चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको तुइन खोलामा गाडी रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाडी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिवार जिल्ला प्रशासन कार्यालयमा छलफलसमेत हुने भएको छ । प्रशासनको परामर्शमा गाडी रोक्ने समय तय भएपछि काम अघि बढ्नेछ ।
निर्माण कम्पनीले एउटा एक्स्काभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ । दैनिक २र३ घण्टा गाडी रोकेर काम गरे झन्डै २ महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ । दिउँसोको समयमा चाप कम हुने भएकाले प्रशासनसँग त्यसै बेला काम गर्नका लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो ।
यो सडक सङ्घीय राजधानी काठमाण्डौ जोड्ने मुख्य ‘लाइफलाइन’ हो । नारायणगढ–मुग्लिन हुँदै दैनिक १० हजार हाराहारी गाडी चल्छन् ।
बाबरी कन्स्ट्रक्शनले तुइन खोलाको आडको नारायणगढतर्फको भित्तो र नाम्सीको मुग्लिनपट्टिको ढिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि २२ करोड २१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । अबको १० महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ ।
पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुन्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ । त्यसपछि भित्तोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ । यसलाई ‘नेलिङ’ भनिन्छ । दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो ।
पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज ३ र ७ गते पहिरो खस्दा १०० घण्टाभन्दा धेरै अवधिसम्म सडक अवरुद्ध भएको थियो । ढिस्कोको उचाइ १०५ मिटर र लम्बाइ १६५ मिटर छ । नाम्सीको मुग्लिनपट्टिको ढिस्को ६० मिटर अग्लो र १०० मिटर लम्बाइ रहेको छ ।
केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा तुइन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो । यो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com