info@nawayug.com

कोदोबाली जोगाउन भीमफेदी गाउँपालिकाले किसानलाई नगद अनुदान दिने

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ‘रैथाने बाली खेती प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।

गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार लोप हुने जोखिममा रहेका रैथाने बाली जोगाउने र कृषकलाई यसतर्फ आकर्षित गराउने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको हो। पालिकाका सबै वडामा कोदो खेती गर्ने किसान तथा कृषि फर्मले यो प्रोत्साहन अनुदानका लागि आवेदन दिन सक्नेछन्।

अनुदान पाउनका लागि कोदो खेती गरिएको क्षेत्रफल कम्तीमा दुई रोपनी वा सोभन्दा बढी हुनुपर्नेछ। अनुदानको एकाइ भने प्रतिरोपनीका आधारमा निर्धारण गरिएको छ।

अनुदानका लागि पालिकाको कृषि विकास शाखाले सूचना प्रकाशित गर्दै भीमफेदी गाउँपालिकामा स्थायी ठेगाना भएका इच्छुक कृषक तथा कृषि फर्मलाई आवेदन आह्वान गरेको छ। प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेका अनुसार इच्छुक कृषक तथा कृषि फर्महरूले पालिका कार्यालयको कृषि विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा आवेदन दर्ता गर्न सक्नेछन्।

गाउँपालिकाले किसानलाई आर्थिक वर्ष २०८३/०८४ को कृषि कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका-२०८० को संशोधित व्यवस्था बमोजिम अनुदान उपलब्ध गराउने छ।

गाउँपालिकाले परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदो खेतीलाई पुनः प्रोत्साहन गर्ने नीति लिएपछि स्थानीय कृषकहरू खुसी भएका छन्। स्थानीय कृषक विजय पुडासैनीले भने, ‘अहिले विशेषगरी नयाँ तथा बजारमुखी बालीतर्फ किसान आकर्षित भइरहेको बेला गाउँपालिकाले परम्परागत रैथाने बालीको संरक्षणमा सहयोग गर्नु निक्कै खुसीको कुरा हो। रैथाने बाली लगाउने चलन विस्तारै घट्दै गइरहेको अवस्थामा पालिकाले गरेको अनुदानको व्यवस्थाले आगामी दिनमा यसको खेती गर्ने मानिसहरू पक्कै बढ्ने छन्।’

अनुदान लिन चाहने कृषक तथा फर्मले आवेदनका साथमा नागरिकताको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस बुझाउनुपर्ने छ। फर्मको हकमा फर्म दर्ता प्रमाणपत्र, नवीकरणको प्रमाण, कर चुक्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर ९पान० प्रमाणपत्रको प्रतिलिपि समेत पेस गर्नुपर्ने गरी पालिकाले सूचना जारी गरेको छ। रासस

प्रतिक्रिया