हेटौँडा । मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय इन्द्रबहादुर कठायतको दुई कोठे कच्ची घर र घरसँगै रहेको भान्साकोठामा बुधबार राति अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
इँटा र काठले बनेको तथा जस्ताको छानो भएको घरमा आगलागी भएपछि हेटौँडा उपमहानगरपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि बिहीबार बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर तथा भान्साकोठासहित लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार, चार तोला सुन, एउटा डुक मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने एउटा क्यामरा र कम्प्युटरको एक सेट जलेर नष्ट भएको पीडितले प्रहरीलाई जानकारी दिएका छन्। पीडितका अनुसार आगलागीबाट करिब २५ लाख रुपियाँ बराबरको क्षति भएको छ।
आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com