info@nawayug.com

भाइरल भिडिओको आधारमा पक्राउ, अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटि

विराटनगर । विद्यालय पोसाकमा रहेका २ युवतीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले बिराटनगरका दुई युवालाई शुक्रबार पक्राउ गर्‍यो । उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न ३ दिनको म्याद थपिए पनि २ दिनमै छुटे ।

विराटनगर-४ का ३५ वर्षीय महेशकुमार मण्डल र बारा परवानिपुर-१ घर भई विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेशकुमार प्रसादलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई ३ दिनको म्याद थप गरिएकोमा अनुसन्धानका क्रममा भिडियोबाट अनुमान गरिएजस्तो घटना नभएको पाइएपछि उनीहरू छुटेका हुन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोकै भरमा धरपकड गर्दा प्रहरी आफैं लज्जित बन्नुपरेको छ ।

भाइरल भएको भिडियोमा विराटनगरस्थित महेन्द्रचोक सडकमा विद्यालय पोसाकमा हिँडिरहेका दुई युवतीलाई मोटरसाइकलमा सवार दुई युवाले हातले इसारा गरेको देखिन्छ । उनीहरुले अश्लिल इशारा गरेको आशंका सामाजिक सञ्जालमा धेरैले गरिरहेका थिए । प्रहरीले पनि लहैलहैमा लागेर उनीहरुलाई पक्राउ गरी कारबाही अघि बढाएको थियो ।

यस्तो छ घटनाको वास्तविकता

भिडियोमा दुर्व्यवहार भएकोजस्तो देखिए पनि मोटरसाइकलमा आएका युवाहरूले जेब्रा क्रसिङबाट बाटो काट्न मात्र भनेको खुलेको छ । पक्राउ परेका युवाहरूले बयानका क्रममा प्रहरीलाई यही बयान दिएका छन् । युवतीहरूले समेत जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूहरूमाथि दुर्व्यवहार नभएको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले पीडितको उजुरीबाट नभई प्रहरी प्रतिवेदनका आधारमा कारवाही अघि बढाइएको बताए । महिला तथा बालबालिका सम्बन्धी विषयमा प्रहरी संवेदनशील हुने भएकाले अनुसन्धान थालिएको उनको भनाइ छ ।


प्रतिक्रिया