info@nawayug.com

हेटौंडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म पूर्ण रूपमा बन्द

हेटौंडा, असार १७ ।  हेटौंडा र काठमाडौंलाई जोड्ने छोटो दूरीको हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं सडक अब असार २५ गतेसम्म पूर्ण रूपमा बन्द रहने भएको छ।

यसअघि सडक जेठ १५ देखि असार १५ गतेसम्म बन्द रहने सूचना जारी गरिएको थियो। तर निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नभएका कारण बन्द अवधि १० दिन थपिएको हो।

सडक पूर्वाधार विकास कार्यालय, हेटौंडाका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर सुजन भण्डारीका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामाथिको पुल तथा उकालो सडकको स्लोप निर्माण कार्य सम्पन्न भए पनि प्राविधिक कारणले तत्काल सवारी सञ्चालन गर्न नमिल्ने भएकाले बन्द अवधि लम्ब्याइएको हो।

कार्यालयले जारी गरेको सूचनाअनुसार पुल र स्लोपको निर्माण सम्पन्न भए पनि कंक्रिट पूर्ण रूपमा सेट हुन समय लाग्ने र सडकको स्लोप अझै सवारी सञ्चालनका लागि पर्याप्त मजबुत नभएकाले असार २५ गतेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य, सडकमा हुने अत्यधिक सवारी चापका कारण निर्माणमा अवरोध तथा यात्रुले जामको समस्या भोग्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै सडक बन्द गरिएको कार्यालयले जनाएको छ।

सडक बन्द अवधिभर सवारीसाधनलाई कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ। यसका लागि मकवानपुर र काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्न पनि सडक पूर्वाधार विकास कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया