info@nawayug.com

स्रोत नखुलेको ११ लाख ६१ हजार रुपैयाँसहित एक जना पक्राउ

धुन्चे । रसुवा प्रहरीले स्रोत नखुलेको ११ लाख ६१ हजार २०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जेठ २२ गते धुन्चे बजार क्षेत्रमा अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा यात्रुको चेकजाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।

प्रहरीले गोसाइँकुण्ड गाउँपालिका–१ निवासी ३५ वर्षीय मिङ्मार छिरिङ गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ। धुन्चे बजारस्थित सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका गुरुङलाई जाँच गर्ने क्रममा उनको साथबाट नेपाली रुपैयाँ ११ लाख ६१ हजार २०० फेला परेको प्रहरीले जनाएको छ।

बरामद रकममा एक हजार दरका ८६८ थान, पाँच सय दरका ४६ थान, एक सय दरका २१ थान, पचास दरका २ थान र बीस दरका ५ थान नोट रहेका छन्।

उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेको र आवश्यक कागजातसमेत पेश गर्न नसकेपछि गुरुङलाई नगदसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया