मकवानपुर । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो।
पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।
आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरूष) र कुलभक्त शाक्य (पुरूष) छन्। त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरूप्रसाद बराल (पुरूष), पुष्पराज कँडेल (पुरूष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन्। थारूतर्फ कृपाराम राणा छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन्। त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरूष) छन्। मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेको उपमहासचिव भट्टले बताए।
बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको हिजो (२९ गते) बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा हृदयघातबाट ज्यान गुमाएका पूर्वकेन्द्रिय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक तथा श्रद्धाञ्जली व्यक्त गरेको छ। –न्युज एजेन्सी नेपाल
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com