info@nawayug.com

गोर्खा लाहारिद्वारा दैवी प्रकोप उद्धार कोषमा ६३ लाख ६५ हजार सहयोग

हेटौँडा । ​  हेटौँडास्थित गोर्खा लाहारि प्रा.लि.ले देशमा बाढीपहिरोबाट प्रभावित भएकाहरूको राहत तथा उद्धारका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. ६३ लाख ६५ हजार रुपैयाँ (६३,६५,०००/-) सहयोग प्रदान गरेको छ।

​अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहका बिच उद्योगका प्रतिनिधिहरूले माननीय अर्थमन्त्रीज्यूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोका कारण देशमा ठुलो जनधनको क्षति भई अकल्पनीय परिस्थिति सिर्जना भएपछि राहतस्वरूप यो सहयोग उपलब्ध गराइएको हो।

​कम्पनी व्यवस्थापन, उद्योगमा कार्यरत सम्पूर्ण श्रमिक तथा कर्मचारीहरूको सामूहिक पहल र तर्फबाट उक्त रकम जुटाइएको कम्पनीले जनाएको छ। ​

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले प्रदान गरिएको यो सहयोग रकमले प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी, प्रभावितहरूको उद्धार, घाइतेहरूको उपचार तथा पुनःनिर्माणका कार्यहरूमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

​​प्राकृतिक विपत्तिका कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला नीजि क्षेत्रको यो तत्परता र सहयोगलाई अर्थ मन्त्रालयका तर्फबाट सकारात्मक कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया