info@nawayug.com

क्यान्सर पहिचानमा नयाँ प्रविधि : कुकुरले सुँघ्ने, एआईले संकेत दिने

काठमाडौं। कुकुरको तीव्र घ्राणशक्ति र कृत्रिम बौद्धिकता (एआई)को संयोजनबाट क्यान्सरको प्रारम्भिक सङ्केत पहिचान गर्ने प्रयास भारतमा अघि बढाइएको छ ।

बेंगलुरुस्थित स्टार्टअप डोग्नोसिसले कुकुरको गन्धप्रतिको प्रतिक्रिया एआईमार्फत विश्लेषण गरी गैरआक्रामक परीक्षण विधि विकास गरिरहेको छ ।

स्टार्टअपले उद्धार कुकुर ‘क्लो’ सहित १५ कुकुरलाई तालिम दिएको छ । कुकुरलाई सेन्सरयुक्त उपकरण लगाएर मस्तिष्क गतिविधि, श्वासप्रश्वास र शरीरको भाषा अभिलेख गरिन्छ ।

बिरामीले करिब १० मिनेट कपासको मास्कमा सास फेरेपछि नमूना प्रयोगशालामा लगेर कुकुरमार्फत परीक्षण गरिन्छ । बिरामीको कुकुरसँग प्रत्यक्ष सम्पर्क हुँदैन ।

डोग्नोसिसका अनुसार कर्नाटकका छ अस्पतालमा एक हजार पाँच सयभन्दा बढी सहभागीमा गरिएको अध्ययनमा सात प्रमुख प्रकारका क्यान्सर पहिचानमा ९० प्रतिशतभन्दा बढी शुद्धता हासिल भएको छ ।

अध्ययन ‘जर्नल अफ क्लिनिकल ओन्कोलोजी’ मा प्रकाशित भएको कम्पनीले जनाएको छ । कम्पनीले अर्को वर्ष यसको व्यावसायिक प्रयोग सुरु गर्ने लक्ष्य राखेको छ ।

क्यान्सरको प्रारम्भिक पहिचानले उपचारको प्रभावकारिता बढाउन सक्ने भए पनि भारतमा धेरै बिरामीको रोग विकसित भएपछि मात्र पहिचान हुने गरेको छ ।

त्यसैले कुकुरको घ्राण क्षमतालाई सहज र कम खर्चिलो प्रारम्भिक परीक्षणका रूपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ ।

स्वतन्त्र क्यान्सर विशेषज्ञहरूले भने प्रारम्भिक परिणामलाई आशाजनक भए पनि थप ठूलो अध्ययन आवश्यक रहेको बताएका छन् । रमैया मेमोरियल अस्पतालका सन्तोष कुमार देवदास र मणिपाल अस्पतालका नीलेश रेड्डीले प्रविधिको वास्तविक चिकित्सकीय उपयोगिता थप अनुसन्धानबाट पुष्टि हुनुपर्ने बताए ।

मानिसको तुलनामा कुकुरमा करिब ३० करोड घ्राण रिसेप्टर हुने र रोगका कारण शरीरबाट निस्कने रसायनमा हुने परिवर्तनले विशेष गन्ध सिर्जना गर्न सक्ने अनुसन्धानले देखाएको छ । यही क्षमतालाई एआईसँग जोडेर क्यान्सर पहिचानको नयाँ विधि विकास गर्न खोजिएको हो ।

डोग्नोसिसले कुकुरलाई सकारात्मक प्रोत्साहनमार्फत विशेष गन्ध पहिचान गर्न तालिम दिने गरेको छ । कुकुरलाई दिनमा करिब ३० देखि ४५ मिनेट मात्र काम गराइने कम्पनीले जनाएको छ ।

विज्ञहरूले प्रविधि सम्भावनायुक्त भए पनि व्यापक चिकित्सकीय प्रयोगअघि थप स्वतन्त्र र ठूलो अध्ययनबाट यसको प्रभावकारिता पुष्टि गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया