info@nawayug.com

ट्राफिक नियम उल्लङ्घनमा २४ घण्टामा २६४० चालक कारबाहीमा

काठमाण्डौं । ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकामा नियम उल्लङ्घन गर्ने चालकहरूलाई कारबाही गर्दै पछिल्लो २४ घण्टामा २३ लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पछिल्लो समय बढ्दो गाडीको चाप, अव्यवस्थित सञ्चालन र दुर्घटनाको जोखिमलाई ख्याल गर्दै विशेष अभियान सञ्चालन गर्दा उल्लेखनीय राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न ठाउँमा जाँच सञ्चालन गरी ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ६४० जना चालकलाई कारबाही गरिएको छ ।

कारबाहीमा परेकामध्ये १०१ जना चालकले जाँड–रक्सी खाएर गाडी चलाएका थिए । यस्तै लेन मिच्ने २७६ जना र रातो बत्ती उल्लङ्घन गर्ने १८० जना चालक कारबाहीमा परेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राजस्व सङ्कलन गर्न नभई दुर्घटना कम गर्न जाँचलाई कडाइ गरेको दाबी गर्नुभयो । अभियानलाई प्रभावकारी बनाउन प्रहरीले मुख्य चोक, व्यस्त सडक खण्ड तथा दुर्घटना सम्भावित क्षेत्रहरूमा विशेष निगरानी बढाएको जनाएको छ ।

प्रतिक्रिया