info@nawayug.com

बाढीपीडितका लागि हेटौँडाका टोल विकासबाट १७ लाख बढी सङ्कलन, सबैभन्दा बढी कालिकामाईबाट

मकवानपुर । भोटेकोशी बाढीप्रभावित परिवारका लागि हेटौँडा उपमहानगरपालिकाभित्रका टोल विकास संस्थाहरूबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १७ लाख रुपैयाँभन्दा बढी सङ्कलन भएको छ। टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारीका अनुसार नगरभित्रका विभिन्न टोल विकास संस्थाहरूको सक्रियतामा सो रकम जुटेको हो।

सङ्कलित रकममध्ये हेटौँडा–८ स्थित कालिकामाई टोल विकास संस्थाले सबैभन्दा बढी १ लाख १८ हजार १२५ रुपैयाँ सहयोग गरेको छ। कालिकामाई टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद घिमिरेका अनुसार संस्थाले आफ्ना सदस्यहरूको घर–घरमै पुगेर उक्त रकम सङ्कलन गरेको थियो। सो रकम संस्थाको निर्णय बमोजिम नेपाल बैंक लिमिटेडमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

गएको भदौ १० गते रसुवा र चीनको सीमाक्षेत्रमा आएको भोटेकोशी बाढीले घरबारविहीन भएका र ज्यान गुमाएका पीडितहरूका लागि राहत जुटाउने क्रममा यो सहयोग प्रदान गरिएको हो।

राहत अभियानमा स्वतःस्फूर्त रूपमा साथ दिने सम्पूर्ण टोलवासीलाई कालिकामाई टोल विकास संस्थाले धन्यवाद ज्ञापन गरेको छ। साथै, सङ्कलित सहयोग रकम सरकारले निष्पक्ष र पारदर्शी रूपमा वास्तविक पीडितहरूसम्म पुर्याउने विश्वास संस्थाले व्यक्त गरेको छ।

प्रतिक्रिया