info@nawayug.com

नाम्पा हिमाल बेस क्याम्प जाने बाटोको पुनःपरीक्षण सुरु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा पर्वतीय पर्यटनको सम्भावना पहिचान गर्ने उद्देश्यले नाम्पा हिमाल बेस क्याम्पसम्म पुग्ने पदयात्रा मार्गको पुनः परीक्षण (रि–अडिट) गरिएको छ ।

नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा दार्चुलाको व्याँस गाउँपालिकाको समन्वयमा हिमालहरूको तथ्यांक संकलन र पदमार्गको अवस्थाबारे अध्ययन गरिएको हो ।

असोज २६ गते अध्ययन तथा अनुगमनका लागि प्रस्थान गरेको टोली कात्तिक २ गते धनगढी फर्किएको नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । टोलीमा संघका पदाधिकारी, फोटोग्राफर, भिडियोग्राफर, प्राविधिक, स्थानीय पत्रकार तथा सम्बन्धित स्थानीय तहका प्रतिनिधि सहभागी थिए ।

अभियानका क्रममा सुदूरपश्चिम प्रदेशमा रहेका ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको तथ्यांक संकलन, तिनको शिखरको विवरण (पिक प्रोफाइल) तयार पार्ने आधार निर्माण तथा नाम्पा हिमाल बेस क्याम्पसम्म पुग्ने पदमार्गको अवस्थाबारे पुनः अध्ययन गरिएको हो ।

यसबाट पदयात्राका क्रममा देखिने सम्भावना, चुनौती र पर्यटन पूर्वाधार विकासका आवश्यकताहरू पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष किशोर खड्काले प्रदेशका हिमालको पहिचान, अध्ययन र प्रवर्द्धनका लागि अभियानलाई निरन्तरता दिइने बताए ।

उनले भने, ‘सुदूरपश्चिममा पर्वतीय तथा साहसिक पर्यटनको ठूलो सम्भावना छ । यहाँका हिमालहरूको यथार्थ विवरण संकलन गर्ने, शिखरको प्रोफाइल तयार पार्ने र बेस क्याम्पसम्म पुग्ने पदमार्गको अवस्था पुनः परीक्षण गर्ने कामले पर्यटन विकासको आधार तयार गर्न सहयोग पुग्छ । हिमालको पहिचान र संरक्षणसँगै तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सम्बन्धित निकायबीच सहकार्य आवश्यक छ ।’

संघले आगामी दिनमा सुदूरपश्चिमका अन्य हजार मिटरभन्दा अग्ला हिमालहरूको विवरण तयार पार्ने तथा प्रमुख हिमालका बेस क्याम्पसम्म पुग्ने पदयात्रा मार्गको पुनः परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । व्यवस्थित तथ्यांक, पदमार्गको पहिचान र आवश्यक पूर्वाधार विकासले प्रदेशमा पदयात्रा, पर्वतारोहण तथा साहसिक पर्यटनको विस्तारमा सहयोग पुग्ने संघको विश्वास छ ।

दार्चुलाको व्याँस क्षेत्र प्राकृतिक सौन्दर्य, हिमाली भूगोल र पदयात्राका सम्भावनाका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यस्ता क्षेत्रको व्यवस्थित अध्ययन र प्रचारप्रसार गर्न सके स्थानीय स्तरमा पर्यटन गतिविधि विस्तार हुनुका साथै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने अपेक्षा गरिएको छ ।

अभियानलाई सफल बनाउन सहयोग गर्ने व्याँस गाउँपालिका, सम्बन्धित निकाय तथा स्थानीय समुदायप्रति संघले आभार व्यक्त गरेको छ । साथै हिमालको अध्ययन, संरक्षण र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धनका लागि नेपाल पर्वतारोहण संघको केन्द्रीय समिति, नेपाल पर्यटन बोर्ड, प्रदेश सरकारका पर्यटन सम्बन्धी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा विषयविज्ञसँग आवश्यक सहकार्यका लागि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया