info@nawayug.com

ट्राफिक कारबाहीबाट मकवानपुरमा १ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन

हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १९२ जना सवारी चालकलाई कारबाही गरी एक करोड ७२ लाख ५४ हजार ५०४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टका अनुसार आर्थिक वर्षको पहिलो छ महिनामा ७ हजार ३९० र पछिल्लो छ महिनामा १० हजार ८०२ जना सवारी चालक कारबाहीमा परेका छन् । पछिल्लो छ महिनामा कारबाहीमा पर्ने चालकको सङ्ख्या उल्लेख्य रूपमा बढेको देखिएको छ ।

तर, ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरा बढाए पनि जिल्लामा सवारी दुर्घटनामा भने अपेक्षित कमी आउन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ मा मकवानपुरमा ४१४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् भने ११४ जना गम्भीर र ७११ जना सामान्य घाइते भएका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्षको पहिलो छ महिनामा १९७ र पछिल्लो छ महिनामा २१७ वटा सवारी दुर्घटना भएका थिए । पहिलो छ महिनामा ३५ जनाको मृत्यु भएकोमा पछिल्लो छ महिनामा २९ जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रमुख विष्टले सवारी दुर्घटना न्यूनीकरणका लागि कारबाहीसँगै चालक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी चेतना र जिम्मेवारी आवश्यक रहेको बताए । चालकको लापरबाही दुर्घटनाको प्रमुख कारणमध्ये एक रहेको उनको भनाइ छ ।

उनले भने, “कारबाही मात्रै गरेर हुँदैन, चेतना पनि हुनुपर्‍यो । दुर्घटना घट्नुपर्ने हो तर घटेको छैन । चालकको लापरबाही पनि दुर्घटनाको प्रमुख कारण हो ।”

गत आर्थिक वर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१३ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । त्यस्तै, लागूपदार्थ सेवन गरी सवारी चलाएको आरोपमा ४५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया