info@nawayug.com

विभिन्न माग राख्दै बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी

सर्लाही । बागमती सिँचाइ आयोजनाको कार्यालयमा तालाबन्दी गरिएको छ । मंगलबार ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीले सर्लाहीको कर्मैयास्थित कार्यालयमा तालाबन्दी गरेको हो ।

उमेर हदका आधारमा दैनिक ज्यालादारी कर्मचारीलाई हटाउने निर्णयको विरोधमा संघर्ष समितिले आन्दोलन थालेको हो । सोही क्रममा मंगलबार कार्यालयको मूल गेटमा ताला लगाउनका साथै ज्यालादारी कर्मचारीले धर्ना दिएका छन् ।

उनीहरूले दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्न, ०८३ कात्तिक ११ गते प्रकाशित सिँचाइ नर्म्समा सुधार गर्न माग गरेका छन् ।

आन्दोलनका पूर्वघोषित कार्यक्रम अनुसार मंसिर १ देखि ७ गतेसम्म कार्यालयको मूल गेटमा तालाबन्दी र धर्ना दिइने ज्यालादारी कर्मचारीहरूको संघर्ष समिति/आन्दोलन परिचालन कमिटीका संयोजक सुरज पासवानले जनाए ।

आयोजनामा विभिन्न पदमा कार्यरत २४४ जना ज्यालादारी कर्मचारी कार्यरत छन् ।

उनका अनुसार मंसिर ८ देखि १३ गतेसम्म सवारी साधन प्रवेश गेट र कार्यालयको मूल गेटमा समेत तालाबन्दी गरेर धर्नामा बस्ने, मंसिर १४ देखि हेडवर्क्स ब्यारेजका गेटहरू ‘सर्भिस मोड’मा राखेर माग पूरा नभएसम्म धर्नामा बस्ने कार्यक्रम छ ।

संघर्ष समितिका सदस्य उद्धव घिमिरेले आजका दिनसम्म कार्यालयका तर्फबाट आन्दोलनरत पक्षसँग वार्ताका लागि पहल नभएको जानकारी दिए । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

प्रतिक्रिया