काठमाडौँ । भोटेकोशी बाढीका कारण ठुलो जनधनको क्षति व्यहोरेका प्रभावित क्षेत्रका जिल्लाहरूमा नेपाली कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन ‘वाइसिएल नेपाल’ले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। यस सङ्गठनले ‘निभेको चुलो बालौँ, निभेको आशा जगाऔँ’ भन्ने अभियानसहित प्रभावित क्षेत्रमा ६ सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको हो।
भदौ १० गतेको बाढी पहिरोले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा क्षति पुर्याएपछि वाइसिएलका सङ्गठित सदस्यहरू तत्काल खोज, उद्धार र राहतमा जुटेका थिए। सङ्गठनले भदौ ११ गते रक्तदान गरी रगत सङ्कलन गरेको थियो भने १२ गते सङ्गठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ सहितको केन्द्रीय टोली स्थलगत अनुगमन र राहतका लागि प्रभावित क्षेत्र पुगेको थियो।
विपद्का कारण खाना पकाउने ग्यासको चरम अभाव भएपछि सङ्गठनले आफ्ना सम्पूर्ण स्रोत–साधन परिचालन गरी प्रभावित परिवारहरूलाई एक–एक सिलिन्डर ग्यास, अत्यावश्यक खाद्यान्न र लत्ताकपडा वितरण गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए । ओलीका अनुसार रसुवाको उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलहरूसँग समन्वय गरी चार वटा गाडीमार्फत राहत सामग्री पीडितहरूसम्म पुर्याइएको छ।
साथै, बेत्रावती बजारका पीडितहरूलाई भाँडाकुँडा समेत हस्तान्तरण गरिएको छ। पुल बगाएर यातायात सम्पर्क विच्छेद भएको धादिङको हात्तीगौँडा र दुप्ची लगायतका विकट स्थानमा पुगेर वाइसिएलको टोलीले बालबालिका तथा पीडितहरूलाई स्टेशनरी र जुत्ताचप्पल वितरण गरेको छ।
अध्यक्ष ओलीले राष्ट्रिय विपद्को यस घडीमा सङ्गठनका सदस्यहरूले कुनै पनि दलको झन्डा वा ब्यानर नबोकी विशुद्ध मानवीय सेवा भावले काम गरिरहेको बताए । सङ्कटमा परेका नागरिकको निभेको चुलो बाल्नु र आशा जगाउनु नै अहिलेको मुख्य दायित्व भएको उनको भनाइ छ।
फिल्ड अनुगमनबाट फर्किएपछि अध्यक्ष ओलीले भने– ‘पछिल्लो समय देशमा केही भएन भन्ने नकारात्मक भाष्य खडा गर्न खोजिए पनि गणतन्त्रपछि बनेका सडक र ट्र्याकहरूले नै अहिले विपद्का बेला वैकल्पिक मार्गका रूपमा जीवन रेखाको काम गरिरहेको प्रत्यक्ष देख्न सकिन्छ।’
वाइसिएलले सङ्कटको घडीमा हातेमालो गर्ने सम्पूर्ण सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उद्धार र पुनर्स्थापनाको काममा निरन्तर खटिरहने प्रतिबद्धता उनले व्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com