काठमाण्डौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी २२ जना घाइते भएका छन्।
प्रहरीका अनुसार साउन महिनाको बोलबम यात्राका क्रममा डिजेको आवाजलाई लिएर सुरु भएको विवाद केहीबेरमै दुई समुदायबीचको झडपमा परिणत भएको थियो। अवस्था नियन्त्रणबाहिर जान थालेपछि प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। झडपका क्रममा दुवै पक्षबाट ढुंगामुढा भएपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ। त्यसपछि घटनास्थलमा रहेको सशस्त्र प्रहरीको टोलीबाट गोली चलेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। गोली किन चल्यो र कति राउन्ड प्रहार गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका देवानगञ्ज गाउँपालिका–४ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा अर्का एक जना गम्भीर घाइतेसहित अन्य घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित ८ जना प्रहरी तथा सशस्त्र प्रहरीका ५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। घटनापछि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार अहिले दुवै समुदायका व्यक्तिलाई अलग–अलग राखेर थप सुरक्षा व्यवस्था मिलाइएको छ। स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा रहेको जनाएको छ भने घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com