१४ मंसिर २०७९, बुधबार

एमालेको विजययात्रा सुनिश्चित भयो : भुसाल

प्रकाशित मिति :  १३ बैशाख २०७९, मंगलवार १६:५५



भैरहवा । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारको विजय यात्रा सुनिश्चित भएको पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुसालले वताउनुभएको छ । उहाँले एमालेका उम्मेदवारहरूको इमान्दारी र असलपनले नै नगरबासीको मन जित्ने बताउनुभयो । उहाँले निर्वाचनमा इमान्दार र असल व्यक्तिलाई मत दिनुपर्ने समेत बताउनुभयो ।
नेकपा एमाले सिद्धार्थ नगर कमिटीद्वारा आयोजित उम्मेदवारहरूको परिचय तथा पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले भन्नुभयो, ‘सिद्धार्थनगरमा मेयरका उम्मेदवार डा. रामप्रसाद बस्याल राजनैतिक इमान्दारी र परिपक्कताको दृष्टिले अत्यन्तै असल छविका व्यक्ति मात्रै होइन आम सिद्धार्थनगरबासीको रोजाईको हिसाबले पनि सबैको साझा उम्मेदवार बन्नुभएको छ ।’
पत्रकार सम्मेलनमा एमाले रुपन्देही प्रचार विभाग प्रमुख हितराज पन्थीले एमालेको राष्ट्रियता, देशभक्ति र समग्र मुलुकको दीर्घकालीन विकासको योजना नै जितको मुख्य आधार भएकोे बताउनुभयो । सिद्धार्थनगरमा गएको पाँच बर्षमा एमाले नेतृत्वले गरेका विकासका काम आगमी निर्वाचनमा जितको अर्को आधार हो ।
चार दशकदेखि एमालेको राजनीतिमा सक्रिय मेयरका उम्मेदवार डा. बस्यालले सिद्धार्थनगरमा उदाहरणीय काम गर्दै जनताको सेवक हुने गरी आफूले उम्मेदवारी दिएको स्पष्ट पार्नु भयो ।
यसैगरी उपमेयरको उम्मेदवार उमा अधिकारीले सामाजिक रूपान्तरण र चेतनाको स्तरबृद्धि गर्नेगरी आफूहरूले काम गर्ने वताउनुभयो ।
नगर अध्यक्ष चक्र बहादुर थापाले सिद्धार्थनगरमा एमालेको प्रतिस्पर्धी कोही छैनन् भन्नुभयो । पत्रकार सम्मेलनमा सिद्धार्थनगरका नगर प्रमुख हरिप्रसाद अधिकारी, प्राज्ञ सभाका सदस्य प्रा.डा कपिलदेव लामिछाने, शिक्षाविद् प्राध्यापक बालकृष्ण भट्टराई लगायतले एमालेबाट उम्मेदवार रहेका डा. रामप्रसाद बस्यालको टिम तुलानात्मक हिसाबले अन्य दलका उम्मेदवार भन्दा इमान्दार र असल भएको भन्दै सबै नगरबासीले जिताउनुपर्नेमा जोड दिनुभयो ।
सिद्धार्थनगरमा एमालेको तर्फबाट उम्मेदवार रहेका डा बस्याल पेशाले चिकित्सक हुनुहुन्छ । पाल्पामा जन्मिएर भारतमा पढेर २०२८ सालमा नेपाल आउनुभएका डा.वस्यालले भैरहवालाई २०३२ सालदेखि कार्यक्षेत्र बनाएर जनताकोे सेवा गर्दै आउनुभएको छ । उहाँ कम्युनिस्ट आन्दोलनका एक सच्चा र परिपक्क सिपाही पनि हुनुहुन्छ ।
कलेज अवस्थादेखि नै राजनीतिमा रूचि थियो उहाँमा । भारतमा अध्ययन गर्दा नेपाली छात्र सङ्घको नेता बन्नुभयो । चिकित्सक पेशासंगै डा. वस्याल पाल्पाबाट २०४२ सालमा जनपक्षीय उम्मेदवार बन्नु् भएको थियो ।
भैरहवामा मात्र होइन, भैरहवा वरिपरिका ग्रामीण भेग र भारतको महाराजगंज जिल्लामा पनि उहाँ असल डाक्टरका रूपमा लोकप्रिय हुनुहुन्छ ।
भूमिगत अवस्थामा कम्युनिस्ट आन्दोलनका नेताहरूका निजी डाक्टर जस्तै हुनुहुन्थ्यो डा. बस्याल । तत्कालीन समयमा कम्युनिष्ट पार्टीको राजनीति जोखिमपूर्ण थियो, ज्यान समेत जान सक्थ्यो । तर, उहाँको निवास नेताहरूको बिसौनी थियो । वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि केन्द्रीय नेताहरू उहाँका घरमा सुरक्षित हुन्थे ।
राजनीतिमा त्याग, धैर्यता र नियमित क्रियाशीलका नमुना हुनुहुन्छ डा. बस्याल । गत २०७४ को निर्वाचनमा पार्टीलाई एकजुट बनाउन उहाँले नगर प्रमुखमा आफ्नो दावी त्याग गर्नु भयो । दावी छाड्ने मात्र होइन उम्मेदवारको झोला बोकेर हिड्नुभयो , सिद्धार्थ नगरमा सफलता मिल्यो । त्यसैको प्रतिफल पनि होला उहाँलाई टिकट मिल्दा उहाँको झोला बोक्नेको पनि कमी छैन ।
नेकपा एमालेले २०७९ को स्थानीय निर्वाचनमा सिद्धार्थ नगरपालिकाको प्रमुखमा उमेरले पाका, सोचेर मात्र बोल्ने, टिममा विश्वास गर्ने राजनीतिक संस्कार भएका भैरहवालाई ५० बर्षदेखि बुझेका, भैरहवाका लाखांै विरामीलाई आफु र आफ्नी पत्नी डा. निशासंगै सेवा गरेका, आर्थिक अभाव भएका हजारांैलाई निःशुल्क सेवा दिएका , सबैसँग मिलानसार डा.बस्याललाई नगर प्रमुखमा उम्मेदवार बनाएको छ ।
यसले भैरहवाको पार्टी पङ्क्तिमा एमाले पार्टीलाई नजिकबाट बुझेका कार्यकर्ताका बीचमा उत्साह छाएको छ । आज सफलता मिले मात्र भोलि पनि सफल हुन सकिन्छ भन्ने सत्य सबैले बुझ्नु पर्दछ ।
यसैगरी नेकपा एमालेको तर्फबाट सिद्धार्थनगर नगरपालिकाको उपमेयरमा उम्मेदवार बन्नुभएकी उमा अधिकारी लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहनुभएकी एमाले जिल्ला कमिटी सदस्य हुुनुहुन्छ ।
अध्ययनको सिलसिलामा भैरहवा बहुमुखी क्याम्पसमा तत्कालीन अनेरास्ववियुका नेता पार्थिवेन्द्र उपाध्ययसँग विहे भएपछि उहाँ नेकपा एमालेमा सक्रिय बन्नुभयो । उपाध्याय २०५१ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भैरहवाका लोकप्रिय नेता स्व धनपति उपाध्यायका कान्छा छोरा हुनुहुन्छ ।
अधिकारीले स्नातकोत्तर तहसम्मको अध्ययन गर्नु भएको छ । उहाँ भैरहवामा युवा र बिद्यार्थी माझ लोकप्रिय हुनुहुन्छ । उमा नेकपा एमालेमा दुई कार्यकाल क्षेत्रीय कमिटी सदस्य र दुई कार्यकाल जिल्ला कमिटी सदस्य भइसक्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !

२०१४ साल कात्तिक १५ गते ‘नवयुग’ पहिलोपटक साप्ताहिकका रुपमा प्रकाशित भएको थियो ।
अविभाजित नेपाल कम्युनिस्ट पार्टीको मुखपत्रका रुपमा यसको पहिलो अङ्कको मुख्य समाचारमा छापिएको थियो, ‘विधानसभाको लागि कम्युनिस्ट पार्टी सङ्घर्षशील ।’ पहिलो अङ्क (अङ्क १) को मूल्य १० पैसा थियो । ०४७ मा तत्कालीन नेकपा (माले) ले ‘नवयुग’लाई आफ्नो मुखपत्रका रुपमा आत्मसात गरेर प्रकाशन अघि बढाएको थियो । ०५५ सम्म यसको प्रकाशन अनियमित र विभिन्न स्वरुपमा भयो । थप..