info@nawayug.com

भारी वर्षाको पूर्वानुमानपछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जारी गरेको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान तथा डुबान हुने र पहिरो जाने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रशासनले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन आग्रह गरेको छ । वर्षा भइरहेको समयमा बाली नकाट्न, नदी तथा खोला नतर्न र माछा मार्ने तथा दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि सूचनामार्फत अनुरोध गरिएको छ ।

त्यस्तै, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटो मार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक लामो दूरी र रात्रिकालीन यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । यात्रा गर्नुपर्ने अवस्था आएमा सडकको अवस्था बुझेर मात्र निस्कन अनुरोध गरिएको छ ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीलाई सुरक्षित स्थानमा राख्न र चौपायाको सुरक्षामा समेत ध्यान दिन प्रशासनले आग्रह गरेको छ । साथै, महत्त्वपूर्ण कागजात तथा आवश्यक सामग्री सुरक्षित राख्न पनि अनुरोध गरिएको छ ।

सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरण गर्न जिल्लावासीलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त स्थानबाट टाढा रहन र विपद्को संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया