय सरकारको ५० लाख रुपियाँ र प्रदेश सरकारको ५० लाख रुपियाँ लागतमा गाउँपालिकाभरि विद्युत् बिस्तार भयो । गाउँपालिकाभर तीन हजार ७३८ घरमा बत्ती बल्यो । गाउँलाई उज्यालो बनाउँदाको उहाँको संघर्षको कथा निकै लामो छ । यसको निम्ती कैयनपटक आफ्नै ठूला नेतासँग चर्चरी झगडा गर्नु भयो । कर्मचारीहसँग पाखुरा सुर्कनुभयो । थर्काउनुभयो तर उहाँ कहिल्यै थाक्नुभएन । भन्नुहुन्छ्, ‘गाउँपालिकालाई उज्यालो पार्ने मेरो सपना र प्रतिबद्धताले मलाई निदाउन दिएन । थाक्न दिएन । अनेकौं अप्ठ्यारो र अबरोध पन्छाएर भएपनि प्रतिबद्धता पूरा गरेँ ।’ उहाँ आफै बिजुलीको पोल बोकेर खट्नुभयो ।

तीन साता अघि भोजपुरको भिन्तुना होटलको छतमा साँझ बसेर आफ्नो पालिकातिर हेर्दा निकै दंग हुनुुहुन्थ्यो । झिलिमिली बत्ती बलीरहेको देख्दा उहाँ बढो आनन्दित हँुदै भन्दै हुनुहुन्थ्यो, ‘यहाँबाट टेम्केमैयुङमा झिलिमिली बत्ती बलिरहेको देख्दा असाध्यै आनन्द पो लाग्छ । मेरो मनै उज्यालो हुन्छ ।’ त्यसो त यही बत्ती बालेर उहाँको पहिचान फेरिएको छ । काठमाडौं शहरमा बिजुली गएको बेला ‘कुलमान गयो’ भन्ने चलन छ । कुलमान अर्थात् उज्यालोको प्रतिक । टेम्केमैयुङमा बत्ती गयो भने ‘ध्रुवे गयो’ भनिने रहेछ ।

भोजपुरको अधिकांश गाउँपालिकामा अझैं विजुली बलेको छैन । बल्न अझैं दशक लाग्ने देखिन्छ । तर ध्रुव राई भोजपुरको पहिलो उज्यालो स्थानीय गाउँपालिका घोषणा गराउन सफल हुनुभयो । गाउँमा विजुली आएपछि टेम्केमैयुङवासीको जीवनशैलीमा आकाश–जमिनको फरक आएको छ । मट्टीतेलबाट बालिने टुकीहरू कथामा सीमित भएको छ । उहाँ भन्नुहुन्छ्, ‘गाउँमा विजुली आएपछि जीवनका धेरै पक्षमा उज्यालो आउने रहेछ ।’

त्यसो त विजुलीको कुरा मात्रै होइन उहाँको पालामा भौतिक पूर्वाधार र विकासका अनेक योजना सम्पन्न भएका छन् । गाउँपालिकाका ७५ प्रतिशत जनता फुसको छानोमुक्त भएका छन् । गाउँपालिकाभित्रको २८० किमि कच्ची सडक मर्मत भएको छ । १०९ किलोमिटर नयाँ सडक निर्माण भएको छ । २१ किमि सडक ग्राभेल सम्पन्न भएको छ । सबै वडामा स्वास्थ्य कार्यालयको भवन निर्माण भएको छ । गाउँपालिकामा १५ शैयाको अस्पताल भवन धमाधम बन्दैछ । अध्यक्ष राई भन्नुहुन्छ्, ‘भौतिक पूर्वाधारमा पनि हामीले धेरै ठूलो फड्को मारेका छौं ।’

अध्यक्ष राईको एउटा महत्वपूर्ण विशेषता हो, ‘उहाँ अरूलाई निर्देशन दिएर बस्नुहुन्न ।’ सकेसम्म आफै मैदानमा भिड्नुहुन्छ । त्यसको उदाहरण हो, बाँदर व्यवस्थापन । बाँदरको कारण गाउँपालिका धेरै जनता हैरान थिए । यतिसम्मकी कतिपय गाउँका जनता बाँदरकै कारण गाउँ छोड्नुपर्ने अवस्थामा पनि नपुगेका होइनन् । ध्रुव राई कतिपय अवस्थामा भरुवा बन्दुक बोकेर आफै बाँदर खेदाउन जङ्गल पुग्नु हुन्थ्यो ।

‘आइकन नेता’
भोजपुर बहुमुखी क्याम्पसमा दुई पटक स्ववियु सभापति हँुदं अनेरास्ववियुको केन्द्रीय राजनीतिबाट गाउँ फर्किएका अध्यक्ष राईको देशभरि अलग र गहिरो परिचय छ । अरूलाई जस्तो काठमाडौंमा पनि परिचय खोजीरहनुपर्ने भन्झट छैन उहाँलाई । नेता, मन्त्री, कर्मचारी सबैले ‘ध्रुवे राई’ भनेपछि चिन्छन् । यही परिचयको फाइदा उहाँले उठाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘म यो पाँच वर्षमा मुस्किलले तीनपटक काठमाडौं पुगेँ । योजना र बजेट फोनकै भरमा ल्याउन सफल भएँ ।’

पर्यटनको सन्दर्भमा पनि उहाँको गाउँपालिका भोजपुरकै एक नम्बर पर्यटकीय केन्द्र बनेको छ । नेपालका जानैपर्ने एक सय गन्तव्यमा परेको ‘मुन्दुम पदमार्ग’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनिएको छ । ‘मुन्दुम पदमार्ग’को भौतिक संरचना निर्माणदेखि यसको प्रचार–प्रसार र प्रबद्र्धनमा उहाँ आफै खट्नुभयो ।

आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार तथा प्रबद्र्धनको निम्ती उहाँले कहिले गीत गाउनुभयो, कहिले नाँच्न समेत भ्याउनुहुन्थ्यो । पत्रकार एक्सन राई भन्नुहुन्छ्, ‘कहिले मुन्दुम पदमार्गतिर गीत गाएको त, कहिले महभीर र सावा झरनामा नाँचेको दृश्य सामाजिक सञ्जालमा भाइरल भयो । प्रचार र प्रबद्र्धनको अध्यक्षजीको आफ्नै तरिका छ ।’ टेम्केमैयुङको पर्यटकीय स्थलको प्रचारप्रसार र प्रबद्र्धनमा अध्यक्ष राईको यसप्रकारको सिर्जनशीलताले असाध्यै ठूलो भूमिका खेलेको उहाँको भनाई छ ।

पर्यटन प्रबद्र्धनको पनि अनेक काइदा छ उहाँको । पछिल्लो पटक महभीर झरनामा नाँचिरहेको उहाँको दृश्य देशभरि भाइरल भयो । त्यसपछि कतिपयले उक्त झरनाको नामै ‘ध्रुवे झरना’ राखिदिए । उहाँको भाइरल भिडियोपछि धेरै मान्छे ‘ध्रुवे झरना’ खोज्दै पुगे । उहाँ भन्नुहुन्छ, ‘नेतृत्व सिर्जनशील पनि हुनुपर्छ । जे गर्दा आफ्नो पालिकाको समृद्धि र विकास हुन्छ । त्यस प्रकारको सम्भावनाको खोजी गर्छु ।’

तर आफू बदलिनुभएन

२०५४ सालमा उम्मेदवार बन्दा उहाँको हुलिया थियो, ‘धुलोमैलो मिसिएको कपडा, एक थान बाइक । सानो साइड ब्याग ।’ चर्को र खस्रो बोली । नेताहरूको साझा विशेषता हो, ‘पदमा पुगेपछि बदलिने ।’ तर ध्रुव राईको हुलिया उस्तै छ, ‘एक थान बाइक, मैलोले चुनौती दिइरहेको एक साइड ब्याक, उस्तै खस्रो बोली ।’ कतिपयले उहाँलाई भन्छन्, ‘खासमा ध्रुब राई नेता जस्तो नै छैन ।’ तर समाज र राजनीतिलाई गहिरोगरी बुझ्नेहरू भन्छन्, ‘खासमा नेता हुनु त ध्रुव राई जस्तो ।’

हाम्रो समाजमा नेताको बिषयमा एउटा मानक बनेको छ । एउटा बिम्ब बनेको छ । त्यो बिम्ब हो, ‘नेता सुकिलामुकिला हुन्छन् । गमलामा राखिएको सुन्दर फूल जस्तो चिटिक्क । नेता गाउँ पस्दा लावालस्कर सहित चिल्ला गाडीमा गाडीको लस्कर सहित छिर्छ । सकभर हेलिकोप्टरमा धुलो उडाएर बस्छ ।’ तर जनताले यो नेता कुन पैसाले चिल्लो गाडीमा आइरहेको छ ? कुन पैसाले हेलिकोप्टर चढरहेको छ ? प्रश्न कहिल्यै गर्दैनन् ।

हो, लावालस्कर सहित धुलो उडाउँदै गाउँ छिर्ने मात्रैलाई नेता मान्नेहरूको अर्थमा ध्रुव राई बिलकुल नेता होइन । उहाँ गाउँकै सामान्य मान्छे जसरी भटभटे बाइकमा धुलो बोकेर गाउँघर छिर्नुहुन्छ । नक्कली कुरा गर्नुहुन्न । बरू उही खस्रो बोलीमा ठाडो बोल्नुहुन्छ । कतिपयलाई लाग्छ, ‘अध्यक्षको बोली चै ठीक छैन ।’ तर उहाँलाई नजिकबाट बुझ्नेहरू भन्छन्, ‘जे छ त्यही बोल्ने, सिधा बोल्ने र नक्कली कुरा नगर्ने उहाँको शैली नै सम्पत्ति हो ।’ सबै जसो गाउँपालिकाका प्रमुख र उपप्रमुखले गाडी खरिद गरे । उहाँले पनि चाहेको भए चिल्लो गाडी खरिद गर्न सक्नुहुन्थ्यो । तर, उहाँ भन्नुहुन्छ, ‘गाडी खरिद गरेपछि, चालक राख्नुपर्छ । तेल हाल्नुपर्छ । मर्मत गर्नुपर्छ । गाडीको निम्ती लाग्ने लाखौं खर्च पालिकाको विकासमा लगाउनु उपयुक्त हुन्छ भनेर खरिद नगर्ने निर्णय गरेको हुँ ।’

अबको सपना जनताको अवस्था बदल्ने
ध्रुव राई दोस्रो पटक फेरि अध्यक्षको लागि मैदानमा हुनुहुन्छ । ‘फेरि दोस्रो पटक किन त ?’ ‘पहिलो पाँच वर्षका धेरै अपूरा काम छन्,’ उहाँको उत्तर छ, ‘भौतिक पूर्वाधारका काम धेरै अपुरा छन् । पहिलो, ति काम पूरा गर्नुछ । दोस्रो, यो पहिलो कार्यकाल भौतिक पूर्वाधारसँग सम्बन्धित काममा अधिकांश समय बित्यो । अब दोस्रो कार्यकालमा जनताको जीवन परिवर्तन हुने गरी रूपान्तरण र समृद्धिको काम गर्छु । गाउँको अवस्था बदलेको छु, अब जनताको अवस्था बदल्छु ।’

दोस्रो, जनताको अवस्था बदल्नका लागि लामो कार्यसूची छ, अध्यक्ष राईसँग । तुलनात्मक रूपमा उहाँको गाउँपालिका भोजपुरको सबैभन्दा उर्बर पालिका हो । राजनीतिदेखि, कर्मचारी, प्रहरी र देशका उच्च निकायमा उत्साहजनक उपस्थिति छ, उहाँको गाउँपालिकाबाट । कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा गर्ने नयाँ कामको लामो फेहरिस्त बोकेर उहाँ चुनावी मैदानमा हुनुहुन्छ । भन्नुहुन्छ, ‘म गर्न सक्ने मात्रै बोल्छु । मैले धेरै कुरा भनेको छैन । तर आगामी पाँच वर्षमा मेरो गाउँपालिकालाई देशकै उत्कृष्ट गाउँपालिका बनाउँछु ।’

उहाँको यसपालीको संकल्प र सपना पनि गजबको रहेछ । भन्नुहुन्छ्, ‘अब पाँचवर्षमा यस्तो गाउँपालिका बन्नेछ कि देशभरका मान्छे हाम्रो सफलताको सूत्र बुझ्न यहाँ आउनेछन् ।’ पर्यटनमा प्रदेश एककै एक नम्बर गन्तव्य बनाउने योजना रहेछ उहाँसँग । कृषिको आधुनिकीकरणका लागि योजना बुन्नुभएको छ । शिक्षाको हिसाबले हरेक घरमा कम्तीमा एकजना उत्कृष्ट जनशक्ति निर्माणको योजना छ । भन्नुहुन्छ, ‘अवस्था हेरेर हरेक घरमा कम्तीमा एकजना उत्कृष्ट जनशक्ति निर्माणको अभियान सञ्चालन गर्छु । अवस्था हेरेर कुनै घरमा निजामति क्षेत्रको अधिकृत होला, कुनैमा प्रहरीको अधिकृत होला, कुनैमा डाक्टर वा इन्जिनियर होला । त्यस हिसाबले अभियान सञ्चालन गर्छु ।’
हरेक जनताको घरमा विजुली बालेजस्तै हरेक टोलमा पक्की सडक लैजाने योजना छ अध्यक्ष राईमा ।

‘जनता बदल्छु म बदलिन्नँ’
ध्रुव राईको भोजपुरमा अनेक किस्सा छ । आलोचना र गुनासो पनि छ । त्यो मध्येको एउटा आलोचना रहेछ, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहको । अधिकांश प्रमुखले अनौपचारिक गफमा भन्ने गरेका रहेछन्, ‘टेम्केमैयुङको अध्यक्ष नेता जस्तो भएनन् । बैठकमा आउँदा समेत धुलोमैलो भएर आउँछन् । हाफपाइन्ट लगाएर बस्छन् । केही काम ढिलो भयो भने सिधैं जाइलाग्छन् ।’
तर ध्रुव राईलाई भने यही आलोचनाप्रति गर्व छ । भन्नुहुन्छ्, ‘म एउटा गरिब परिवारमा जन्मिएर जनताको सेवामा लागेको सामान्य मान्छे हुँ । यो बदलियो । सुकिलामुकिला भयो भनेर आलोचना गरिएको छ भनेको भए चै मलाई पीडा हुन्थ्यो । जनता जस्तै सामान्य छ भन्दा दुःखी किन हुनु ? खुसी पो लाग्छ ।’
नेता, समाज र राजनीतिप्रति उहाँको अलग मान्यता छ । भन्नुहुन्छ, ‘नेता भएपछि जनतासँग दूरीमा बस्नुपर्छ, चिटिक्क भएर मञ्चमा मात्रै देखिनुपर्छ, नक्कली कुरा भए पनि मिठो बोल्नुपर्छ । यसप्रकारको मान्यताप्रति मेरो फिटिक्कै सहमति छैन । हामी जे हो त्यही देखिनुपर्छ । हामी जनताको सेवक हौं । जनता जस्तै हुनुपर्छ । जनता बदल्ने हो आफू बदलिने होइन ।’
कुनै बास्ना आउने अत्तरसँग कहिल्यै भेट हुन्न उहाँको शरीरको । राई जिस्किएर भन्नुहुन्छ, ‘मेरो ज्यानमा पसिनाको सुगन्ध आउँदा कसैलाई नेता जस्तो नलागे नलागोस् ।’

‘जनताको अवस्था बदल्ने’ संकल्प, सपना र प्रतिबद्धता बोकेर उही ध्रुव राई फेरि दोस्रो पटक मैदानमा उत्रिनुभएको छ । उहाँको उही कुरा छ, ‘दोस्रो कार्यकालमा म मेरो गाउँपालिकालाई यस्तो बनाउनेछु कि देशभरिका मान्छे यसको सफलताको कथा लेख्न आउनेछन् । टेम्केमैयुङको वासिन्दा हुँ भन्दा देशभरि गर्व गर्ने अवस्था बनाउनेछ ।’ गाउँलाई उज्यालो र गाउँका पर्यटकीय स्थलहलाई चिटिक्क बनाएर आफू चै उसैगरी ज्यानभरि धुलोमैलो बोकेर दौडिरहेका ध्रुव राईको ‘जनताको अवस्था बदल्ने’ सपना पूरा हुन्छ या हुँदैन ? त्यो यही बैशाख ३० गतेको चुनावमा छिनोफानो हुनेछ ।

प्रस्तुती : राजेश राई



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..