info@nawayug.com

सुदूरपश्चिममा दसैँ–तिहार सुरक्षाका लागि साढे चार हजार सुरक्षाकर्मी खटाइने, सीमामा कडाइ

कैलाली । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ५ प्रहरी परिचालन गरिने भएको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, लागूऔषध कारोबार, सवारी दुर्घटना तथा सीमा अपराध नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा कार्ययोजना तयार पारेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले तयार पारेको सुरक्षा कार्ययोजनाअनुसार प्रदेशका नौवटै जिल्लामा प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम गरिनेछ। चाडपर्व मनाउन देश तथा विदेशबाट घर फर्किने यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने, सार्वजनिक यातायातमा हुने ठगी तथा बढी भाडा असुली नियन्त्रण गर्ने र सम्भावित आपराधिक गतिविधि रोक्ने योजना रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले जानकारी दिए।

‘सीमा नाकाबाट हुने भन्सार छली, लागूऔषध कारोबार तथा चोरीका घटनामा संलग्नलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरीको योजना छ,’ डीआईजी भट्टराईले भने, ‘लागूऔषध नियन्त्रण तथा विशेष कारबाहीका लागि छुट्टै विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने पनि सुरक्षा योजनामा उल्लेख छ।’

सुरक्षा कार्ययोजनाअन्तर्गत प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, नौवटै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइ परिचालन हुनेछन्।

चाडपर्वका बेला भीडभाड बढ्ने बसपार्क, बस स्टप, बजार, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, ठूला व्यापारिक केन्द्र र हाटबजारमा सुरक्षा निगरानी बढाइने प्रहरीले जनाएको छ। यात्रुलाई पाकेटमारी, लुटपाट, ठगी तथा दुर्व्यवहारबाट जोगाउन सार्वजनिक यातायातका साधन र यात्रु चढ्ने तथा ओर्लने स्थानमा विशेष निगरानी गरिनेछ।

यात्रुको सहायता र सुरक्षालाई प्राथमिकता दिँदै प्रदेशका विभिन्न स्थानमा १ सय ४२ वटा यात्रु सहायता कक्ष सञ्चालनमा राखिएका छन्। भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा समेत ४९ वटा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको सुरक्षा कार्ययोजनामा उल्लेख छ।

खुला सीमाको दुरुपयोग गरी हुन सक्ने चोरी, तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी बढाइएको छ। यसका लागि सीमा अपराध तथा तस्करी नियन्त्रण एकाइ (बीसीटीसी) गठन गरी सुरक्षा परिचालनलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

जुवातास, मदिरा र पटका नियन्त्रणमा जोड

दसैँ, तिहार तथा छठका बेला मादक पदार्थ सेवन, जुवातास, झैझगडा र कुटपिटका घटना बढ्न सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ। अवैध मदिराको उत्पादन, बिक्रीवितरण तथा ओसारपसार नियन्त्रण गर्नुका साथै लागूऔषध सेवन र कारोबारविरुद्ध पनि निगरानी बढाइनेछ।

त्यस्तै, अवैध रूपमा भित्र्याइने भुइँचम्पा तथा पटाकाको बिक्रीवितरण, ओसारपसार र प्रयोग नियन्त्रण गरिनेछ। यस्ता विस्फोटक पदार्थका कारण आगलागी, मानवीय क्षति तथा अन्य अप्रिय घटना हुन सक्ने भएकाले बजार र सीमा क्षेत्रमा निगरानी बढाइने सुरक्षा कार्ययोजनामा उल्लेख छ।

चाडपर्वका बेला कृत्रिम अभाव सिर्जना गरी उपभोग्य वस्तुको मूल्य बढाउने, म्याद गुज्रिएका तथा गुणस्तरहीन सामान बिक्री गर्ने र कालोबजारी गर्ने गतिविधिलाई पनि सुरक्षा चुनौतीका रूपमा औँल्याइएको छ।

सवारी दुर्घटना न्यूनीकरण प्राथमिकतामा

चाडपर्वमा यात्रुको चाप बढ्ने र हतारमा यात्रा गर्ने प्रवृत्तिका कारण सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिइने भएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा गाडी हाँक्ने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र यात्रुलाई अलपत्र पार्ने गतिविधि नियन्त्रण गरिनेछ।

सार्वजनिक सवारीसाधनमा महिला तथा बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार, यात्रुसँग बढी भाडा असुल्ने र ठगी गर्ने घटनालाई समेत प्रहरीले निगरानीमा राख्नेछ।

सम्भावित आपराधिक गतिविधि रोकथाम गर्न जनशक्ति तथा उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरिने प्रहरीले जनाएको छ। फरार अभियुक्तको खोजी, आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही तथा प्रदेशभर शान्ति सुव्यवस्था कायम राख्ने लक्ष्यसहित सुरक्षा योजना कार्यान्वयन गरिनेछ।

प्रतिक्रिया