info@nawayug.com

भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले प्रतिपरिवार १ लाख दिने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले गत साता बाढी प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आर्थिक सहयोग घोषणा गरेका थिए ।

नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित ‘समुन्नति कार्यक्रम’मार्फत प्रभावित परिवारलाई नगद सहायता उपलब्ध गराउनेछ । यससम्बन्धी सम्झौतामा मंगलबार मन्त्रालय र नेपाल रेडक्रसबीच हस्ताक्षर भएको छ ।

मन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले सहायता दिइनेछ । प्रारम्भिक अनुमानअनुसार करिब ६ हजार परिवार बाढीबाट प्रभावित छन् ।

नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्क र आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही छनोट गरिनेछ । छनोट भएका लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ ।

प्राप्त रकम प्रभावित परिवारले खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनलगायत प्राथमिक आवश्यकतामा खर्च गर्न सक्नेछन् ।

नगद सहायता वितरणमा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकसहित विशेष जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइनेछ ।

सम्झौताअनुसार मन्त्रालयले नीतिगत निर्देशन, अनुगमन तथा समन्वय गर्नेछ भने स्थानीय तहले लाभग्राही पहिचान र प्रमाणीकरणमा सहयोग गर्नेछ । नेपाल रेडक्रसले नगद तथा भौचर वितरण, समुदायसँगको समन्वय, अनुगमन र जवाफदेहितासम्बन्धी काम गर्नेछ ।

यसैबीच, नेपाल रेडक्रसले भोटेकोशी बाढीपछि मानवीय सहायता जारी रहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण तथा लैङ्गिक र समावेशीकरणलगायतका क्षेत्रमा सहयोग भइरहेको रेडक्रसले जनाएको छ।

प्रतिक्रिया