पोखरा । पोखराको एक सुनचाँदी पसलबाट तिलहरी चोरेको आरोपमा प्रहरीले ग्रिसकी नागरिकलाई पक्राउ गरेको छ । पर्यटकका रूपमा नेपाल आएकी काल्लीपी स्टेफानलाई चोरीको गहनासहित प्रहरीले पक्राउ गरेको हो ।
उनी नोभेम्बर १२ तारिख (कात्तिक २६ गते) मात्रै नेपाल घुम्न आएकी थिइन् । पोखरा घुम्ने क्रममा उनले कात्तिक २९ गते पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित यशोदा ज्वेलर्समा पुगेर तिलहरी हेरेकी थिइन् ।
पसलमा गहना हेरेर फर्किएकी उनीमाथि त्यतिबेला पसल सञ्चालकले शंका गरेका थिएनन् । तर, भोलिपल्ट आफूले देखाएको तिलहरी पसलमा नभेटिएपछि सञ्चालकले खोजी सुरु गरे । पसलमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा विदेशी महिलाले नै तिलहरी लगेको देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले सीसीटीभी फुटेजका आधारमा महिलाको पहिचान र खोजी सुरु गरेको थियो । सोही क्रममा बुधबार पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित पन्थी गल्लीमा उनलाई फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
गहनाको खोजीका क्रममा प्रहरीले महिलाको झोला खानतलासी गर्दा चोरी भएको तिलहरी फेला पारेको थियो । प्रहरीले उनको साथबाट रातो पोतेसहितको तिलहरी बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकी ६६ वर्षीया स्टेफानोले आफूले झुक्किएर गहना आफ्नै झोलामा राखेको बयान दिएकी छन् । तर, घटनाको प्रकृति हेर्दा जानाजानी चोरी गरेको प्रहरीको आशंका छ ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले महिलाले झुक्किएर झोलामा परेको बताएको जानकारी दिए । ‘उनले झुक्किएर आफ्नो झोलामा परेको बताउँछिन् । तर, यो उनको नियत नै देखिएको छ । झोलामा परेको भए उनले सोही दिन फिर्ता गर्ने थिइन्,’ एसपी कार्कीले भने ।
प्रहरीले चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन उनलाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ । बरामद भएको तिलहरी र घटनासँग सम्बन्धित सीसीटीभी फुटेजलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ ।
पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य हो । यहाँ घुम्न आउने पर्यटकको संख्या बढेसँगै पर्यटकबाट हुने विभिन्न गतिविधि पनि प्रहरीका लागि चुनौती बन्दै गएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com