info@nawayug.com

कर्मचारी सञ्चय कोषलाई समयसापेक्ष बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष रकम जम्मा गरेर राख्ने मूल उद्देश्य नभएको बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभा बैठकमा कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्न बनेको विधेयक सैद्दान्तिक छलफल सांसदहरूले राखेको धारणको जवाफ दिँदै यस्तो बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले कर्मचारी सञ्चय कोष रकम जम्मा गरेर परिचालन गर्नकै लागि स्थापना भएको दाबी गरे ।  उनले भने, ‘हवाई जहाजको लागि सुरक्षित स्थान ह्याङ्गर नै हो । जहाज उडानको लागि बनाइएको हो । थन्काएर खाँदा हामी मूल उद्देश्यबाट विमुख भएका हुन्छौँ । त्यसैले कोषमा पैसा संकलन मात्रै गरेर राख्ने जस्तो कोषको उद्देश्य होइन ।’ 

उनले कोषलाई समयसँगै दायरा फराकिलो बनाउन आवश्यक रहेको भन्दै त्यही अनुसार ऐन संशोधन गर्न लागेको बताए ।

अर्थमन्त्री वाग्लेले ७ सय अर्ब भन्दा बढीको कोष सरकारको सबैभन्दा ठुलो वित्तीय उपकरण रहेको बताए । उनले भने– ‘कर्मचारीहरूले थोपा थापा गरेर जम्मा गरेको रकम उपभोग गर्नको लागि खडा गरेको गरिएको हो । कोषबाट प्रतिफल आयो भने दिगो समयसम्म चल्छ । कर्मचारीको सेवा सुविधा वृद्धि गर्दै जान पनि कोषले महत्त्वपूर्ण भूमिका खेल्छ ।’

उनले वर्तमान सरकार कोषको रकमलाई अनावश्यक भन्दा पनि प्रतिफल आउने ठाउँमा लगानी गर्ने सोचमा रहेको बताए । उनले विगतमा जस्तो राजनीतिक प्रेरित क्षेत्रमा लगानीलाई रोक्ने गरी कोषलाई थप बलियो बनाउने सरकारको तयारी रहेको बताए ।

प्रतिक्रिया