मकवानपुर । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ ।
आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ । उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाडीलाई मात्र सुरुङमा प्रवेश दिइने सडक विभागले जनाएको छ ।
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो । मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । तर सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै ५.५ किलोमिटर पुग्छ ।
जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ सालदेखि यो आयोजनाको निर्माण शुरु गरेको थियो । सडक विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप ‘मक ड्रिल’ (नमुना अभ्यास) गरिनेछ । यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी (वान–लेन) सञ्चालन गरिनेछ ।
यी प्रक्रियापछि मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ । यो सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाडीलाई गुड्न निषेध गरिएको छ । यो सुरुङ मार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com