विराटनगर । मोरङको रतुवामाईमा घरनजिकै खेल्न गएका ४ वर्षीय बालकको शव निर्माणाधीन घरको सेप्टिक ट्यांकीका लागि खनिएको खाल्डोमा भेटिएको छ। खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा सोमबार दिउँसो उनको शव फेला परेको हो।
रतुवामाई नगरपालिका–५ गोविन्दपुरका आशिक राजवंशीका छोरा रञ्जन आइतबारदेखि बेपत्ता थिए। घरनजिकै रहेको ठूलो बुबाको घरमा खेल्न गएका उनी बुवाले घर फर्कन भनेपछि त्यहाँबाट निस्किएका थिए। तर, घर नफर्किएपछि परिवारले उनको खोजी सुरु गरेको थियो।
बालक नभेटिएपछि आइतबार साँझ ५ः३० बजे बुवाले प्रहरी चौकी गोविन्दपुरमा जानकारी गराएका थिए। त्यसपछि प्रहरीले पनि खोजी थालेको थियो।
खोजीका क्रममा सोमबार दिउँसो घरदेखि करिब ७०० मिटर पूर्व कार्की टोलस्थित मोहम्मद अब्दुल्लाको निर्माणाधीन घरको सेप्टिक ट्यांकीका लागि खनिएको खाल्डोमा बालकको शव भेटिएको हो। खाल्डोमा जमेको पानीमा बालक डुबेको अवस्थामा स्थानीय सिलिया देवीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।
सूचनापछि इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक रूपमा घटना शंकास्पद देखिएको छैन। खेल्ने क्रममा बालक खाल्डोमा खसेर डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com