info@nawayug.com

वंशगोपाल माध्यमिक विद्यालयका विद्यार्थीहरूले खाजा खर्च कटाएर रसुवाका बाढीपीडितलाई गरे सहयोग

हेटौँडा । मकवानपुरको हेटौँडा–६, चौघडास्थित वंशगोपाल माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च कटाएर रसुवाका बाढीपहिरो पीडितका लागि १४ हजार ७८५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कक्षागत रूपमा विद्यार्थीहरूबाट स्वस्फूर्त रूपमा सङ्कलित उक्त रकम नेपाल बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

​विपद्को समयमा समस्यामा परेका नागरिकलाई राहत पुऱ्याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नै पहलमा सहयोग सङ्कलन गरेका हुन्। कक्षागत रूपमा विद्यार्थीहरूबाट स्वस्फूर्त रूपमा संकलन गरेको रकम नेपाल बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका रेडक्रस नायक शिक्षक प्रकाश पराजुलीले बताउनुभयो ।

रसुवामा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको दुःख र पीडाप्रति विद्यार्थीहरू अत्यन्तै भावुक बनेका थिए। विपद्को यस कठिन घडीमा साना बालबालिकाहरूले देखाएको मानवीय भावना र सामाजिक उत्तरदायित्वको विद्यालय परिवारले उच्च प्रशंसा गरेको छ।

​शिक्षक तीर्थ खड्काले  विद्यार्थीहरूले देखाएको यो निस्वार्थ सहयोग र मानवीय कार्य जीवनभर अविस्मरणीय रहने बताउनुभयो। सानै उमेरमा बालबालिकाहरूमा देखा परेको यस्तो सहयोगी भावनाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै विपद् व्यवस्थापनमा नागरिक स्तरको दायित्वलाई थप उजागर गरेको छ।


प्रतिक्रिया