info@nawayug.com

‘हेटौँडा घोषणापत्र–२०८३’ जारी गर्दै सम्पन्न भयो पत्रकार महासंघ बागमतीको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभा

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा तथा सञ्चारमाध्यमको दिगोपनाका पक्षमा १२ बुँदे ‘हेटौँडा घोषणापत्र–२०८३’ जारी गरेको छ।

महासंघको मिडिया सम्मेलन तथा पाँचौँ साधारणसभाबाट पारित घोषणापत्र आइतबार बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो। घोषणापत्र महासंघका प्रदेश अध्यक्ष कृष्ण सारु मगरले मन्त्री अधिकारीलाई बुझाएका थिए।

घोषणापत्रमा निजी सञ्चारमाध्यमलाई असर पर्ने गरी लागू गरिएका विज्ञापनसम्बन्धी नीति तथा परिपत्र खारेज गर्न संघीय सरकारसँग माग गरिएको छ। साथै समाचार लेखेकै आधारमा पत्रकारमाथि फौजदारी अभियोग लगाउने प्रवृत्ति अन्त्य गर्न र सूचनामा सहज पहुँच सुनिश्चित गर्न जोड दिइएको छ।

सम्मेलनले पत्रकारमाथि हुने धम्की, निगरानी तथा धरपकडका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। पत्रकारलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गरी पेशागत सुरक्षाको वातावरण बनाउन तीनै तहका सरकारसँग आग्रह गरिएको छ।

घोषणापत्रमार्फत साना लगानीका सञ्चारमाध्यमलाई संरक्षण र प्रवर्द्धन गर्दै मिडिया क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न आवश्यक नीति ल्याउन माग गरिएको छ। सञ्चार संस्थामा लैङ्गिक समानता, अल्पसंख्यक समुदाय र फरक क्षमता भएका व्यक्तिको सहभागिता बढाउन पनि सरकारलाई सुझाव दिइएको छ।

सम्मेलनले मकवानपुरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न, बन्द रहेका हेटौँडा कपडा उद्योग तथा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन र रोजगारी सिर्जनामा ध्यान दिन सरकारसँग आग्रह गरेको छ।

घोषणापत्र निर्माण समितिका संयोजक तथा महासंघका प्रदेश सचिव श्याम खतिवडाका अनुसार सम्मेलनमा सहभागी पत्रकारहरूले उठाएका सुझाव र सरोकारका विषयलाई समेटेर घोषणापत्र तयार गरिएको हो।

महासंघले घोषणापत्रमा उल्लेख गरिएका विषय कार्यान्वयनका लागि सरकार तथा सरोकारवाला निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिएको छ।


प्रतिक्रिया