info@nawayug.com

मधेशमा तीन वर्षभित्र इन्जिनियरिङ पढाइ सुरु गर्ने तयारी : शिक्षामन्त्री सस्मित पोखरेल

काठमाडौँ । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेशका विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि अन्य प्रदेश जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताए।

मन्त्री पोखरेलका अनुसार क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्न विशेष अध्ययन समिति गठन गरिनेछ। समितिको प्रतिवेदनका आधारमा क्याम्पसको स्थान तय गरिनेछ।

क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय नभए पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित तयारी भइरहेको उनले जानकारी दिए।

नयाँ क्याम्पसलाई अध्ययनसँगै अनुसन्धान, नवप्रवर्तन, आधुनिक प्रविधि र व्यावहारिक प्रयोगमा केन्द्रित गर्ने सरकारको योजना छ।

हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत आइओईका आङ्गिक क्याम्पस पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन्। मधेशमा नयाँ क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीलाई प्रदेशमै प्राविधिक शिक्षा हासिल गर्ने अवसर बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया