काठमाडौं । क्यास्पियन सागरमा इरानी व्यापारिक जहाजमाथि भएको आक्रमणलाई लिएर इरानले युक्रेनलाई कडा चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एकजनाको मृत्यु भएको थियो । एकजना घाइते भएका थिए ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रमुख इब्राहिम अजिजीले सामाजिक सञ्जाल एक्समार्फत इरानले यस घटनालाई जवाफ नदिई नछाड्ने बताएका छन् । इरानमाथि हुने जुनसुकै आक्रमणको मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ ।
यसैबीच, इरानका परराष्ट्रमन्त्री सय्यद अब्बास अराघचीले पनि आइतबार क्यास्पियन सागरमा इरानी जहाजमाथि भएको घातक आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन् ।
यो प्रतिक्रिया युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसार गर्ने जहाजहरूलाई लक्षित गर्दै क्यास्पियन सागरमा युक्रेनले लङ–रेन्ज आक्रमण गरेको दाबी गरेपछि यस्तो चेतावनी आएको हो । यस घटनाले रुस–युक्रेन युद्धको प्रभाव अझ व्यापक अन्तर्राष्ट्रिय आयाममा फैलिएको संकेत गरेको विश्लेषण गरिएको छ ।
अराघचीले एक्समा लेखेका छन्, “जेलेन्स्कीले एउटा इरानी व्यापारिक जहाजमाथि आक्रमण गरी एक नाविकको हत्या गरेका छन् ।” उनले यसलाई इजरायलको उक्साहटमा युरोपलाई युद्धमा तान्ने उद्देश्यले गरिएको संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघनको संज्ञा दिएका छन् ।
उनले युरोपेली संघकी विदेश नीति प्रमुख काजा कलास र रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको टेलिफोन वार्ताका क्रममा पनि कीभको यस कदमलाई जवाफ नदिई नछाडिने स्पष्ट पारेको बताएका छन् ।
इरानी परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इस्लामिक गणतन्त्र इरानले रुस–युक्रेन युद्धमा कहिल्यै हस्तक्षेप नगरेको दाबी गरेको छ ।
शनिबार राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत युक्रेनी सेनाले क्यास्पियन सागरमा दूरगामी आक्रमणमार्फत उल्लेखनीय सफलता हासिल गरेको बताएका थिए । उनका अनुसार आक्रमणको लक्ष्य इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानी गर्ने जहाजहरू तथा एउटा युद्धपोत पनि थिए ।
युक्रेनको गुप्तचर निकायले पनि टेलिग्राममार्फत इरान र रुसबीच सैन्य सामग्री ढुवानी गर्न प्रयोग हुने अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका कार्गो जहाजहरू माथि ड्रोन आक्रमण गरिएको जनाएको थियो ।
उक्त घटनापछि इरानी परराष्ट्र मन्त्रालयले इरानको तेहरानस्थित युक्रेनका कार्यवाहक राजदूतलाई बोलाएर औपचारिक विरोध जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com