मकवानपुर । पानीसहित आएको हावाहुरीले मकवानपुरको आधादर्जन गाउँपालिकामा ग्रामीण क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
हावाहुरीले घरगोठसहित अन्नबालीमा क्षति भएको छ । हावाहुरीले इन्द्रसरोवर गाउँपालिका १ मार्खु स्थित सरस्वती बालबोधनी माविको माथिबाट सल्लाको रूख ढली जस्तापातामा क्षति पुगेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार सोमबार पानीसहित आएको हावाहुरीले २६ घरपरिवारको घरगोठसहित अन्न बालीमा क्षति पुगेको छ ।
२२ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । मकवानपुरको कैलाश गाउँपालिका ९ घैराङटारका ५० वर्षीय बहादुर गलानको ढुङगामाटोले बनेको एक तल्ले घरको जस्ताको छानो उडाउँदा जस्ता र अन्नपात गरी एक लाख ५० हजार बराबर र स्थानीय ५४ वर्षीया कालिमाया वाईबाको ढुङ्गा माटोले बनेको दुई तल्ले घरको जस्ताको छानो उडाइ जस्तापातासँगै अन्नपात र काठपात गरी दुई लाख २० हजार रुपियाँ बरारको क्षतिभएको प्रहरीको भनाइ छ ।
यस्तै स्थानीय तिलक बहादुर घलान, विष्णु माया लामा, मानबहादुर नेगी, रामहरी घलान, दिल बहादुर स्याङतान, भक्तबहादुर वाइबा र सुरजबहादुर घलानको घरमा हावाहुरीले क्षति पुगेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ लेनडाँडाका मङ्गल सिंह तितुङ, भीमफेदी गापा ७ पाण्डपपोखरीका मानबहादुर डिम्डुङ र वडा नम्बर ७ मोहभिरकी शान्ता राणाको जस्ताले छाएको छाना, काठ उडाई क्षतिभएको छ ।
भीमफेदी गापा २ थाक्लेका रमन घलेको कुखुरा फर्मको जस्ता उडाउँदा १६ वटा कुखुरा मरी ५० हजार रुपियाँ बराबरको क्षति हुन गएको छ ।
हावाहुरीले भीमफेदी गापा २ दमारका रण बहादुर थिङ, भीमफेदी गापा ९ का शङ्कर थिङको खाजा नास्ता खानलाई बनाएको घुम्तीमा क्षतिसँगै लोकल कुखुरा छ वटा मरेको छ ।
मकवानपुरको इन्द्रसरोवर गापा ३ मगरगाउँका प्रवीन थापा मगरको घरको जस्ताले छाएको छाना उठाउनुका साथै मलसमेत नष्ट भएको छ ।
यसैगरी राक्सिराङ गापा ९ खरीटोलका नरेन्द्र मल्ल ठकुरी, भोज बिक्रम सिंह, शेरबहादुर प्रजा, उत्तर कुमार प्रजा, गैरी टोल खैराङका रञ्जित नेगी, सीता रुम्बा, राक्सिराङ गापा १ चिरघारी भन्ज्याङका राजकुमार मुक्तान, कैलाश गापा ३ का शिवलाल ओझा र चन्द्रकुमारी चेपाङको घरको जस्ताको छाना हावाहुरीले उडाई क्षतिभएको छ ।
पानीसहित आएको हावाहुरीले क्षति भएको स्थानमा प्रहरी टोली खटिगएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com