info@nawayug.com

उत्कृष्ट करदाताका रूपमा नबिल बैंक सम्मानित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमध्ये राज्यलाई सबैभन्दा बढी आयकर बुझाएको भन्दै सरकारले नबिल बैंकलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय क्षेत्रतर्फ सबैभन्दा बढी कर दाखिला गरेको कदरस्वरूप बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । प्रचलित आयकर ऐनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो करयोग्य आयमा ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ ।

नबिल बैंकसँगै चौधरी ग्रुप (सिजी) अन्तर्गतको सिजी इम्पेक्स प्रा.लि पनि सम्मानित भएको छ । सरकारले सिजी इम्पेक्सलाई वस्तु व्यापारतर्फ उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो ।

समूहका दुई संस्थाले सम्मान प्राप्त गरेपछि चौधरीले नेपालको कुल कर राजस्वमा चौधरी ग्रुप र नबिल परिवारको संयुक्त योगदान २.५ प्रतिशतभन्दा बढी रहेको जानकारी दिए । उनले यस उपलब्धिका लागि संस्थामा आबद्ध कर्मचारीहरूको मेहनत र सेवाग्राहीहरूको विश्वासप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया