info@nawayug.com

मकवानपुरमा वन डढेलो नियन्त्रणका लागि तयारी तीव्र

मकवानपुर । मकवानपुरमा वन डढेलोको जोखिम बढ्दै जाँदा नियन्त्रण र रोकथामका लागि उच्च सतर्कता अपनाइएको छ। बढ्दो गर्मी र सुक्खा मौसमका कारण जोखिम बढेको भन्दै डिभिजन वन कार्यालय मकवानपुरले आधुनिक प्रविधि, द्रुत प्रतिक्रिया संयन्त्र र समुदायस्तरको सहभागितामार्फत तयारी तीव्र बनाएको जनाएको छ।

“वन डढेलो व्यवस्थापन सप्ताह” (चैत १–७) को अवसरमा सञ्चालन गरिएको अभियानका उपलब्धि, वर्तमान अवस्था र आगामी रणनीतिबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कार्यालयले डढेलो नियन्त्रणमा प्रविधि, पूर्वतयारी र सहकार्यलाई प्राथमिकतामा राखिएको जनाएको हो।

कार्यक्रममा कार्यालय प्रमुख राकेश प्रसाद चन्द्रवंशीले डढेलो नियन्त्रणलाई सरकारी प्रयासमा मात्र सीमित नराखी समुदाय, सुरक्षा निकाय र सञ्चारमाध्यमसँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। सो अवसरमा वन अधिकृत हेमकुमार पाठकले कार्यपत्र प्रस्तुत गर्दै मकवानपुरमा वन डढेलोको अवस्था वर्षेनी उतारचढावपूर्ण भए पनि यस वर्ष प्रारम्भिक चरणमै पूर्वतयारी सुदृढ गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार विगत २५ वर्षमा जिल्लाका बागमती र बकैया गाउँपालिकाका वन क्षेत्र बढी जोखिममा परेका छन्। सन् २०१३ मा १२ हजार २ सय २१ हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो भने २०२१ मा पनि करिब ७ हजार हेक्टर वनमा क्षति पुगेको थियो। चालु आर्थिक वर्षको चैतसम्म ६६ स्थानमा लागेको डढेलोले ४८७ हेक्टर वन क्षेत्र प्रभावित गरिसकेको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो।

डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन आधुनिक प्रविधिमा आधारित प्रणाली लागू गरिएको छ। ड्रोनमार्फत निगरानी, स्याटेलाइटबाट २४ घण्टा अनुगमन तथा तत्काल सूचना दिने ‘अलर्ट सिस्टम’ सञ्चालनमा ल्याइएको वन अधिकृत पाठकले बताउनुभयो। डढेलोबारे सूचना दिन निःशुल्क टोल–फ्री सेवा सुरु गरिएको छ भने सूचना प्राप्त भएको १०–१५ मिनेटभित्र घटनास्थलमा पुग्ने ‘डेडिकेटेड रेस्पोन्स टिम’ तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ।

सप्ताहव्यापी अभियानअन्तर्गत जिल्लाका विभिन्न सब–डिभिजन क्षेत्रमा सचेतनामूलक ¥याली, विद्यालयस्तरीय कार्यक्रम तथा अन्तरक्रियाहरू सम्पन्न गरिएको पनि उहाँले जानकारी दिनुभयो। यसले स्थानीय समुदायमा डढेलोप्रति सचेतना बढाउन मद्दत पुगेको कार्यालयले जनाएको छ।

पूर्वाधार सुदृढीकरणतर्फ ३७.१ किलोमिटर अग्निरेखा सरसफाइ गरिएको छ भने यसलाई १०० किलोमिटरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ। वन्यजन्तु संरक्षणसँगै डढेलो नियन्त्रणका लागि २१ स्थानमा पानी पोखरी निर्माण भइरहेको छ। साथै, ५०० हेक्टरभन्दा बढी क्षेत्रमा झाडी सफाइ गरी जोखिम न्यूनीकरणको प्रयास गरिएको बताइएको छ।

सुरक्षा समन्वयलाई प्राथमिकता दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई ५५ सेट डढेलो नियन्त्रण सामग्री उपलब्ध गराइएको छ। सामुदायिक वनमा कम्तीमा दुई जना वन हेरालु परिचालन गरिएको छ भने डढेलो नियन्त्रणमा खटिने जनशक्तिको ५ लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरिएको जानकारी दिइएको छ।

यद्यपि, जनशक्ति तथा स्रोत–साधनको अभाव, विकट भौगोलिक अवस्था तथा डढेलो गराउने दोषी पहिचान र कारबाहीमा कठिनाइजस्ता चुनौतीहरू कायमै रहेको कार्यालयले जनाएको छ। आगामी दिनमा सुरक्षा निकायबाट ‘फोकल पर्सन’ तोक्ने, स्थानीय तहबाट वन श्रमिक परिचालनमा सहयोग लिने तथा सञ्चारमाध्यममार्फत जनचेतना थप सशक्त बनाउने योजना रहेको कार्यालय प्रमुख चन्द्रवंशीले बताउनुभयो।

वन डढेलो नियन्त्रणका लागि प्रविधि, तयारी र सहकार्यलाई एकसाथ अघि बढाउने रणनीतिले यस वर्षको जोखिम न्यून पार्न सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। कार्यक्रममा डिभिजन वन अधिकृत बसन्तराज गौतम, विशाल भट्टराई, दीपक अधिकारी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया