info@nawayug.com

राष्ट्र बैंकको सम्पत्ति–दायित्व ३९ खर्बको हाराहारीमा, ब्याज आम्दानी उत्साहजनक

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ। बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको वासलात तथा आयविवरण अनुसार कुल सम्पत्ति, निक्षेप, इक्विटी र खुद सञ्चालन आम्दानीमा उल्लेख्य विस्तार देखिएको हो ।

यस अवधिमा कुल सम्पत्तिमा लगानीको अंश ८९.७२ प्रतिशत, नगद तथा बैंक मौज्दात सम्पत्तिको अंश ६.८७ प्रतिशत र बाँकी अन्य सम्पत्तिको अंश ३.४१ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा उपर्युक्त सम्पत्तिहरूको अंशक्रमशः ८८.९२ प्रतिशत, ७.३२ प्रतिशत र ३.७६ प्रतिशत रहेको थियो ।

२०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा यस बैंकले विभिन्न उपकरणमा गरेको लगानी ४६.३६ प्रतिशतले वृद्घि भई ३४ खर्ब ७६ अर्ब ५१ करोड ७ लाख ४१ हजार कायम भएको छ । २०८२ असार मसान्तमा उपरोक्तबमोजिमको लगानी रु.२३ खर्ब ७५ अर्ब २६ करोड २ लाख ९१ हजार रहेको थियो ।

२०८२ असार मसान्तको तुलनामा २०८३ असार मसान्तमा यस बैंकको नगद तथा बैंक मौज्दात सम्पत्ति ३६.१८ प्रतिशतले वृद्घि भई रु.२ खर्ब ६६ अर्ब २७ करोड ७४ लाख ३६ हजार कायम भएको छ । २०८२ असार मसान्तमा नगद तथा नगद सरहका सम्पत्ति रु.१ खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार रहेको थियो । असार मसान्तको कुल दायित्व तथा इक्विटीमा दायित्वको अंश ७३.१२ प्रतिशत र इक्विटीको अंश २६.८८ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा उपर्युक्त दायित्व तथा इक्विटीहरूको अंश क्रमशः ७४.६९ प्रतिशत र २५.३१ प्रतिशत रहेको थियो ।

२०८२ असार मसान्तको तुलनामा चलनचल्तीमा रहेको नोट ६.८७ प्रतिशतले वृद्घि भई २०८३ असार मसान्तमा ८ खर्ब १ अर्ब ६२ करोड ६७ लाख ७२ हजार कायम भएको छ । २०८२ असार मसान्तमा चलनचल्तीमा रहेको नोटको रकम ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको यस बैंकमा स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप ५९.१३ प्रतिशतले वृद्घि भई २०८३ असार मसान्तमा १६ खर्ब ७५ अर्ब ९५ करोड ५८ लाख ८८ हजार रहेको छ । २०८२ असार मसान्तमा त्यस्तो निक्षेप दायित्व १० खर्ब ५३ अर्ब १७ करोड ९१ लाख ३९ हजार रहेको थियो ।

यस बैंकमा रहेको सरकारको निक्षेप १ खर्ब ८६ अर्ब ८५ लाख ३० हजार रहेको छ भने कुल इक्विटीमा ५४.०५ प्रतिशतले वृद्धि भएको छ । यस अन्तर्गत जगेडा कोष ५४.४५ प्रतिशतले वृद्धि भई १० खर्ब ३६ अर्ब ४३ करोड ३३ लाख ९५ हजार रहेको छ । बैंकको शेयर पुँजी ५ अर्ब रहेकोमा २०८३ असार मसान्तमा समेत सोही रकम कायम रहेको छ ।

२०८२ साउन १ गतेदेखि २०८३ असार ३२ गतेसम्मको आयविवरण अनुसार आर्थिक वर्ष २०८/८३ मा नेपाल राष्ट्र बैंकको जम्मा खुद संचालन आम्दानी अघिल्लो वर्षको तुलनामा ६.४८ प्रतिशतले वृद्धि भएर ९३ अर्ब ९२ करोड २० लाख २६ हजार कायम भएको छ । आर्थिक वर्ष २०८२/३ को खुद संचालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश १००.६९ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी २.२८ प्रतिशत ऋणात्मक र अन्य सञ्चालन आम्दानीको अंक १.५९ प्रतिशत रहेको छ ।

खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ८.६३ प्रतिशतले वृद्धि भई ९४ अर्ब ५६ करोड ४९ लाख ७४ हजार कायम भएको छ भने विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी २ अर्ब १३ करोड ८८ लाख ४० हजार ऋणात्मक रहेको छ । त्यसैगरी, अन्य आम्दानी १ अर्ब ४९ करोड ५८ लाख ९३ हजार भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभरहानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार कायम भएको छ । यस्तो खुद आय आर्थिक वर्ष २०८१/८२ मा ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भएको थियो । समीक्षा वर्षको लेखापरीक्षणसमेत निर्धारित समयमै सम्पन्न भई मिति २०८३/०७/३० को सञ्चालक समितिको बैठकले बैंकको खुद मूनाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ४२ अर्ब सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया