info@nawayug.com

विश्वकप-२०२६: अर्जेन्टिना र इंग्ल्याण्ड आमनेसामने


फिफा विश्वकप-२०२६ को सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड आमनेसामने हुँदैछन्। चार दशकभन्दा बढी समयदेखि चलिरहेको प्रतिद्वन्द्वितामा फेरि अर्को कथा लेखिन गइरहेको छ, अर्को अध्याय सुरु हुन लागेको छ। यो केवल फाइनल प्रवेशको लडाइँ मात्र होइनस इतिहास, भावना, गौरव र फुटबलको एउटा अमिट संगम हो। सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ ले हराएको थियो भने इंग्ल्याण्डले नर्वेमाथि २–१ को अतिरिक्त समयको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

विश्व फुटबलमा केही खेलहरू यस्ता हुन्छन्, जसको मूल्य केवल ९० मिनेटको नतिजाले मात्र निर्धारण गर्दैन। केही खेलहरूले इतिहास सम्झन बाध्य पार्छन् अनि राजनीति, राष्ट्रिय भावना र राष्ट्रिय स्वाभिमान एकै पटक मैदानमा पोखिन्छन् र पुस्तौँसम्म मानिसहरूको सम्झनामा अमिट छाप छोड्छन्। अर्जेन्टिना र इंग्ल्याण्डबीचको प्रतिस्पर्धा पनि त्यस्तै एउटा कथा हो। यो एउटा फुटबल खेल मात्र होइनस इतिहास, जोस, प्रतिद्वन्द्विता र सम्मानको लडाइँ हो। कयौँ वर्षदेखि यी दुई देशबीच हुने खेल विश्वकै सबैभन्दा ठुलो आकर्षणको रूपमा रहने गरेको छ। मैदानभित्र खेल्ने ११/११ जना खेलाडीको मात्र होइन, मैदानबाहिर रहने करोडौँ समर्थकहरूको लागि यो खेल एउटा आत्मसम्मान, गौरव र भावनात्मक क्षण पनि हो।

फकल्याण्ड टापु, जसले दुई राष्ट्रलाई टाढा बनायो

दक्षिण एटलान्टिक महासागरमा रहेको, करिब ५,००० जनसङ्ख्या भएको फकल्याण्ड टापुले गर्दा यी दुई देशबीच लामो समयदेखि विवाद रहँदै आएको छ। अहिले यो टापुमाथि बेलायतले नियन्त्रण कायम गरेको छ भने अर्जेन्टिनाले यसलाई आफ्नो ऐतिहासिक भूमि भएको दाबी गर्दै आएको छ।

सन् १९८२ अप्रिल २ देखि जुन १४, १९८२ सम्म फकल्याण्ड टापु विवादमा यी दुई देशबीच भीषण युद्ध भयो। करिब ७४ दिनसम्म चलेको युद्धमा दुवै देशका करिब एक हजार सैनिकले ज्यान गुमाए। अन्ततः अर्जेन्टिनाको हारपछि बेलायतले टापुमाथि पुनः नियन्त्रण कायम गर्‍यो। यस युद्धमा बेलायतको तर्फबाट बेलायती सेनामा भर्ना भएका गोर्खाली सेनासमेत सहभागी भएका थिए। युद्ध समाप्त भए पनि युद्धले छोडेको भावनात्मक घाउ भने दुवै देशका नागरिकको मनमा अहिले पनि गढिएर रहेको छ।


युद्धपछिको पहिलो विश्वकप: मेक्सिकाे-१९८६

युद्ध समाप्त भएको चार वर्षपछि मेक्सिकोमा आयोजित १९८६ को विश्वकपमा अर्जेन्टिना र इंग्ल्याण्डबीच यस्तो खेल भयो, जुन आजसम्म विश्व फुटबलकै सबैभन्दा चर्चित, विवादित र बहस भएको खेल हो। यही खेलले अर्जेन्टिनाका म्याराडोनालाई विश्वकै सबैभन्दा चर्चित र विवादित बनायो। दुवै देशका समर्थकहरूका लागि यो खेल सधैँका लागि अविस्मरणीय परिघटनाको रूपमा रहिरहनेछ।

२२ जुन १९८६ मा मेक्सिको सिटीको ‘एस्टाडियो एज्टेका’ स्टेडियममा अर्जेन्टिना र इंग्ल्याण्ड क्वाटरफाइनलमा आमनेसामने भए। भर्खरै इंग्ल्याण्डसँग युद्धमा पराजित अर्जेन्टिनी समर्थकका लागि त्यो केवल फुटबल खेल थिएनस त्यो राष्ट्रिय सम्मानको अवसर थियो र युद्धमा भोगेको पराजयको बदला लिने अवसर थियो। इंग्ल्याण्डका समर्थकका लागि भने यो आफ्नो उत्कृष्ट टोलीले विश्वकप यात्रा अघि बढाउने अवसर थियो। त्यही खेलमा डिएगो म्याराडोनाले दुई फरक खालका तर विश्वविख्यात बनेका गोल गरे। खेलको ५१ औँ मिनेटमा म्याराडोनाले हातद्वारा गरेको गोललाई खेलका मुख्य रेफ्री र लाइन्सम्यानले नदेख्दा गोलको मान्यता दिए, जसको इंग्ल्याण्डका खेलाडीहरूले व्यापक विरोध गरेका थिए। तर, त्यो गोल भएको ४ मिनेटपछि नै म्याराडोना एक्लैले करिब ६० मिटर टाढादेखि इंग्ल्याण्डका ५ जना खेलाडीलाई छलाउँदै लगेर एउटा उत्कृष्ट गोल गरे र खेल अर्जेन्टिनाले जित्यो। म्याराडोनाले गरेको यो दोस्रो गोल फुटबल इतिहासकै सबैभन्दा सुन्दर गोल हुनुका साथै फिफाले यसलाई ‘गोल अफ द सेन्चुरी’ को मान्यता दिएको थियो। यसरी एकै खेलमा भएका दुई गोलमध्ये एउटा सबैभन्दा विवादित र अर्को शताब्दीकै उत्कृष्ट भएको हुनाले यो खेलले म्याराडोनालाई सधैँका लागि अमर बनायो। एउटै खेलले विवाद पनि जन्मायो र सौन्दर्य पनि। त्यसैले १९८६ को अर्जेन्टिना–इङ्ल्याण्ड खेल फुटबल इतिहासमा सदैव जीवित रह्यो।

२०२६: इतिहास फेरि दोहोरिने मोडमा

अब फेरि विश्व फुटबलले इतिहासलाई नयाँ पानामा लेख्ने अवसर पाएको छ। २०२६ विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इंग्ल्याण्ड फेरि आमनेसामने छन्। विश्वभरका समर्थकले यस खेललाई प्रतियोगिताकै सबैभन्दा भावनात्मक र ऐतिहासिक खेलमध्ये एकका रूपमा हेरिरहेका छन्। यो पहिलो पटक हो, जब लियोनेल मेसीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा इंग्ल्याण्डविरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्ने भएका छन्। एकातिर विश्व च्याम्पियन अर्जेन्टिना छ, जसले आफ्नो उपाधि जोगाउने सपना बोकेको छ। अर्कोतिर १९६६ पछि फेरि पहिलो विश्वकप जित्ने आशामा रहेको इंग्ल्याण्ड छ। यो खेलमा केवल दुई टोली मात्र भिड्ने छैनन्स यहाँ म्याराडोनाको फेरि सम्झना हुनेछ अनि मेसीको अन्तिम विश्वकप यात्राको सम्भावित निर्णायक मोड हुनेछ। त्यस्तै, इंग्ल्याण्डका कप्तान ह्यारी केन र नयाँ पुस्ताका प्रभावशाली खेलाडी जुड बेलिङ्घमजस्ता खेलाडीका लागि १९८६ को बदला लिने अवसर हुनेछ। यो करोडौँ समर्थकहरूका लागि इतिहास, भावना र फुटबलले लेख्ने यस्तो कथा हुनेछ, जुन प्रत्येक पुस्ताले फेरि पढ्नेछ।

प्रतिक्रिया