काठमाडौँ । दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार गत असोज २५ देखि कात्तिक ८ गतेसम्म देशभर एक हजार ३३९ वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाले ज्यान गुमाएका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार दुर्घटनामा घाइते भएकामध्ये ४३७ जनाको अवस्था गम्भीर रहेको छ भने दुई हजार ५५१ जना सामान्य घाइते भएका छन्।
प्रदेशगत तथ्याङ्कअनुसार सबैभन्दा बढी सवारी दुर्घटना कोशी प्रदेशमा भएका छन्। कोशीमा ३९७ वटा दुर्घटना हुँदा मधेश प्रदेशमा सबैभन्दा कम ८० वटा दुर्घटना भएका छन्। प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेका छन्।
गत वर्षको दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए। यस वर्ष भने दुर्घटनाको सङ्ख्या घटेको देखिएको छ।
यसैबीच, दसैँ अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ जना सवारी चालक कारबाहीमा परेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४ जना र क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ जना सवारी चालकसमेत कारबाहीमा परेको प्रहरीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com