info@nawayug.com

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु,सात जना घाइते

मकवानपुर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

बिहीबार बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौँ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो। दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन् । त्यस्तै, चन्द्रनिगाहपुरबाट सुमोमा चढेकी नामथर र वतन नखुलेकी एक महिलाको पनि मृत्यु भएको छ ।

दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर घाइते भएका छन् ।

सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जनाको मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार घाइते र मृतकलाई उद्धार गरी हेटौँडा अस्पताल ल्याइएको छ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया